स्ववियू चुनाव पछिको मनोपरामर्श


स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी प्रतिस्पर्धामा हार बेहोरेपछि स्याङ्जा सिद्धार्थ क्याम्पसकी नेविसंघ सभापति उम्मेदवार रीमा क्षेत्रीले बुधवार गरेको आत्महत्या अप्रिय र अत्यन्त दुखद् छ । प्रजातान्त्रिक प्रतिस्पर्धामा हारजीत स्वभाविक हुन्छ भनेर सिकाउन नसक्नु विद्यार्थी राजनीतिका लागि ग्लानी र लज्जाको विषय हो ।

यसले विद्यार्थी राजनीतिको नेतृत्व कौशल क्षमता कति कमजोर छ भन्ने देखाएको छ । घटनाले किशोर उमेर पार गरेर कुनै कुरामा हार्न नचाहने, जुझारु र आवेगपूर्ण युवा उमेर प्रवेश गरेका विद्यार्थीलाई स्ववियू चुनावको आवश्यकता र औचित्य, प्रजातान्त्रिक पद्दतीमा हुने प्रतिस्पर्धा तथा त्यसबाट सिर्जना हुने हारजीतको मनोपरामर्शको आवश्यकता देखाएको छ । यसले व्यक्तिलाई आत्मबल उच्च बनाउन प्रेरित गर्न सक्छ ।

आत्महत्या व्यक्तिको आवेशपूर्ण निर्णय हो । यो एउटा रोग हो, संसारमा यसको उपचार सम्भव छ र त्यो भनेको व्यक्तिलाई दिइने आत्मबलनै हो । त्यसका लागि विद्यार्थी राजनीतिको नेतृत्व गरिरहेको दावी गर्नेहरुले मनोपरामर्श लगायतका अतिरिक्त उर्जावान कार्यक्रम चलाउनु जरुरी देखिन्छ । जसले युवा उमेरका, नेतृत्व र राजनीतिक प्रतिस्पर्धामा जान चाहनेहरुलाई उत्साही बनाइ राख्न मद्दत गर्छ ।

त्यो काम अहिले चुनिने स्ववियूले गर्न सक्छ । तर त्यसका लागि दलको आवरणमा बेरिएर भन्दा सिर्जनशील भएर सोच्ने क्षमता जरुरी छ । किनभने स्ववियूको मूल काम उच्च शिक्षालयमा शैक्षिक सुधार र बहस, विद्यार्थी हकहित, उनीहरुको प्राज्ञिक, शैक्षिक, शारीरिक, मनोवैज्ञानिक विकासका कार्यक्रम चलाउनु नै हो ।

तर नेपालका शिक्षालयमा भएका स्ववियू दलका भाटभन्दा माथि उठ्न नसकेकाले बदनाम छ । अबको स्ववियूको मूख्य चुनैति भनेकै बदनामीबाट आफूलाई जोगाउनु हो । बदनाममात्रै छैन, भ्रष्टाचार सिकाउने मूल थलो स्ववियू बन्दै गएको छ । अर्को चुनौति भनेको स्ववियूलाई भ्रष्टाचारमुक्त बनाउनु र आम विद्यार्थीमा स्वच्छ आचरणको छवि बनाउनु पनि हो । उच्च शिक्षाको सुधार भन्दा दलको भाटगिरी स्ववियू चुनावमा कति हावी हुन्छ भन्ने कुरा यसपालीको चुनावम पनि देखिएको छ । र त्यही स्ववियूमा नजित्दा विद्यार्थीले ग्लानी महसुस गरेर आत्महत्या गरेको समाचार आउनु अत्यन्त अप्रिय छ । अबको स्ववियू नेतृत्वले यसलाई गम्भीर भएर मनन गर्नु पर्छ ।

त्यसका लागि अहिलेको स्ववियू नेतृत्वले विद्यार्थी र विशेष गरी युवा उमेर समूहको भावना बुझेको छ कि छैन ? उनीहरुसित दलको झण्डामात्रै छ कि सिर्जनशील दिमाग पनि छ ? उनीहरु विद्यार्थी, देशको शिक्षा र शिक्षालय प्रति उत्तरदायी छन् कि कुनै दलको अह्रोटमा बन्द, हड्ताल र आगजनीमा अग्रसर हुन्छन् ? उनीहरु आफू, आफ्नो उमेर समूह र आउँदै गरेको नयाँ पुस्ताप्रति कर्तव्यनिष्ठ छन् कि केवल अवसरवादको खोजीमा जस्ता सुकै हर्कत गर्न तयार ? उनीहरु शिक्षालय बन्द र आगजनी गर्न चाहन्छन् कि त्यसलाई सुन्दर र हराभरा बनाउन चाहन्छन् ? नीतिमा बहस गर्न चाहन्छन् कि चाकडीको आरती ? उत्तर खोज्नु जरुरी छ । र उनीहरुले पनि उत्तर दिनु जरुरी छ । उनीहरुको उत्तर ओठे होइन कामबाट सिद्ध हुनु पर्छ । यसले उनीहरुको आगामी राजनीतिक भविष्य पनि निक्यौल गर्नेछ ।

