Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को परीक्षाकै बेला चुनाव, परीक्षा अन्यौलमा

मंगलबार, १० फागुन २०७३

भक्तपुर - सरकारले स्थानीय निर्वाचन घोषणा गरेसँगै संविधान कार्यान्वयनको गाँठो फुके पनि कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई भने अन्यौल बनाएको छ । सोमबार मन्त्रीपरिषद् बैठकले २०७४ बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै त्यही बेलामा जारी रहने कक्षा ११ को परीक्षा के हुने हो ? भन्ने अन्यौल बढेको हो ।

सरकारले निर्वाचन घोषणा गरेपनि राष्ट्रिय परीक्षा बोर्डले मंगलबारसम्म यसबारेमा कुनै औपचारिक निर्णय गरेको छैन जसले गर्दा विद्यार्थी झन् अन्यौलमा परेका छन् ।  

बोर्डले यस अघिनै बैशाख २४ गते देखि जेठ ३ गते सम्म कक्षा ११ को परीक्षा गर्ने मिति तय गरिसकेको छ । परीक्षाकै बिचमा निर्वाचन पर्ने भएपछि उक्त परीक्षाको तालिका फेरबदल हुने पक्का जस्तै रहेको बोर्ड श्रोत बताउँछ ।

'गाउँघरमा सुरक्षित र खुल्ला ठाउँ भनेको विद्यालय नै हो, त्यसैले चुनाव हुने भनेको विद्यालयहरुमै हो, विद्यालयमा चुनावको तयारी चलिरहँदा परीक्षा हुन असंभव छ' उक्त श्रोतले भन्यो ।

बोर्डका सदस्य सचिव डा. डील्लीराम रिमालले आफू उपत्यका बाहिर रहेकोले कार्यालय फर्केर यसबारेमा निर्णय गर्ने बताए ।

'हिजो भर्खर चुनाव घोषणा भएको छ, हामी आआफ्नो दैनिक काममै छौं, म पनि अहिले तनहुँमा छु' एडुखबरसँग उनले भने, 'अव भरे भोली नै परीक्षा समितिको बैठक बसेर के गर्ने भन्ने तय गछौं ।'

दुई चार दिन तलमाथि हुने भएपनि यसले कुनै असर नगर्ने बताउँदै परीक्षा नियन्त्रक सन्तोष अर्यालले विद्यार्थी, अभिभावक र शिक्षकलाई अन्यौलमा नबसी आफ्नो नियमित पठन पाठनमा ध्यान दिन आग्रह गरेका छन् ।

कक्षा १२ को परीक्षा भने निर्वाचन अघि अर्थात् बैशाख २२ गते नै सकिन्छ । कक्षा १२ को परीक्षा बैशाख १० गतेबाट शुरु गर्ने गरी बोर्डले यस अघिनै तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया