तालिम कार्यान्वयन नगर्ने शिक्षक स्वतः कारवाहीको घेरामा


- देवकुमारी गुरागाई, कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र /  शिक्षाको गुणस्तर कस्तो छ भन्ने कुरा विद्यार्थीको सिकाइको अवस्थाले निर्धारण गर्छ । यसका लागि निसन्देह शिक्षकको क्षमता, कृयाकलाप र सकृयताको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकलाई सक्षम बनाउने तालुकदार निकाय शिक्षा मन्त्रालय । शिक्षकलाई सक्षम बनाउन आवश्यक तालिम प्रदान गर्न मन्त्रालयले शैक्षिक जनशक्ति विकास केन्द्र मार्फत विभिन्न कृयाकलाप सञ्चालन गर्र्दै आएको छ । तर उक्त कृयाकलाप औपचारिकतामा सिमित भएको तथा शिक्षकले सिकेका कुरा कक्षा कोठामा नपुगेको भन्दै आलोचना हुँदै आएको छ । यही सन्दर्भमा केन्द्रकी कार्यकारी निर्देशक, देवकुमारी गुरागाईसंग हरिसुन्दर छुकांले गरेको कुराकानी :

- शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशकको हैसियतमा के काम गर्दै हुनुहुन्छ हिजो आज ?

शैक्षिक जनशक्ति विकास केन्द्रको स्वीकृत कार्यक्रम कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलिरहेको छु । नेपाल सरकार, शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमीबाट सम्पादन गर्नु पर्ने मुख्य दायित्व अनुसार नेपाल सरकार शिक्षा सेवा अन्तरगत कार्यरत जनशक्ति र शिक्षकको क्षमता विकाससँग सम्बन्धित तालिम व्यवस्थापन गर्नु पर्दछ ।

यस किसिमको कार्यलाई व्यवस्थित, प्रभावकारी, विश्वसनीय, जवाफदेही र परिणाममुखी बनाउन ः वार्षिक कार्यक्रम र बजेट तर्जुमा, वार्षिक कार्यक्रम विनियोजन तथा अख्तियारी प्रदान, शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन अवस्थाको समन्वय तथा अनुगमन, चौमासिक वार्षिक रूपमा प्रगति तयारी र प्रस्तुतीका काममा ब्यस्त छु । तालिमसँग सम्वन्धित अभिलेख तथा तथ्यांक व्यवस्थापन, कार्यक्रम कार्यान्वयन गर्न वित्तीय तथा प्राविधिक सहयोगका लागि आवश्यकता अनुसार दातृ निकाय, गैरसरकारी संघसंस्था एवम सरोकारवालाहरूसँग समन्वय गर्ने, शैक्षिक सुशासन कायम गर्न गुनासो व्यवस्थापन, तोकिएको प्रतिशतमा बेरूजु फर्छौट गर्ने, भएको बेरूजु न्यूनीकरण गर्दै जाने तथा अब कार्यान्वयन हुने क्रियाकलापमा बेरूजु शून्य हुने गरी कार्य सम्पादनमा पहल गर्ने प्रयासमा छु ।

- शिक्षक तालिमको सन्दर्भमा चर्चा गरौं, शिक्षकलाई के कस्ता तालिमहरूमा सहभागी गराउँदै आएको छ त शिक्षा मन्त्रालयले ?

