Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

शिक्षामा ठेकेदारी : अदालत अख्तियार धाउने देखि, मन्त्री प्रधानमन्त्रीबाट फोन गराउने सम्मको बिगबिगी

आइतबार, १५ फागुन २०७३

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) लाई जुन रुपमा यो मुलुकमा अगाडि बढाउनुपर्ने हो, त्यो रुपमा अगाडि बढाउन राजनीतिक नेता, नीतिकर्ता, समन्वयकर्ताहरुले आवश्यक ध्यान दिएका छैनन् । यसको भूमिकालाई कमजोर पार्न खोजिएको हो वा नजर अन्दाज गर्न खोजिएको हो, बुझ्न सकिएको छैन ।

आजको अवस्थामा सिटीइभिटीले आफ्नो देशको लागि एउटा प्राविधिक जनशक्ति र देश विकासका लागि  प्राविधिक हातहरु अगाडि बढाइरहँदा, २०५१ सालदेखि अहिलेसम्मको जुन संरचना छ, २०७३ सालसम्म आइपुग्दा पनि उही संरचना र उत्तिक्कै कर्मचारी अर्थात् ९ सय ३२ जनामै सिमित छ । मुलुकको नीति निर्माण गर्ने, मुलुकको शिक्षालाई अघि बढाउने, शिक्षा मन्त्रालय र त्यो मातहतका निकायहरुले यसमा ध्यान दिएका छैनन् । यसलाई प्राथमिकतामा राखेको अवस्था छैन ।

एउटा सामुदायिक विद्यालयमा दरबन्दी स्वीकृत भएका छन्, हामीले खबर पढेका छौं पाँच विद्यार्थीका लागि ७ जना दरबन्दीका शिक्षक छन् । तर, यो मुलुकको प्राविधिक शिक्षाको विकासको  लागि काम गरिरहेको यो संस्थामा दरबन्दी थपिएको छैन । हामीमाथि कामको बोझ दिनानुदिन बढिरहेको छ । तर पनि सरकारले दरबन्दी दिएको छैन ।

सिटीइभिटीलाई अझ बलियो बनाउने र यो मुलुकको लागि साँच्चै नै सिटीइभिटी चाहिने हो भने सिटीइभिटीलाई बलियो बनाउन तुरुन्त दरबन्दी, प्राविधिक जनशक्तिको व्यवस्था गर्नु आवश्यक छ । जसले गुणस्तरीय शिक्षाको लागि आफूलाई अघि बढाउने छ ।

सरकार र स्थायी सरकार मानिने ब्युरोक्रेट्स, शैक्षिक क्षेत्रमा आफ्नो केही निहित स्वार्थ पूरा गर्ने र सिटीइभिटीलाई ओझलमा पारेर आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्ने एउटा निश्चित गिरोह, सिटीइभिटीलाई कमजोर पारेर सिटीइभिटी सिध्याउनतिर लागेको छ । यसका लागि सबै सजग र चनाखो हुनुपर्ने बेला आएको छ । यो देशमा एउटै मन्त्रालय अन्तर्गत दुईवटा प्राविधिक धारको स्थापना गरी निम्न र मध्यम आर्थिक स्तरका विद्यार्थीले लिने तालिम ओझेलमा परेको छ । जनताका छोराछोरी अलमलिएका छन् । कुन शिक्षा लिँदा, कस्तो जनशक्ति उत्पादन हुने हो, कसरी यसलाई अगाडि बढाउने हो ? यो कुरामा अन्योल भएकोले यो मुलुकमा अब दुईटा धारबाट प्राविधिक शिक्षा सञ्चालन हुँदैन, यो मुलकमा २८ वर्ष अगाडि सुरु गरिएको प्राविधिक शिक्षालाई अगाडि बढाएको छ ।

सामुदायिक विद्यालयको दुईटा कोठामा राखेर सुरु गरिएको प्राविधिक शिक्षाले दूरदराजमा रहेका विद्यार्थीसम्म लग्दा कतै ती विद्यार्थीलाई ठगिरहेका त छैनौं ? शिक्षा मन्त्रालयले, शिक्षामन्त्रीले, नीति निर्माण गर्ने प्राविधिक विज्ञहरुले यसको समीक्षा गर्न जरुरी छ । यसलाई निकास दिनु जरुरी छ । दक्ष प्राविधिक शिक्षा कसरी सम्भव छ । सामुदायिक विद्यालयमै त्यसरी प्राविधिक शिक्षा सञ्चालन गर्न सकिन्थ्यो भने राज्यले छुट्टै ऐनद्वारा स्थापित गरेर, अरबौंको लगानीमा सुरु गरिरहेको प्राविधिक शिक्षालाई निरन्तरता दिनु के अर्थ ? यस कारण शिक्षा मन्त्रालयले यो अलमलमा जनताका छोराछोरीलाई राख्नुहुन्न । यो अलमलमा नीति र नियमलाई राख्नु हुन्न । एउटा सही धारमा प्राविधिक शिक्षालाई अगाडि बढाउनुपर्छ ।

