Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

उपत्यकाका कलेजमा भिडन्त

आइतबार, १५ फागुन २०७३

काठमाडौं १५ फागुन/स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुवै कलेजमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीबीच झडप भएको हो।

त्रिविका क्याम्पसमा शनिबार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम थियो। यसै क्रममा दुवै कलेजमा झडप भएको हो। आक्रोशित समूहले रत्नराज्य कलेजको स्टोरमा आगजनी गरेको छ। प्रहरीले स्टोरमा रहेका फर्निचर जलेको जनाएको छ। शंकरदेवमा भने भित्र रहेको समूह र बाहिरबाट भित्र प्रवेश गर्न खोज्ने विद्यार्थी समूहबीच झडप भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका एसपी गणेशबहादुर ऐरले तत्काल घटनास्थल पुगेर प्रहरीले आगो निभाउनुका साथै दुवै समूहका विद्यार्थीलाई तितरबितर पारेको बताए। निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनपछि दाबी विरोध, छानबिन, सूची प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने छ। त्रिविले १८ गते स्ववियु निर्वाचन गराउने निर्णय गरेको छ। यसअघि १४ गते तोकिएको निर्वाचन विभिन्न कारण सारेर १८ गते पुर्‍याइएको हो।

सुरक्षा श्रेणीमा बाँडिए कलेज

प्रहरीले फागुन १८ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरक्षाका लागि काठमाडौं उपत्यकाका कलेजलाई तीन श्रेणीमा विभाजन गरेको छ। प्रहरीले काठमाडौं, ललितपुर र भक्तपुरका महानगरीय प्रहरी परिसरको कमान्डमा श्रेणी अनुसार कलेजमा निर्वाचन सुरक्षा प्रबन्ध मिलाएको हो।

महानगरीय प्रहरीका अनुसार उपत्यकाका केन्द्रीय विश्वविद्यालय, अमृत साइन्स क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र, पद्मकन्या, सरस्वती क्याम्पस, महेन्द्ररत्न, रत्नराज्य,  पाटन संयुक्त क्याम्पस र सानोठिमी क्याम्पसलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील श्रेणीमा राखिएको छ। यस्तै पिपुल्स क्याम्पस, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ कलेजलाई संवेदनशील र अन्य निर्वाचन कलेजलाई विशेष श्रेणीमा राखेर सुरक्षा योजना बनाइएको छ।

प्रहरीले सम्भावित झडप रोक्न पूर्वजानकारीका लागि एक सातादेखि सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ। कलेज–कलेजमा खटिएका सादा पोसाकका प्रहरीले सम्भावित घटनाको पूर्वजानकारी दिनेछन्।

गण र गुल्मबाट पनि परिचालन

विद्यार्थी निर्वाचन भए पनि त्यसको राजनीतिक प्रभाव ठूलो रहेको विश्लेषणपछि प्रहरीले कलेजहरूमा हुनसक्ने शक्ति प्रदर्शन र झडप रोक्न महानगरीय प्रहरी मातहतका गण र गुल्मबाट समेत सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। कलेज क्षेत्रमा रहेका प्रहरी वृत्त र प्रभागलाई थप जनशक्तिका लागि गण र गुल्मबाट सुरक्षाकर्मी परिचालन हुनेछन्।

एसपी ऐरले भने, 'हाम्रो गण र गुल्मका प्रहरीसमेत स्ववियु निर्वाचन सुरक्षाका लागि परिचालन हुनेछन्, अहिले वृत्त र प्रभागकै नेतृत्वमा सम्बन्धित कलेजको सुरक्षा प्रबन्ध मिलाइएको छ।'
नागरिकमा प्रकाशित खबर ।

प्रतिक्रिया