Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

स्ववियु चुनावले ताते क्याम्पस

शुक्रबार, १३ फागुन २०७३

काठमाडौं १३ फागुन/त्रिभुवन विश्वविद्यालयमा १८ फागुनमा हुने स्ववियु चुनावको मतदानको समय नजिकिएसँगै राजधानीका क्याम्पसको माहोल तातेको छ । विद्यार्थी संगठनहरूले केही क्याम्पसमा उत्साहका साथ विभिन्न कार्यक्रम गरेर स्ववियुको चुनावी माहोल बनाएका छन् । केही क्याम्पसमा झडप तथा तालामाथि ताला थपेर स्ववियु नियमावलीको विरोधमा प्रदर्शनसमेत भएका छन् । अहिले उपत्यकाका अधिकांश आंगिक क्याम्पसमा मतदाता सूची प्रकाशित भएको छ । केही क्याम्पसले १४ फागुनमा मतदान हुने गरी त्रिविले ल्याएको स्ववियु चुनावको कार्यतालिकाअनुसार नै मतदाता सूची प्रकाशित गरेका थिए भने केहीले पछिल्लो कार्यतालिकाअनुसार गरेका छन् ।

अनेरास्ववियु र नेविसंघबीच झडप


रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच बिहीबार झडप भएको छ । क्याम्पसमा नेविसंघले नाराबाजी गरिरहेका वेला अनेरास्ववियुका कार्यकर्ताले नेविसंघका कार्यकर्तालाई धकेलेपछि विवाद भएको नेविसंघका केन्द्रीय सदस्य शैलेन्द्र शर्माले बताए ।

विवाद भएपछि आरआर क्याम्पसका नेविसंघका सभापतिका सम्भावित उम्मेदवार उत्तम साउदमाथि हातपात भएको विद्यार्थी सुमन बुढामगरले बताए । मगरका अनुसार साउदमाथि पूर्व स्ववियु सभापति राजकुमार राईले हातपात गरेका हुन् ।

तर, अनेरास्ववियुले भने नेविसंघका विद्यार्थीमाथि आफूहरूले हातपात नगरेको दावी गरेका छन् । अखिलका स्ववियु सभापतिका उम्मेदवार तपेन्द्रबहादुर शाहीले नेविसंघले नाराबाजी गरिरहँदा विवाद मात्र भएको बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर जाँदा नेविसंघका कार्यकर्ताले नाराबाजी गरेपछि विवाद भएको थियो ।

जहाँ तालाबन्दीले नामावली प्रकाशन भएन
त्रिचन्द्र क्याम्पसमा बुधबार लगाइएको ताला अझैसम्म खुल्न सकेको छैन । बिए तेस्रो वर्ष, बिएस्सी चौथो वर्ष र मास्टर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सैद्धान्तिक परीक्षा दिएपछि स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने विषयको विरोधमा ताला लगाएका हुन् । जसले गर्दा स्ववियु निर्वाचनको नियमित कार्यतालिकाअनुसार कार्यक्रम अघि बढ्न सकेकोे छैन ।

त्यस्तै, मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा पनि मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)ले ताला लगाएको छ । मतदाताको विषयमा विवाद उत्पन्न भएपछि त्यहाँ ताला लगाइएको हो । जहाँ प्रथम वर्षमा परीक्षा फर्म भरेका, तर दोस्रो वर्षमा भर्ना नभएका विद्यार्थीले मतदान गर्न पाउने सहमति अरू विद्यार्थी संगठनले गरे पनि मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)का विद्यार्थीले त्यसमा असहमति जनाउँदै ताला लगाएको हो । जसले गर्दा समयमै नामावली प्रकाशन गर्न नसकिएको उक्त क्याम्पसका निर्वाचन आयुक्त प्रा.डा. सुशीलभक्त माथेमाले बताए ।

अमृत साइन्स क्याम्पसमा पनि मतदाता नामावली प्रकाशित हुन सकेको छैन । क्याम्पसमै अध्ययनरत विद्यार्थीहरू भर्ना हुनबाट वञ्चित भएको भन्दै विवाद गर्दा निर्वाचनका कुनै पनि प्रक्रिया अगाडि नबढेको क्याम्पसकी गीता श्रेष्ठले बताइन् । विवादका कारण मतदाता नामावली प्रकाशन तथा संगठन दर्ता कार्य अवरोध भएको क्याम्पसले जनाएको छ ।

पशुपतिमा ११–१२ पढ्नेलाई मतदाता बनाउन माग
चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसले पहिलो चरणको मतदाता नामावली बिहीबार प्रकाशित गरेको छ । सो क्याम्पसले ४ हजार १ सय ७३ मतदाताको नामावली प्रकाशित गरेको छ । जुन संख्या दाबीविरोधपछि थपघट हुनसक्ने निर्वाचन आयुक्त विनोद पन्तले बताए ।

नामावली प्रकाशित भएसँगै असन्तुष्ट पाँच विद्यार्थी संगठनले बिहीबार साँझ तालाबन्दी गरेका छन् । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले पनि मतदान गर्न पाउनुपर्नेलगायतका माग उनीहरूको छ । तर, ११ र १२ लाई विद्यालय तहमा रूपान्तरण गरिएकाले उक्त माग सम्बोधन गर्न नसकिने पन्तले बताए ।

 नेविसंघ र क्रान्तिकारीले संहिता उल्लंघन गरेको आरोप
सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका भ्रातृसंगठन नेविसंघ र अखिल क्रान्तिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आचारसंहिताविपरीत नेविसंघले बिहीबार शंकरदेव क्याम्पसमा खुला रूपमा कार्यक्रम गरेको छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महत, नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरसहितका अतिथि उपस्थित थिए ।

त्यस्तै नेपाल कमर्स क्याम्पसमा मीनभवनमा अखिल क्रान्तिकारीले पनि बिहीबार  आचारसंहिताको उल्लंघन गर्दै स्ववियु चुनावको प्रसारप्रसार झल्कने गरी कार्यक्रम गरेको छ । सो कार्यक्रममा पार्टीका केन्द्रीय नेता र विद्यार्थी संगठनका नेताहरू उपस्थित थिए ।

गत १३ माघदेखि लागू भएको अचारसंहिताअनुसार विद्यार्थी संगठनले खुला रूपमा कार्यक्रम गर्न पाउँदैनन् । त्रिवि स्ववियु निर्वाचन तथा समन्वय समितिका सदस्यसचिव गंगाबहादुर थापाले निर्वाचनको कार्यक्रम सुरु भइसकेपछि कसैले पनि सार्वजनिक रूपमा कार्यक्रम गर्न नमिल्ने बताए ।

उमेरहदमा सर्वोच्चले दिएन अन्तरिम आदेश
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि २८ वर्षको उमेरहदका विषयमा हालेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेको छ । उमेरहदका कारण २८ वर्षभन्दा माथिका विद्यार्थीले स्ववियु चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएपछि अन्तरिम आदेश माग गर्दै रिट दायर गरिएको थियो ।

कति छन् संघ–संगठन
-नेपाल विद्यार्थी संघ
-अनेरास्ववियु
-अखिल (क्रान्तिकारी), प्रचण्ड
-अखिल (क्रान्तिकारी), वैद्य
-अखिल (क्रान्तिकारी), विप्लव
-नयाँ शक्ति विद्यार्थी युनियन
-मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)
-नेपाल मगर विद्यार्थी संघ
-राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल
-नेपाल क्रान्तिकारी विद्यार्थी संघ
-नेपाल विद्यार्थी परिवार
-किराँत राई विद्यार्थी संघ
-नेपाल क्रान्तिकारी विद्यार्थी संघ
-धादिङ–पाटन विद्यार्थी मञ्च
-रिडर्स क्लब
-नेपाल विद्यार्थी संगठन
-प्रगतिशील विद्यार्थी समाज
-अनेरास्ववियु छैटौँ
-अनेरास्ववियु समाजवादी
-समाजवादी विद्यार्थी
-मंगोल विद्यार्थी संगठन
-आदिवासी जनजाति विद्यार्थी समाज
-स्वतन्त्र विद्यार्थी

कुन क्याम्पसमा कति मतदाता ?


सबैभन्दा बढी शंकरदेवमा कम ललितकलामा त्रिविका आंगिक क्याम्पसमध्ये सबैभन्दा बढी शंकरदेव क्याम्पसमा मतदाता रहेका छन् । शंकरदेव क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । क्याम्पस निर्वाचन समितिले ८ हजार २ सय ७ जनाको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । सबैभन्दा कम मतदाता ललितकला क्याम्पसमा एक सय ४५ रहेका छन् ।

महेन्द्ररत्न क्याम्पस, ताहचल
महेन्द्ररत्न क्याम्पस ताहचलमा कुल दुई हजार ९५ मतदाता रहेका छन् । सो क्याम्पसमा कुल १३ वटा संगठन दर्ता भएका छन् । क्याम्पस प्रमुख गोविन्द कटवालका अनुसार भर्ना नभएका कारण धेरै विद्यार्थी मतदाता सूचीमा नरहेको बताए । झन्डै पा“च हजार विद्यार्थी रहे पनि भर्ना हुन नपाएर धेरैको मतदाता सूचीमा नपरेको बताए ।

नर्सिङ क्याम्पस, महाराजगन्ज
नर्सिङ क्याम्पसमा कुल दुई सय ८१ मतदाता रहेका छन् । सो क्याम्पसमा ५ वटा संगठन दर्ता भएका छन् ।

त्रिवि चिकित्सा क्याम्पस, महाराजगन्ज
त्रिवि चिकित्सा क्याम्पस महाराजगन्जमा एक हजार दुई सय ३५ मतदाता रहेका छन् । सो क्याम्पसमा चारवटा संगठन दर्ता भएका छन् । आइओएम स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा विदेशी विद्यार्थीले पनि मतदान गर्न पाउने भएका छन् । मतदान गर्ने विद्यार्थीमा भारतका सय, माल्दिभ्सका  १५ जना र श्रीलंकाका ५ जना रहेका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि मतदाता सूची प्रकाशित भइसकेको छ । सो क्याम्पसमा दुई हजार ८३ मतदाता रहेका छन् भने ५ वटा संगठन दर्ता भएका छन् ।

