Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षकको गुनासो सुनेपछि जिशिअ भन्छन् विनिहरु 'लोपोन्मुख काँडेभ्याकुर'

शुक्रबार, १३ फागुन २०७३

ललितपुर - ‘तपाईँहरु मध्ये बहालवाला विनि पुगेको विद्यालयका प्रधानाध्यापक को को हुनुहुन्छ, हात उठाउनुस् त !’ जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले प्रधानाध्यापकहरुलाई भने ।

केहीबेरपछि अलि गाह्रो मान्दै एकजना प्रधानाध्यापकले हात उठाए । आधारभूत देखि माध्यमिक (१२ कक्षासम्म) बाइस वटा विद्यालय रहेको उत्तरी ललितपुरको भट्टेडाँडा स्रोतकेन्द्रका अरु एक्काइस प्रधानाध्यापकले भने यसअघि नै विद्यालय नीरिक्षक नपुगेको भनेर हात उठाइसकेका थिए ।

स्रोतकेन्द्रले वार्षिक रुपमा गर्दै आइरहेको शैक्षिक बहसको छैठौं शृंखलामा प्रमुख अतिथिको रुपमा पुगेका जिल्ला शिक्षा अधिकारीलाई सहभागी शिक्षकहरुले विनिको दर्शन पाउनै गाह्रो भएको गुनासो गरेका थिए । जवाफमा जिशिअ पुरीले धेरै विनिहरु विद्यालयका लागि लोपोन्मुख काँडेभ्याकुर जस्तै भएको भन्दै विनिको कामकारबाही प्रभावकारी बनाउन प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण हुने बताए । तर कनिबहालमा बसेर दक्षिणी ललितपुरको गाउँगाउँका स्कुलको व्यवस्थापन समिति गठन गर्न भ्याइसकेका त्यस्ता कर्मचारीलाई के कारबाही गर्ने भन्ने सन्दर्भमा भने पुरीले केही पनि बताएनन् ।

कार्यक्रममा सहभागी शिक्षक तथा कर्मचारीहरुले ललितपुर जिशिकाले हालै निर्णय गरेको दरबन्दी मिलानको प्रक्रिया, शिक्षक सरुवाका मापदण्ड, भूकम्पपछिको विद्यालयको भौतिक निर्माण कार्यको अवस्था लगायतका विषयमा समेत जानकारी मागेका थिए ।

सोही अवसरमा स्रोतकेन्द्र अन्तर्गत उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने शिक्षक तथा बालविकास सहजकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो । बीस वर्षभन्दा बढी शिक्षण पेसामा बिताएका शिक्षकहरुलाई कदरपत्र पनि प्रदान गरिएको थियो ।

भट्टेडाँडा स्रोतकेन्द्र अन्तर्गतका विद्यालयका शिक्षक कर्मचारीले प्रत्येक वर्ष फागुन १२ गते यस प्रकारको कार्यक्रम गर्दै आइरहेको स्रोतव्यक्ति काजीमान प्रधानले बताए । पिकनिकको विकल्पका रुपमा २०६८ सालदेखि यहाँका विद्यालयहरुले पालैपालो शिक्षक कर्मचारीहरुबाटै रकम उठाएर गर्दै आइरहेको कार्यक्रम यसपटक भट्टेडाँडा आधारभूत विद्यालयमा भएको हो । यसप्रकारका कार्यक्रमबाट शिक्षकहरुको पेसागत विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने भन्दै जिशिअ पुरीले कोषको अवधारणामा अघि बढ्न सल्लाह दिए । पुरीले कोषको सुरुवात गर्नका लागि सोही कार्यक्रममा स्रोतव्यक्ति प्रधानलाई दुई हजार रुपियाँ समेत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया