Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

त्रिविको वार्डेन, रेक्टर हुँदै राजदूत

सोमबार, ०९ फागुन २०७३

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा. महेन्द्र सिंह साउदी अरेवियाका लागि नेपाली राजदूत सिफारिस भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को दोश्रो बैठकले सिंह सहित विभिन्न १४ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । सत्तारुढ दलहरुको भागवण्डाका आधारमा मन्त्रीपरिषद् बैठकले राजदूतहरुको नाम सिफारिस गरेको हो ।   

२००५ सालमा धनुषाको हसपुरकठपुल्ला गाविसमा जन्मेका सिंह २०२७ सालमा त्रिविसेवा प्रवेश गरेका हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका सिंहले त्रिविको सेवा जनकपुरबाट प्रारम्भ गरेका थिए । त्रिविको किर्तिपुर क्याम्पसमा वार्डेनदेखि उनी कालान्तरमा रेक्टर सम्म भए । २०५९ देखि २०६३ सम्म रेक्टर भएका सिंह त्रिविमा द्धन्द्ध ब्यवस्थापन विषय भित्र्याउने मध्येका एक मुख्य अगुवा हुन् । नर्वेसँग पटक पटक छलफल गरेर श्रोत साधनको जोगाड गर्नमा उनको भूमिका उल्लेख्य मानिन्छ । दक्षिण एसियामै पहिलो पटक स्नातकोत्तर तहमा ग्रामिण विकासको पठन पाठन गर्ने कार्यमा पनि उनको उल्लेख्य भूमिका रह्यो । उनी ग्रामिण विकासका संस्थापक केन्द्रिय विभागीय प्रमुख पनि हुन् ।

विभिन्न शैक्षिक अध्ययन अनुसन्धानमा सकृय सिंह ४ बर्ष विश्वविद्यालय अनुदान आयोगका सदस्य समेत भए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा अनुसन्धाताका रुपमा समेत उनी संलग्न थिए । पछिल्लो पटक राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष छनौट गर्ने शिक्षा मन्त्रालयले गठन गरेको सर्च कमिटिमा उनी सदस्य छन् ।

राजदूत सिफारिस भएसँगै एडुखबरसँग कुरा गर्दै सिंहले राज्यले दिने हरेक जिम्मेवारी देश हितलाई केन्द्रमा राखेर सम्पन्न गर्ने बताए ।

'म त शैक्षिक अध्ययन अनुसन्धानमा सकृय ब्यक्ति हुँ अव राजदूतमा सिफारिस भएको छु आफ्नो क्षमता त्यहाँ पनि देखाउने छु' उनले भने 'भर्खरै सिफारिस भएको छ, अब त्यहाँको बारेमा अध्ययन गर्छु, दुई देश विचको सहकार्यबाट नेपालको सार्वजनिक शिक्षा विकासमा कुनै काम गर्न सकिन्छ की त्यो पनि मेरो प्राथमिकतामा पर्छ ।'

मन्त्रीपरिषदको दोस्रो बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, यमनका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय पनि गरेको छ । स्पेनमा पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

यसैविच सोमबारै बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको छ । मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो । बैठकले मंगलबारबाट सुरु हुने संसदबाट संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।

यसैविच सरकारले पाँच सचिवको सरुवा समेत गरेको छ । रामानन्द प्रसाद यादव सिचाइ, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् । यस्तै मन्त्रीपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।

अपडेट:

सोमबार बेलुका तेश्रो पटक बसेको मन्त्रिपरिषद् बैठकले २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । बैठक बस्नु अघि सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विहान प्याब्सनको अधिबेशनमा बोल्दै बेलुका सम्म निर्वाचन मिति घोषणा गर्ने बताएका थिए । संविधान संशोधन र निर्वाचनको प्रकृया सागै जाने उनको भनाई थियो । सोही अनुसार बैठकले मिति घोषणा गरेको हो ।

लामो समय सम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा राज्यको सेवा प्रवाह तल्लो तह सम्म पुग्न सकेको छैन । मिति घोषणा संगै संविधान कार्यान्वयनको बाटो समेत खुलेको छ ।

प्रतिक्रिया