Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

चुनावका बेला एक साता पठनपाठन स्थगन, शिक्षकको बिवरण माग

बुधबार, ११ फागुन २०७३

काठमाडौं - स्थानीय तहको निर्वाचनका बेला एक साता सम्म सम्पूर्ण शैक्षिक संस्था बन्द हुने भएका छन् । पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ । निर्वाचन तयारीका सन्दर्भमा सरकारलाई १९ बुँदे निर्देशन दिदैं आयोगले आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा शैक्षिक कृयाकलाप नगर्न पनि निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण एक साता भित्र उपलब्ध गराउन समेत आयोगले निर्देशन दिएको छ ।

'नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण यो निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउने' आयोगको निर्देशनमा उल्लेख छ ।

निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र पनि राखिएकाले सबै विद्यालयमा शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको हो । निर्वाचनमा शिक्षक परिचालन गर्न उसले विवरण मागेको हो

साथै विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सो को तुरून्त निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ । ।

निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राख्न पनि आयोगले निर्देशन दिएको छ । 

'निर्वाचन सम्बन्धी मुद्रण कार्यमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ सम्बन्धी कार्य गर्ने' आयोगको निर्देशनमा भनिएको छ, 'मतपत्र छपाइ लगायतका काम गर्न आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने हुँदा सो केन्द्रको छापाखानाको मर्मत सम्भार गर्नुपर्ने भए शीघ्रातीशीघ्र मर्मत समेत गरी चालु अवस्थामा राख्ने ।'

निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतको कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानहरूले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्न पनि आयोगले भनेको छ ।

आयोगले दिएका अन्य निर्देशन यस प्रकार छन् :

- आयोगबाट जारी भएको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिने । साथै, आचार संहिता कार्यान्वयनका सम्बन्धमा आवश्यक सहयोग र्पुयाउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने ।

- निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्था गर्ने ।

- नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउने ।

- निर्वाचन आयोग र अन्तर्गत सबै कार्यालय र निर्वाचन सामाग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्र्मी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने ।

- निर्वाचनको सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षक लगायत अन्य कर्मचारीको आवागमन तथा मतपत्र लगायत निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने ।

- निर्वाचन अधिकृतको कार्यालयको लागि आवश्यक पर्ने घर, फर्निचर, कम्प्यूटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएको अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराइदिने ।

- निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरेको बखत हवाई टिकट सुरक्षित राखि दिने र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाईजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने ।

- निर्वाचनसँग सम्बन्धित सबै कार्यमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने ।

- स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार,दल,मतदाताहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।

- निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा बिजुली, धारा, डाँक तथा टेलिफोन सेवा निर्वाध रूपले उपलब्ध गराउने ।

- निर्वाचनको सन्दर्भमा नेपाल सरकारका जुनसुकै तहको कर्मचारी र सुरक्षा निकायका पदाधिकारीलाई जिम्मेवारी तोक्न सकिने हुँदा यसरी तोकिएको कर्मचारीको जिम्मेवारी पूरा गर्ने दायित्व निज कर्मचारी वा सुरक्षाकर्मीको हुने ।

- सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति आदिले निर्वाचन अयोगको निर्देशन अनुरूप निर्वाचन सम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्ने ।

- नेपाल सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट र जनशक्ति प्राथमिकताकासाथ उपलब्ध गराउने ।

-  निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।

- निर्वाचन आयोगबाट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि खरिद गरिएका निर्वाचन सामग्रीहरू तोकिएको मितिमा आयोगमा प्राप्त हुने सुनिश्चितता नेपाल सरकारले मिलाउने ।

यसैविच उम्मेद्वारी दर्ता बैशाख १६ गते गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

सरकारले २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनका कारण कक्षा ११ को परीक्षा के हुने भन्ने अन्यौल छ ।

पढ्नुहोस् : कक्षा ११ को परीक्षाकै बेला चुनाव, परीक्षा अन्यौलमा

अन्यौलमा कक्षा ११ को परीक्षा : यसो गर्न सकिँदैन र !

प्रतिक्रिया