Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

यो साताको शिक्षा साहित्य : बेपत्ता

शनिबार, २८ फागुन २०७३

- रमेश क्षितिज, कविता, कथा र गीत लेखनमा सकृय छन् । निजामती सेवामा कार्यरत उनी समसामयिक विषयमा लेख्छन् । अर्को साँझ पर्खेर साँझमा, घर फर्किरहेको मानिस, आफै आफ्नो साथी भए, क्षितिज लगायतका उनका कृति प्रकाशित छन् । ०५० मा सर्वोत्कृष्ट गीतकार, रेडियो नेपाल, ०५१ मा राष्ट्रिय कविता महोत्सवमा प्रथम लगायत विभिन्न पुरस्कार र सम्मान पाएका उनी निजामती सेवामा समेत उत्कृष्ठ ठहरिएका छन् ।  सल्यानमा जन्मेका उनको कविता 'बेपत्ता' यो साताको शिक्षा साहित्यमा  :

अझै मेटिएका छैनन्
ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू
पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा
अचानक आएर हतियारधारीले
बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल
र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास

गाउँमा – चाडपर्व, उत्सवहरूमा
नाचगान, देउसी र भैलोहरूमा
आकर्षण हुन्थ्यो उसको स्वर र ख्यालठट्टा
अझै सम्झनामा छन्– उसले गाएका लोकगीतहरू
मध्यरातमा जङ्गलै – जङ्गल हिँडाइएको ऊ
फर्केको छैन कुनै समारोहमा
उदास छ दौंतरीहरूको अनुहार

हाजिर कपीमा अझै छन् उसका हस्ताक्षर
कोठामा छोडेर सरकारी सेवाको परिचयपत्र
कहाँ पुग्यो होला ऊ
कसले ढक्ढक्यायो होला उसको ढोका अघिल्लो रात
बेखबर कहाँ हरायो ऊ
कसले पा¥यो बेपत्ता उसलाई र गुमनाम छ ऊ
गँुड नफर्केको गौंथलीजस्तो

रुँदा रुँदा थाकेर ओभानिएका आँखाहरू
टोलारहेछन् शून्य शून्य
लाचार छन् अखबारहरू र मौन छ बहुमतको सरकार
बिना कुनै झण्डा
हिडिरहेछ साँझमा आफन्तका शोकमग्न मनहरूको जुलुस

उसको गोजीमा थियो सुनौलो रङ्गको कलम
हातमा खोपेको थियो अर्धाङ्गीनीको नाउँ
छातीमा थियो चोटको निसाना र ऊ बोल्थ्यो स्वाधीनताको उखान
उसलाई कसैले देख्यौ कि ?

प्रतिक्रिया