विगत विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन अवधिमा शिक्षण पेशामा संलग्न सबै स्थायी, अस्थायी, करार, राहत आदि शिक्षकहरूका लागि दश दश दिनका  तीन ओटा मोड्यूलमा तालिम सञ्चालन भयो ।
विद्यमान अवस्थामा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा छ । विगतको अनुभव, पृष्ठपोषणका आधारमा दुइ चरणमा गरी एक महिने तालिम संचालित हुने, यसको कार्यान्वयन मोडालिटि मुख्य आधार शिक्षक क्षमता विकासको प्रारूप २०७२, शिक्षक सक्षमता प्रारूप २०७२, र आवधिक योजनाले परिकल्पना गरेको मार्ग निर्देशानुसार अगाडि बढिरहेको छ । तालिमहरूमा प्रधानाध्यापक नेतृत्व क्षमता विकास व्यवस्थापन, माध्यमिक शिक्षक विशेष गरी अंग्रेजी , गणित, विज्ञान विषयका लागि टीपीडि खाकामा १ महिने तालिम, ११ र १२ मा पढाउने शिक्षक जसले बीएड एमएड अध्ययन नगरेको शिक्षकका लागि अनलाइनबेस टे«निङ, आधारभूत तहमा कार्यरत शिक्षकका लागि टीपीडी खाकामा तालिम, विगतमा टीपीडी खाकामा तालिम पुरा गरेका शिक्षकका हकमा ५ दिनको पुनर्ताजगी तालिम, विभिन्न संघ संस्थाले क्रस कटिङ इस्युमा तालिम दिन चाहेमा २ दिने तालिम दिने व्यवस्था, एसएसडीपी कार्यान्वयनसँग प्रारम्भिक बालशिक्षाका सहयोगी कार्यकर्ता÷शिक्षकका लागि समेत यो वर्षबाट टीपीडी खाकामा तालिम शुरूवात भएको छ ।

- तालिमका लागि जनशक्ति कति खटिरहेका छन् ?

केन्द्र, जिल्ला स्थित शैक्षिक तालिम केन्द्र र अगुवा स्रोत केन्द्रसम्म तालिमको स्तर र किसिम अनुसार आवश्यक पर्ने जनशक्तिपर्याप्त रूपमा परिचालित छन् । केही समसामयिक विषयमा रोष्टर मार्फत पूर्ति गर्ने नीति रहेको छ ।

- शिक्षक तालिम दिन जनशक्ति पुग्दो मात्रामा छ कि अभाव छ ? जनशक्ति व्यवस्थापन कसरी भइरहेको छ ?

पर्याप्त छ । केही समसायिक विषय र प्राविधिक धारका प्रशिक्षक र सूचना तथा सञ्चार प्रविधिसँग सम्वन्धित जनशक्तिका लागि तालिम दिनका लागि वाह्य स्रोत समेतको प्रयोगबाट जनशक्तिपूर्ति गर्ने वातावरण बनाइएको अवस्था छ ।

- शिक्षक तालिमका लागि बर्सेनी करोडौं रकम खर्च हुन्छ ? तर त्यसको प्रतिफल भने सुकेको रूखमा पानी दिनु जस्तै भइरहेको छ ? यो किन भइरहेको छ ? यसो हुनुमा को को दोषी छन् ?

टीपीडी र प्रअ तालिमको प्रभावकारिताबारे अनुसन्धानले यसो भनेको छैन । अपेक्षित मात्रामा प्रतिफल हासिल गर्न नसकिए पनि यसको प्रभाव भने सकारात्मक छ ।

- तालिमलाई सिकाइ उपलब्धिसँग जोड्न अपनाइएका रणनीति के हुन् त ?

विद्यालय क्षेत्र विकास कार्यक्रमले लिएको नीतिअनुसार अंग्रेजी , गणित र विज्ञान विषय अध्यापनरत शिक्षकलाई टीपीडी खाकामा तालिम, तालिमलाई वृत्ति विकासमा जोडी राम्रो कार्यसम्पादन गर्ने शिक्षकलाई उत्प्रेरित गर्ने व्यवस्था, विद्यार्थी केन्दीत र बालमैत्री कक्षा व्यवस्थापन गर्ने मोडालिटीमा तालिम संचालन, प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्म अध्यापनमा रहेका शिक्षकका लागि आवश्यकता र तहगत तालिमको व्यवस्था, तालिम कोर्षलाई परिवर्तित समयानुसार परिमार्जन स्वीकृत र सुचना तथा संचार प्रविधि समेतको संयोजनमा तालिम संचालन, विषेश किसिमको मेन्टोरिङ, अनसाइट कोचिङ संचालन, विभिन्न गैर सरकारी तालिम प्रदायक निकायसँगको सहकार्यमा तालिम भैरहेका छन् ।

- तालिम शिक्षकहरूको लागि प्रभावकारी छैन, शिक्षकहरू पनि तालिम औपचारिकतामै सीमित हुन्छ भन्छन्, यो के साँचो हो ?

होइन, तालिमका आफ्नै विषयवस्तु, संचालनका तौर तरिका, विषय विज्ञको प्रयोग र लक्षित उद्देश्य परिपूर्तिका लागि हुन्छ । तालिमको विषयवस्तुले  शिक्षकले पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि हासिल गर्न सहयोगी हुने गरी पुनर्ताजगी बनाउने, विद्यमान सीप, अभिवृत्ति र ज्ञानमा विकास, संगठनात्मक संस्कृतिप्रति घुलमिल गराउने साथै शिक्षकको वृत्ति विकासको आधार पनि भएकोले यसलाई संकुचित रूपमा लिनु नै भुल हो । तालिम अवधिबाट कसरी बढीभन्दा बढी यी क्षेत्र हासिल गर्ने भन्ने प्रत्येक तालिमका सहभागीले रणनीतिक उपाय अपनाउन सकेमा माथिको भनाइ सार्थक हुन सक्दैन ।

- साँचो होइन भने तालिमको प्रयोग शिक्षण क्रियाकलापमा किन भइरहेको छैन ?

विद्यालय क्षेत्र सुधार योजना अवधिमा भएका तालिमले शिक्षण सिकाइ क्रियाकलापमा सकारात्मक सहयोग पुगेको पुष्टी विभिन्न अनुसन्धानबाट भएको छ । कक्षामा अध्यापन गराउने तरिका र  बालमैत्री बातावरण बनाउनमा क्रमश सहयोग भइरहेको अवस्था छ ।

- शिक्षकले लिएको तालिमलाई कक्षाकोठामा प्रयोग किन गर्दैनन् त ? यो बारेमा एनसिइडीले कुनै अध्ययन गरेको छ ?

विगतमा भएको अनुसन्धानले सकारात्मक प्रभाव औल्याएको छ ।

- निजी विद्यालयका शिक्षकहरू सामुदायिकको तुलनामा तालिम प्राप्त छैनन् तर नतिजा भने उत्कृष्ट छ, यस्तो किन भयो ?

सामुदायिक विद्यालयमा प्रभाव धेरै कारणले पारेको छ । केही विद्यालय त्यही लगानीमा पनि सर्बोत्कृष्ट उपलब्धि दिन सफल छन् भने केही विद्यालयको शैक्षिक उपलब्धिमा आधारित भइ समाजको अभिभावकको विश्वास जित्न नसकेको कुरा स्वीकार्नै पर्छ । विशेष त प्रधानाध्यापकको नेतृत्वसीप, विद्यालय व्यवस्थापन समितिको भूमिका, सामुदायिक परिवेश, सामाजिक संरचना, विद्यार्थीको अवस्था, सांस्कृति, आर्थिक अवस्था आदिले त्यो विद्यालय राम्रो वा नराम्रो लेभलमा परिणत भइरहेको अवस्था छ । यो अनुसन्धान कै विषय भएको छ ।

- तालिम लिने, त्यसको प्रयोग नगर्ने शिक्षकलाई तपाइँहरू कारबाही गर्न सक्नुहुन्छ ?

शत प्रतिशत कक्षाकोठामा प्रयोग गर्ने भन्ने भन्दा पनि यसको सकारात्मक प्रभाव परेको छ । विद्यार्थी केन्द्रित कक्षा सञ्चालनमा शिक्षक उत्प्रेरित भएको अवस्था, सूचना तथा सञ्चार प्रविधिको प्रयोग शिक्षामा क्रमश बढोत्तरी छ । विद्यार्थी शिक्षकभन्दा अगाडि पनि कहिलेकाही हुने अवस्थाले शिक्षक पूरा तयारीमा कक्षा प्रबेश गर्ने वातावरण अभिवृद्धि भइरहेको छ । विद्यार्थीको सिकाइ उपलब्धिसँग शिक्षकको सेवा सुविधा, वृत्ति विकास पनि प्रत्यक्ष अप्रत्यक्ष जोडिएकोले तालिम कार्यान्वयन गर्न नसक्ने शिक्षक स्वतः कारवाहीको घेरामा परिनै हाल्छ ।

- तालिम लिएका शिक्षकहरूले कक्षाकोठामा तालिममा सिकेको कुराहरू प्रयोग भएको छ कि छैन भन्ने कुनै अनुगमन र निरीक्षण पनि भएको छैन, त्यसले पनि प्रयोग नभएको सन्दर्भ छ, त्यो कुरालाई कसरी समाधान गर्ने त ?