ललितकला क्याम्पस
ललितकला क्याम्पसमा पनि मतदाता सूची प्रकाशित भएको छ । सो क्याम्पसमा जम्मा एक सय ४५ जना मात्र मतदाता रहेका छन् । सो क्याम्पसमा जम्मा तीनवटा संगठनले मात्र उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियु, नेविसंघ र नेक्राविसंघले संगठन दर्ता गरेका छन् ।

भक्तपुर बहुमुखी क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पसमा कुल एक हजार ६ सय ५६ मतदाताको नामावली सार्वजनिक भएको छ । साथै उक्त क्याम्पसमा ८ वटा संगठन दर्ता भएका छन् ।

सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर
भक्तपुरस्थित सानोठिमी क्याम्पसमा १ हजार ६ सय ४७ विद्यार्थीको नामावली सार्वजनिक भएको छ । साथै उक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि ७ वटा संगठन प्रतिस्पर्धामा उत्रेका छन् ।

पाटन संयुक्त क्याम्पस
पाटन संयुक्त क्याम्पस ललितपुरले ४ हजार ७ सय ५८ मतदाताको नामावली सार्वजनिक गरेको छ । सो क्याम्पसमा १६ वटा संगठन दर्ता भएका छन् ।

थापाथली इन्जिनियरिङ क्याम्पस
थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि मतदाता नामावली सूची प्रकाशित भएको छ । सो क्याम्पसमा १ हजार ९५ मतदाता रहेका छन् भने ७ वटा संगठन दर्ता भएका छन् । सो क्याम्पसको निर्वाचन कमिटीका सदस्य सचिव विक्रम उप्रेतीका अनुसार अघिल्लो स्ववियु निर्वाचनमा भन्दा यसपालिको चुनावमा मतदाता संख्या बढेको बताए ।

विश्वभाषा क्याम्पस
विश्वभाषा क्याम्पसमा बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । क्याम्पस निर्वाचन समितिका अनुसार क्याम्पसमा कुल १ हजार ८ सयको हाराहारीमा मतदाता संख्या रहेका छन् । जसमा १ सय ५८ जना विदेशी विद्यार्थी पनि रहेको निर्वाचन प्रमुख कृष्ण पौडेलले बताए । पौडेलका अनुसार सो क्याम्पसमा विभिन्न ८ वटा संघसंगठन दर्ता भएका छन् ।

रत्नराज्यलक्ष्मी क्याम्पस
रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । सबै संगठनहरूको सहमतिपछि बिहीबार ३ हजार पाँच सय ८१ जनाको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । क्याम्पस निर्वाचन कार्यालयका विनोद मञ्जनका अनुसार चुनावका लागि रत्नराज्यलक्ष्मीमा विभिन्न १३ वटा संगठन दर्ता भएका छन् ।

शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । क्याम्पस निर्वाचन समितिले ८ हजार २ सय ७ जनाको अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । निर्वाचन समितिका प्रमुख शिलु बज्राचार्यका अनुसार सो क्याम्पसमा विभिन्न  ८ वटा संगठन दर्ता भएका छन् ।

पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसले तीन हजार ४ सय ३४ जनाको मतदाता नामावलीको सूची प्रकाशन गरेको छ । बिहीबार क्याम्पस निर्वाचन समितिले अन्तिम मतदाताको नामावलीका रूपमा सो सूची प्रकाशित गरेको क्याम्पसका दिलीप मादेनले बताए । क्याम्पस निर्वाचन समितिका अनुसार सो क्याम्पसमा १० वटा संगठनहरू दर्ता भएका छन् ।

सरस्वती बहुमुखी क्याम्पस
सरस्वती क्याम्पसमा ५ सय ३० जना मतदाता रहेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख रामहरि लम्सालका अनुसार सो क्याम्पसमा ५ वटा संगठन दर्ता भएका छन् ।

पब्लिक युथ क्याम्पस
पब्लिक युथ क्याम्पसले आफ्नो अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगका प्रमुख राजुभाइ मानन्धरका अनुसार क्याम्पसमा कुल २ हजार ८ सय ९५ जना मतदाता रहेका छन् । निर्वाचनका लागि क्याम्पसमा स्वतन्त्रसहित १० संगठन दर्ता भएका छन् ।

नेपाल ल क्याम्पस
क्याम्पसका सदस्यसचिव रवीन्द्रलाल वसीका अनुसार सो क्याम्पसमा ४ हजार ४ सय मतदाताको संख्या रहेको छ । सात संगठनहरूले ३४५ को उपनियम ३ को संशोधनको माग गर्दै गरेको तालाबन्दीका कारण निर्वाचनको अरू प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया