Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षकको सञ्चित विदा ५ सय ७८ दिन ! धेरै भुक्तान भएको रकम असुल

सोमबार, ०९ फागुन २०७३

काठमाडौं - निवृत्त हुने बेलामा विदाको झूठा विवरण पेश गरी धेरै रकम बुझ्ने शिक्षक फेला परेका छन् । रुपन्देही र डोल्पाका दुई जना शिक्षकले दावि गरेको ५ सय ७८ दिनको विदा झूठो भएको भन्दै धेरै भुक्तान भएको विदाको रकम असुल गरिएको छ ।

हुँदै नभएको विदा दावि गर्दै विवरण पेश गरेका मध्ये रुपन्देही तेनुवा – ४ का शिक्षक जैस मोहम्मदबाट मात्रै २ लाख ३७ हजार ९ सय १७ रुपैंया असुल गरिएको छ । डोल्पाका शिक्षक स्व. भुवनमान श्रेष्ठको भने पेन्सन पट्टा बनाउने बेलामा मात्रै झूठो विवरण पत्ता लागेको विद्यालय शिक्षक किताबखानाले जनाएको छ ।

रुपन्देहीको भोगलहा प्राविमा २०३१ साल चैत १८ गते सुरु स्थायी नियुक्ति पाएका निमावि द्धितीय श्रेणीका शिक्षक मोहम्मद शिक्षक भएको ३७ बर्ष ११ महिना २१ दिन पछि २०७१ चैत ९ गते उमेर हदका कारण अवकास भएका थिए । २०७२ जेठ १० गते २०१७६११ नम्बरको पेन्सन पट्टा प्राप्त गरेका उनले ३ सय दिन विदा ढाँटेर पेन्सन बुझेको पत्ता लागेको थियो ।

पेन्सन बुझ्न थालेको एक बर्ष पछि मोहम्मदले पेश गरेको विवरण झुठा भएको दावि गर्दै जिशिकाले २०७३ असार १ गते विद्यालय शिक्षक किताबखानालाई पत्राचार गरेको थियो । जिशिकाले दावि गरेपछि किताबखानाले निवृत्तिभरण ब्यवस्थापन कार्यालयलाई पत्राचार गरेर पेन्सन रोक्का गर्न आग्रह गरेपछि कार्यालयले राष्ट्रिय बाणिज्य बैंक भैरहवालाई पेन्सन रोक्का गर्न पत्राचार गरेसँगै उनको पेन्सन रोकेर अनुसन्धान शुरु भएको थियो । किताबखानाको अनुसन्धानले उनले झूठा विवरण पेश गरेर रकम बुझेको पत्ता लगाएपछि उक्त धेरै रकम असुल गरिएको महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए । गत फागुन १ गते उनले कृषि विकास बैंक भैरहवामा राजश्व बेरुजु खातामा उक्त रकम दाखिला गरेपछि जिशिकाले किताबखाना र अख्तियारलाई जानकारी गराएको उनले बताए ।

यो घटना एक जना जिशिअ मात्रै सकृय हुँदा राज्यको ढुकुटी संरक्षणमा योगदान पुग्दो रहेछ भन्ने कुराको उदाहरण भएको भन्दै ढुङ्गानाले रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको प्रसंशा गरे ।
यो घटनालाई प्रतिनिधि घटना मान्दै उनले यस्ता घटना नियन्त्रण गर्न शिक्षा मन्त्रालय र मातहतका निकाय थप सकृय बन्न आवश्यक रहेको बताए । 'यो फाईल म शिक्षा मन्त्रालयमा बुझाउँदै छु, राज्यलाई ठग्न साथ दिने राज्यकै कर्मचारी र निकायहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा मन्त्रालयले उपयुक्त निर्णय लिने अपेक्षा गरेको छु' ढुङ्गानाले भने ।

यस्तै डोल्पाका शिक्षक स्व. श्रेष्ठको पेन्सन पट्टा बनाउने प्रकृया शुरु गर्दा हुँदै नभएको झण्डै १० महिनाको विदा रकम दावि गरेको फेला परेको छ । सगरमाथा प्रावि ताराकोट डोल्पाका प्रावि तृतीय श्रेणीका शिक्षक श्रेष्ठको २ सय ७८ दिनको विदा झुठा भएको फेला परेको हो । २३ बर्ष २ महिना ७ दिन सेवा गरेर २०७३ असार २२ गते निधन भएका श्रेष्ठको विदा रकम गलत भएको किताबखानाले पत्ता लगाएको ढुङ्गानाले बताए ।

'श्रेष्ठ २०७२ कात्तिक १ गते सम्म हाजिर भएको र त्यस मितिमा विदा सञ्चिति शुन्य रहेको फेला पर्यो', ढुङ्गानाले भने, 'मानवीय पक्ष हेर्ने हो भने त श्रेष्ठकी विधवालाई हेरेर बनाईदिएको भए पनि हुन्थ्यो, तर कानून नमान्ने हो भने अराजकता हुन्छ भन्ने लाग्यो, देशको सेवा गर्ने भनेको आआफ्नै ठाउँबाट त हो नी, त्यसैले मैले कानून मान्ने निर्णय गरेँ ।'

हुदै नभएको विदाको रकम दिएर राज्य कोषमा भार थप्न मन नलागेको उनले बताए ।

निवृत्त हुँदाका बखत धेरै रकम बुझेको थाह पाएर रकम फिर्ता गर्ने शिक्षक पनि फेला पर्ने गरेका छन् । तनुहँका शिक्षक रामनाथ काफ्ले धेरै पटक धाएर रकम फिर्ता गर्ने एक शिक्षक हुन् ।

पढ्नुहोस् : काफ्ले सरलाई तनाव दिएको त्यो १७०६७ रुपैंया

प्रतिक्रिया