शैक्षिक प्रणालीमा अनुगमन निरीक्षणका लागि प्रधानमन्त्री कार्यालयका सचिवज्यूको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा निरीक्षण समितिदेखि शिक्षा मन्त्रालय र अन्तरगत केन्द्रीय निकायमा बेग्लै महाशाखा शाखा अनि स्थानीय निकायसम्म अनुगमन  संयन्त्रको संरचनागत व्यवस्था र सोको लागि जनशक्तिको समेत प्रावधान  छ ।

निकायगत रूपमा अनुगमन निरन्तर भइरहेको छ । राष्ट्रिय योजना आयोगबाट तोकिएकै ढाँचामा मासिक तथा चौमासिक/वार्षिक रूपमा प्रतिवेदन तयार भइ सम्बन्धित निकायमा प्रेषित हुने र सोको समिक्षा पनि भइरहेको छ । अनुगमन कार्यसम्पादनका सिलसिलामा अनलाइन र अफलाइन दुबै निरन्तर भइरहेको छ ।

विद्यालय भित्रको शैक्षणिक लगायत अन्य पक्षको अनुगमनमा प्रत्यक्ष रूपमा विद्यालय निरीक्षक र स्रोतव्यक्तिको व्यवस्था छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघबाट पनि आफ्नो दायित्व वहन भएकै छ । अपेक्षित मात्रामा गर्न नसकिएको तितो सत्य स्वीकार्दै सञ्चार माध्यमको सहयोगबाट विभिन्न जिल्ला र विद्यालयमा भएका असल अभ्यास प्रचार प्रसार गर्न सके थप उर्जा पुग्ने कुरा नकार्न सकिन्न ।

- तालिमलाई तालिममात्र नबनाउने तपाइँसँग के उपाय छन् ?

एसएसआरपीको कार्यान्वयन सँगसँगै तालिमको मोडालिटीमा व्यापक परिवर्तन भएको छ । तालिम शिक्षकको समस्या समाधान गर्ने तत्काल आवश्यक विषयवस्तु र परियोजना कार्यमा समेत आधारित भएकोले तालिम अवधिमा शिक्षक सक्रिय हुनै पर्ने जसले कक्षा कोठामा सकारात्मक प्रभाव पार्ने किसिमले अगाडि बढेको अवस्था छ ।

शिक्षकमा कस्तो सक्षमता विकास हुनु पर्छ, सक्षमता र कार्यक्षमता विकासका दिइने तालिम पश्चात तालिम प्रदायक निकाय, विद्यालय, विद्यालय व्यवस्थापन समितिको अनुगमन लगायतको भूमिका कस्तो रहने विद्यमान तालिम नीतिमा स्पष्ट छ ।

- शिक्षक तालिम नीति चाहिँ कस्तो छ ? कतै तालिम नीतिकै कारण शिक्षक तालिम आलोचित त बनिरहेको छैन ?

आवधिक योजना, वजेट वक्तव्य, बार्षिक कार्यक्रम आदि मुख्य आधार हुन तालिम कस्तो र कसरी दिने भन्ने विषयमा छलफल भएको छ । विशेष गरी शिक्षक पेशागत विकास प्रारूप र शिक्षकको सक्षमता प्रारूप भित्र रही तालिम पाठ्यक्रम विकास गरी तालिम सम्वन्धित जनशक्तिलाई दिने नीति छ ।

नीति आफैमा कहिल्यै पनि नराम्रो नहुने तर समय सापेक्ष परिमार्जन भने हुनु पर्छ । जुन कार्यले निरन्तरता पाएकै छ ।

(वि. सं. २०५१ बैशाखमा प्राविधिक सहायकबाट सेवा प्रवेश गरेकी गुरागाइँ शिक्षा सेवाकी सह सचिव हुन्  ।)