अहिलेको स्ववियूप्रति, विद्यार्थी नेतृत्वप्रति विश्वास छैन । किनभने २०६५ पछि पटक पटक स्थगित भएको चुनाव बल्ल बल्ल हुँदा पनि विद्यार्थी संगठनले यसलाई शिक्षालय, विद्यार्थी र शैक्षिक सुधारका लागि हो भनेर विद्यार्थीलाई बुझाउन सकेका छैनन् । विद्यार्थी संगठनले नै  गरेको शिक्षालय तालाबन्दी र आगजनीले त्यसलाई थप प्रमाणित गरेको छ । विद्यार्थी संगठनले यसलाई राजनीतिक प्रतिस्पर्धाका रुपमा लिइदिँदा शिक्षालयको शान्त तलाउमा राजनीतिको पत्थरले विद्यार्थी आपसमा बिच्किएका छन् । आपसी मिलाप र स्वच्छ मित्रवत् प्रतिस्पर्धा हुनु पर्ने स्ववियू चुनाव मारमुंग्रीग्रस्त हुँदा एउटै बेञ्चमा बस्ने विद्यर्थाीवीच मनमुटाव सिर्जना भएको छ । यसले बदलावको भावना जगाइदिएको छ । यो बदलावको भावना आपराधिक मनोवृत्तिमा नबदलिएला भन्न सकिन्न, हिजोको विद्यार्थी राजनीतिको इतिहासले त्यही भन्छ ।

यसले जित्ने र हार्ने दुवैलाई प्रभावित गर्न सक्छ भन्ने चाहिँ विद्यार्थी संगठनले भुलेका छन् । एउटै कक्षा, एउटै क्याम्पसमा अध्ययनरत विद्यार्थीवीच भएका द्वन्द्वले प्रतिस्पर्धामा नभएका सामान्य आम विद्यार्थीलाई स्ववियू भनेको झगडा गर्ने ठाउँ हो भन्ने मानोविज्ञान विकास भएको छ ।

साथसाथै जित्नेले हौसिएर कक्षा नजाने तथा पढाइ भन्दा अन्य गतिविधिमा बढी संलग्न हुने र हार्नेले पनि निराश भएर कक्षा छाड्ने सम्भावनाका खतराहरु पनि उत्तिकै छन् । यसलाई पनि निर्वाचित स्ववियूले सम्बोधन गर्न सक्नु पर्छ । निर्वाचित स्ववियू कुनै दल विशेषको झुण्ड र झगडाको बीउ भन्दा सबै विद्यार्थीको हुने गरी अगाडि बढ्ने उद्घोष गर्न सके प्रतिस्पर्धामा पछि परेका र अन्य मतदाता विद्यार्थीका लागि पनि स्ववियू फलदायी हुन सक्छ । अहिले त्यो वातावरण देखिएको छैन । यसले जित्ने र हार्ने दुवैलाई त फाइदा गर्दैन नै आम विद्यार्थीलाई पनि घाटामै लान्छ ।

अहिलेको स्ववियु चुनाव देशको जेठो त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र १ हजार ४४ सम्बन्धन प्राप्त क्याम्पसमा हुने हो । प्रमाणपत्र तह विश्वविद्यालयबाट हटेपछि अहिले स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीवीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धाले विद्यार्थीलाई जीवनवोध भने गराएको छैन । सामाजिक राजनीतिक यथार्थता र जीवनबोध नगराएसम्म स्ववियु जित्नु हार्नुको कुनै तात्विक अर्थ रहन्न ।

जीवनको हरपल अमूल्य छ, यसलाई अन्तिम पलसम्म पनि सिर्जनात्मक कर्ममा जोगाइ राख्नु पर्छ भन्ने ज्ञान विद्यार्थी राजनीतिले हामीलाई दिन सकेको छैन । स्वीकार्नै पर्छ, राजनीति सबै नीतिहरुको मूल नीति हो, यसले जीवन उजाड बनाएर, मनमा निराशा भरेर जीवन सक्ने होइन, जस्तै दुखमा, हारमा, प्रतिस्पर्धामा, डरमा र आपत् विपत् पनि धैर्यवान भएर बाँच्न सिकाउनु पर्छ । त्यो हामीले पाएका छैनौँ । प्रतिस्पर्धा र जीत यसरी हावी भएको छ कि यो ग्ल्यामरले हामीलाई सिर्जनसिल र आलोचनायुक्त चेतनाको होइन निराश, कुण्ठित र आवेगी बनाएको छ । यदि यसो हुँदैन थियो भने प्रतिस्पर्धी अखिलको विजय सभा भइरहँदा रीमाको प्राण पखेरु उड्ने थिएन ।

बेलैमा सचेत हुनु जरुरी छ, रीमा क्षेत्री र विद्यार्थी राजनीतिमा सक्रिय हुन चाहने रीमा क्षेत्रीहरु चुनावी प्रतिस्पर्धामा पराजित हुँदा पनि जीतकै जस्तो उत्साह बोकेर शिक्षालयमा सिर्जनशील मुस्कान मुस्काइ रहने वातावण अबको स्ववियुले निर्माण गर्न सक्नु पर्छ ।

फोटो : फाईल