वर्तमान व्यवस्थापनको सिटीइभिटीले, आन्तरिक कमजोरीले हामी हरेक नीतिमा चुक्दै आएका छौं । हामी कसरी अघि बढिरहेका छौं, हाम्रा कार्यक्रमहरु कसरी अघि बढिरहेका छन् ? यसमा हामीले समीक्षा गर्न जरुरी छ ।

६ महिनादेखि सिटीइभिटीमा कार्यकारी प्रमुख पद खाली छ । हामीले पाउन सकेका छैनौं र सिटीइभिटीलाई हामीले यथासिघ्र सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छौं । किनभने, सिटीइभिटीलाई कि मन्त्रीले आफ्नो अनुकूल स्वार्थमा प्रयोग गर्न खोजेका छन् कि पार्टीका  स्वार्थमा प्रयोग गर्न खोजेका छन् । गरिब जनताका स्वार्थ र यो मुलुकको हितको स्वार्थमा सिटीइभिटीलाई प्रयोग गर्न ख्याल नगर्दा ६ महिनादेखि यहाँ कार्यकारी प्रमुख खाली छ । त्यसकारण यथासिघ्र कार्यकारी प्रमुख नियुक्ति हुनुपर्छ ।

हामीभित्रमा धेरै समस्याहरु छन्, केही बाह्य शक्तिले सिटीइभिटीलाई एउटा कुनै ठाउँमा लगेर बिसर्जन गर्ने रणनीतिक रुपमा अगाडि बढेका छन् । आज विभिन्न एनजिओ, आइएनजिओका नाममा सिटीइभिटीसँग टाँसिएर सिटीइभिटीको भूमिकालाई केही प्रतिशतमा राखेर अरु सबै भूमिका आफ्नो हातमा लिएर प्राविधिक शिक्षा तालिमका नाममा यहाँ अरबौं रकम दुरुपायोग हुने अवस्था छ । त्यसमा हामी फेल भएका छौं, हाम्रो नीति फेल भएको छ । हाम्रो लबिइङ कमजोर भएको छ । आज प्राविधिक शिक्षा, तालिमको क्षेत्रमा ठेकेदारी प्रथा भएको छ । टेण्डरविटमा तालिमहरु चलाइएका छन् । टेण्डरबिटले तालिम चलाउँदा नेपालका सडकहरुको जस्तै अवस्था तालिमहरुको भएको छ । त्यसैले शिक्षा क्षेत्रमा ठेकेदारी प्रथा हुनुहुन्न । शिक्षालाई गुणस्तरीय बनाउनका लागि  शिक्षामा भएका यस्ता विकृति र विसंगतिलाई हटाउनलाई हामी अघि बढ्नुपर्छ ।

सिटीइभिटी अन्तर्गतका हामी जति कर्मचारीहरु छौं, सिटीइभिटीलाई जोगाउने, सिटीइभिटीको अस्तित्व रक्षा गर्ने काम हाम्रो काँधमा आएको छ । संघसंगठन, राष्ट्रिय संगठन, विभिन्न टे«ड युनियनहरुले आफ्नो आस्था, विचार आफ्नो ठाउँमा छोडेर एक ठाउँमा उभिनुपर्छ । कतै हाम्रै कारणले यो संस्था कमजोर हुनुमा हामी नै त जिम्मेवार छैनौ ? भन्ने प्रश्न गर्नुपर्ने समय आएको छ ।

हाम्रै साथीहरु कोही अदालत धाउँछन्, कोही अख्तियार बोलाउँछन्, कोही मन्त्रीबाट फोन गराउँछन्, कोही प्रधानमन्त्रीबाट फोन गराउँछन् । अन्ततगत्वा, टे«ड युनियनबाट पनि एउटा सहीछाप लगाएर जान्छन् । हामी कर्मचारीहरुले पनि विभिन्न नाममा बेथिति मच्चाएका छौं । त्यसैले यो कुरालाई पनि सुधार्नु आवश्यक छ ।

(सिटीइभिटी कर्मचारी संघका अध्यक्ष बडुले गत बिहीबार परेको सिटीइभिटीको २९ औं वार्षिक उत्सवमा ब्यक्त गरेको विचार)

प्रतिक्रिया