Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

अन्योलमा स्ववियु चुनाव

आइतबार, १५ फागुन २०७३

काठमाडौं १५ फागुन/स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक ६० क्याम्पसमध्ये २१ वटामा मात्रै शनिबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । ३९ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीले मनोनयन दर्ता हुन सकेन । त्रिविका रेक्टर सुधा त्रिपाठीका अनुसार काठमाडौं उपत्यकामा सानोठिमी भक्तपुर, महाराजगन्ज (नर्सिङ र चिकित्सा), ललितकला, आयुर्वेद, जनप्रशासन क्याम्पसमा मनोनयन दर्ता भएको छ । प्रदर्शनी मार्गमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले मात्रै दर्ता गरेका छन् । आरआर क्याम्पसमा मनोनयन दर्ता गराउने क्रममा झडप र आगजनी भएको थियो । उक्त क्याम्पसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेक्राविसंघ लगायतले मनोनयन दर्ता गराएका छन् ।

स्ववियु चुनावमा ३९ क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि निर्वाचन हुनेमा अन्योल बढेको छ । पोखराको पीएन, नर्सिङ, वन, इन्जिनियरिङ क्याम्पसमा मनोनयन दर्ता भएको छ । धरानको इन्जिनियरिङ, महेन्द्र, वीरेन्द्र क्याम्पस चितवन, मेची क्याम्पस, तेह्रथुम, भोजपुर, बुटवल, सुर्खेत र डोटी क्याम्पसमा मनोनयन दर्ता भएको रेक्टर त्रिपाठीले बताइन् ।
 नेविसंघका विद्यार्थीले विभिन्न क्याम्पसमा तालाबन्दी गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट अखिल (क्रान्तिकारी) ले समेत स्ववियु चुनावमा भाग लिने घोषणा गरेको अवस्थामा प्रमुख राजनीतिक दलनिकट विद्यार्थी संगठनले भने घोषित/अघोषित रूपमा क्याम्पसहरूमा तालाबन्दी गरेका हुन् ।
शनिबार उम्मेदवारी मनोनयनका दिन विद्यार्थीले राजधानीको कीर्तिपुर, ताहाचल, आरआर, अमृत साइन्स, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पद्मकन्या, शंकरदेव, थापाथली, नेपाल लमा तालाबन्दी गरेका छन्् । त्यसैगरी पाटन संयुक्त, पुल्चोक इन्जिनियरिङ, नेपाल कमर्स, बानेश्वर, पशुपति, ग्रामीण आदर्श क्याम्पसलगायतमा तालाबन्दी छ । तराई मधेसका क्याम्पसहरूमा मधेसी दलनिकट विद्यार्थी संगठनले तालाबन्दी गरेको त्रिवि अधिकारीले बताए ।
त्रिविले देशभरिका ६० आंगिकलगायत क्याम्पसमा फागुन १८ गतेलाई स्ववियु चुनाव मिति तोकेको छ । त्यसैअनुसार तालिका र आचारसंहिता जारी भइसकेको छ । त्रिविले फागुन १४ निर्वाचन गर्ने पूर्वघोषित तालिकालाई विद्यार्थी संगठनहरूको मागअनुसार अन्तिम घडीमा चार दिन पछाडि सारिएको हो । तर, निर्वाचनका निम्ति उम्मेदवारी मनोनयनको अन्तिम दिन सत्तारूढ दल निकट विद्यार्थी संगठनले नै तालाबन्दी गरेपछि अन्योल छाएको छ ।
त्रिविले सेमेस्टर प्रणालीअनुसार अन्तिम सेमेस्टरको परीक्षा दिइसकेका विद्यार्थीले चुनावमा सहभागी हुन नपाउने नीति जारी गरेको भन्दै विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । ‘त्रिविको प्रावधानविरुद्ध विद्यार्थी साथीहरूले व्यक्तिगत रूपमा तालाबन्दी गरेका हुन्,’ नेविसंघका महामन्त्री सरोज थापाले कान्तिपुरसित भने, ‘यो नेविसंघको सांगठनिक नीति होइन । हामी त्रिवि पदाधिकारीसित बसेर छलफलबाट टुंगोमा पुर्‍याउने र अविलम्ब स्ववियु चुनाव गराउने पक्षमा छौं ।’
माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रशासनले यथाशीघ्र तालाबन्दी खोलेर स्ववियु चुनाव गराउनुपर्ने बताए । ‘चुनाव निर्धारित मितिमै हुनुपर्छ,’ उनले भने, ‘सबै विद्यार्थी संगठनले स्ववियुलाई सुचारु गराउन चुनावमा आउनुपर्छ । विभिन्न बहानामा स्ववियु बिथोल्न हुन्न ।’
त्रिविले २०६५ पछि यस पटक स्ववियु चुनाव गराउन लागेको हो । स्ववियु चुनाव मिश्रित प्रणालीमा हुनेछ भने उम्मेदवार विद्यार्थीको उमेर बढीमा २८ वर्षमात्र हुनेछ । नेविसंघका केही विद्यार्थीले उमेर हदबन्दी हुन नहुने भन्दै तालाबन्दी गर्दैआएको जनाइएको छ । एमालेनिकट अनेरास्ववियुकी अध्यक्ष नविना लामाले तोकिएकै मितिमा स्ववियु चुनाव हुनुपर्ने बताइन् । ‘ताला फोरेर पनि स्ववियु चुनाव हुनुपर्छ,’ विश्वविद्यालयमा विद्यार्थीको वैधानिक मञ्चलाई बिथोल्न नहुने उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रो संगठन जुनसुकै हालतमा चुनाव लड्न र हारजित स्वीकार्न तत्पर छ ।’
चन्दनिकट क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले तीन प्रमुख दलनिकट विद्यार्थी संगठनका कारण स्ववियु चुनाव भाँडिने खतरा बढेको बताए । ‘हामीले स्ववियु चुनावमा सहभागी हुने तयारी गरिसकेका छौं,’ क्रियाशील विद्यार्थी संगठनहरूले कहीँ न कहीँ तालाबन्दी गरेको उल्लेख गर्दै उनले भने, ‘स्ववियु निर्वाचन स्वस्थ ढंगले धाँधलीरहित र तोकिएको समयमा निष्पक्ष ढंगले हुनुपर्छ ।’
त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले विद्यार्थीले आफ्नो स्वार्थअनुकूल नभएर केही क्याम्पसमा तालाबन्दी गरेको बताए । ‘विद्यार्थी संगठनहरूकै मागअनुसार चुनावको मिति चार दिन पछाडि सारेका हौं,’ खनियाँले कान्तिपुरसित भने, ‘फागुन १८ मा स्ववियु चुनाव गराउँछौं ।’ उनले विद्यार्थी संगठन प्रमुख तथा प्रतिनिधिसहित बैठक बोलाइने पनि बताए ।

गणेश राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया