Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

‘झोले’ विद्यालय किनबेच बढ्यो

शुक्रबार, १३ फागुन २०७३

काठमाडौं १३ फागुन/ विद्यालय सञ्चालन अनुमति प्राप्त गरेका तर लामो समयदेखि सञ्चालनमा नरहेका ललितपुरका ‘झोले’ विद्यालयहरूको किनबेच बढेको छ । जिल्ला शिक्षा कार्यालय ललितपुरले पहिचान भइसकेका झोले विद्यालय बन्द गर्न नसक्दा किनबेच हुने गरेको हो । शिक्षा विभागले २०७३ वैशाख मसान्तभित्र झोले विद्यालयहरू बन्द गराउन कार्यालयमा पत्र पनि पठाइसकेको छ । तर कार्यालयले आलटाल गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पछिल्लो समय चापागाउँमा लामो समयदेखि बन्द रहेको नवोदित स्कुल किनबेच भएर बाँडे गाउँमा गोदावरी आवासीय रेसिडेन्सियलका नाममा सञ्चालनमा आएको छ । इमाडोलमा लामो समयदेखि सञ्चालनमा नआएको अमरवाटिका पनि किनबेच भई गोदामचौरमा सञ्चालित छ । जिल्ला शिक्षा कार्यालयले झोले विद्यालय बन्द गर्न प्रक्रिया अगाडि नबढाउँदा कतिपय विद्यालय किनबेचको तयारी अवस्थामा रहेको स्रोतको भनाइ छ । हाल जिल्लामा अनुमति प्राप्त तर नचलेका झोले स्कुल ढोलाहिटीस्थित ज्योति एकेडेमी, सीपीएस गोदावरी, सन्नीसाइड स्कुल हरिसिद्धि, बृज वाटर, फूलचोकी साधारण मावि, ग्रेट हेभन स्कुल, केयर टफ स्कुल, क्रेसन्ट मावि सौगाल छन् ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षा कार्यालयले किनबेच गर्ने उद्देश्यले नै झोले विद्यालय दर्ता खारेज नगरी ‘होल्ड’ गरेको आरोप लगाए । ‘बेच्न चाहेका तर ग्राहक नपाएर बसेका पनि धेरै छन्,’ उनले भने, ‘विद्यार्थी शून्य हुँदासमेत दर्ता खारेज गर्न नचाहने सञ्चालकलाई शिक्षा कार्यालयले कारबाही गर्न नसक्दा पनि समस्या हुने गरेको छ ।’ उनले शिक्षा मन्त्रालयले नै कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले १९ वटा विद्यालयको दर्ता खारेजी तयारी भइरहेको बताए । ‘२६ वटाको पत्रिकामा नाम प्रकाशन गरिसकेका छौं,’ उनले भने, ‘छुटेका विद्यालयको नाम पुन: प्रकाशित गरिनेछ ।’ उनले बुधबार गोदावरी क्षेत्रमा निरीक्षण गरेको बताउँदै भने, ‘कार्यालयमा नियमित रेकर्ड नबुझाउने, निम्नमाध्यमिक तह वा प्रवेशिका परीक्षामा सहभागी नहुने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाएका छौं ।’ हाल जिल्लामा सामुदायिक र निजी गरी ४ सय ७५ वटा विद्यालय छन्, जसमध्ये २ सय ६६ निजी छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया