Edukhabar
मंगलबार, ११ बैशाख २०८१
विचार / विमर्श

नेता ज्यु छोरालाई के बनाँऊ ?

सोमबार, ३० फागुन २०७३

चालु बर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम सुन्दा बुबा, आमा र मेरो खुसीको सिमा नै थिएन ।

तिन तहको निर्वाचन, शैक्षिक बेरोजगारलाई ऋणको व्यवस्था, कृषिमा अनुदान र ऋण, गाविस र नगरपालिकामा थप अनुदान, सामाजिक सुरक्षामा शत प्रतिशत बृद्धि जस्ता कार्यक्रमले ल्याएको खुसी आज सम्म आइपुग्दा अपेक्षाकृत परिणाम आउन सकेको छैन ।

सधैको हिउँदका छ महिना भारतको उत्तर प्रदेशमा रोजीरोटीका लागि कामको खोजीमा जाने बुबा यस बर्ष चुनावमा भोट हाल्न पाइने आस र समयमै बजेट आएका कारण जिल्लामा संचालन हुने भौतिक पुर्वाधारका योजनामा काम गर्ने पाइने भरोसामा यसपालीको हिउँदमा  भारत जानु भएन ।

उमेरले तिन बिस पार गर्दा बुबाको दैनिकी हातमुख कसरी जोर्ने भन्ने मै बित्यो । सरकारले चुनाव घोषणा गरेको समाचार रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पढ्न र सुन्न पाइए पनि हुने वा नहुने के हो, कहिले हुने हो एकिन भएको छैन । गाँऊघरमा भौतिक पुर्वाधारका काम पहिलेकै गतिमा सञ्चालन भएका छन् । बेरोजगार युवाका लागि ऋणको व्यवस्थाका लागि नीति नै तयार नभएका कारण युवा बेरोजगारको आशा निराशामा परिणत हुने होकि भन्ने चिन्ता छ ।

सुख्खा खडेरी र सामुदायिक विद्यालयमा खस्किदो शिक्षाको गुणस्तरका बारेमा केहि दिन अघि घरको पेटीमा बसेर यस बर्षको बाँकी महिना कसरी कटाउने भनेर बुबा र म सरसल्लाह गर्दै थियौं । त्यस दिन विद्यालयका बालबालिकालाई राजनीतिक दलको कार्यक्रममा उपस्थिति बढाउनका लागि लगिएको रहेछ । छोरा  स्कुल विदा हुने समय भन्दा चाँडै आएर, राजनीति भनेको केहो ? भनेर सोद्धा के जवाफ दिने भनेर अक्कमक्कमा परियो ।

न त राजनीतिको बारेमा पढेको नत त्यो पेशा अँगालेको नत जानेको त्यै पनि सुनेको आधारमा रर्बड डहलका अनुसार  “राजनीतिकशास्त्र मानव संम्बन्धको दृढ नमुना हो,जसको सम्वन्ध शक्ति, शासन र प्राधिकरणसंग छ ।” भनेर सरल भाषामा सम्झाउने प्रयास गर्दै थिए सबै भन्दा राम्रो नेता को हो ? भनेर प्रति पश्न गरिहाल्यो । प्रश्नको आयाय बुझ्दा जनताको लागि काम गर्ने नेता कुन होला भनेर सोधेको हुनु पर्छ जस्तो लाग्यो । मैले सामुदायिक वनको तालिममा सहभागी हुँदा सुनेको परिभाषा “असल चरित्र, दुर दृष्टिकोण र जनतालाई विचार दिन सक्ने, सकारात्मक धारण र भावी योजना भएको व्यक्ति नै असल नेता हो” भनेर बुझाउने कोसिस त गरे तर गाविस देखि जिल्ला सम्म बहुदल हुदै लोकतन्त्र र गणतन्त्र सम्मका सबै दलका नेताको नाम सम्झेर उत्तर दिन खोज्दा साच्चीकै जनताको लागि काम गरेको नेता भेट्न मुस्लिक पर्यो ।

पार्टीका ग्रामिण तह देखि केन्द्रिय स्तरका नेताले जप्ने नारा जनताकै नाम हो । बाजुराको हकमा पञ्चायतकालिन नेता नरसिंह गिरीले घरखेत, श्रीमतिको गरगहना बेचेर विद्यालय देखि झोलुङ्गे पुल, बाटोघाटो, कोेल्टीको हवाई मैदान जस्ता उदाहरणीय काम गर्नुका साथै राज्य प्रति देखाएको इमान्दारिताका बारेमा बुबाले बताउनु भयो ।

नरसिंह गिरीकोे व्यक्तिगत जीवनी कतै पढ्न पाइन्छ की भनेर सोधीखोजी गर्दा कसैले पनि उहाँको बारेमा लेखेको रहेनछ । देशको लागि जनताले सम्झिने नाम भनेका वि.पि.कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णपशाद भटराई, मनमोहन अधिकारी, मदन भण्डारी र गिरिजाप्रसाद कोइरालाको बारेमा बताउने कोसिस गरे ।

अहिले गाविस देखि केन्द्रिय स्तरका नेता कार्यकर्ताले छोराछोरीको शैक्षिक भविष्य र आफ्नो अनुकुलता क्षेत्रीय र केन्द्रीय राजनीतिक प्रभाव बढाउनका लागि घरमा पुर्खौली सम्पत्ति, गाविसमा मतदाता नामावलि, जिल्लामा नागरिकताको रेर्कड बाहेक कुचो देखि कुकर सम्म ओसारेर शहर केन्द्रित भएका नेता कार्यकर्ताले जनताका आवश्यकता, सम्भावना र भावी योजनाको तयारी विना सात समुन्द्र पारीका पर्यटक ल्याएर सम्बृद्धिको प्रचारमा ब्यस्त छन् ।

जिल्लामा भएका नेता कार्यकर्ता जनताको सम्बृद्धिको योजना तयार गर्नुको साटो आफ्नो आर्थिक हैसियत सुर्धानमा बढी केन्द्रित रहेको पाइन्छ । सहकारी संचालक देखि निजि विद्यालयका संस्थापक, निमार्ण व्यवसायी, गैससका पधाधिकारी, उपभोक्ता समिति आदिमा तिनैको हालिमुहाली देखिन्छ ।  

वेलुका पाँच बजेपछि र विहान सात बजे अघि टिप्ने रेडियोमा चुनाव हुने समाचारले आमाको मन चंगा जस्तै हलुङ्गो भएको छ । अघिपछि पायक नपर्ने मेरो गाँऊमा चुनावताका सबै पार्टीका नेता कार्यकर्तालाई मेरो गाँऊ पाएक पर्नेे भएकोले आमा नेता कार्यकर्तालाई स्वागत गर्न पाइने आशाले खुसी हुनुभएको छ ।

पञ्चायत देखि लोकतन्त्रमा चुनावी प्रचारमा आएका सबै नेताको नाम प्रष्टै भन्नुहुन्छ ।  प्रचारमा आँउदा कुन नेतालाई कस्तो खाना मन पर्छ भन्ने सम्म जानकारी छ । यस पटकको चुनावी प्रचारमा आँउदा सुख्खा खडेरीले गर्दा गाँऊघरको भाषामा आफैले फलाएको, विकासे भाषामा लोकल र शहरिया भाषामा अर्गानिक खानाले स्वागत गर्न नपाइने भयो भनेर आमाले पिर गरिरहनु भएको छ ।

अघिल्लो चुनावको प्रचारमा आँउदा पार्टीका नेता कार्यकर्ताले बुबालाई पढेर मत दिनका लागि घोषण पत्र र केहि समस्या परेमा सम्र्पकका लागि आफ्नो नम्वर दिएर जानु भएको रहेछ । अघिल्ले शैक्षिक सत्रमा छोरा पढ्ने विद्यालयमा समयमै किताव नआउँदा सबै पार्टीका नेतालाई सम्र्पक गर्न खोज्दा नम्वर खोजी गर्ने क्रममा घोषणा पत्रको छेऊमा नम्वर लेखिएको रहेछ । घोषणा पत्रमा लेखिएका घोषणा कार्यान्वयन नभएपनि फोन नं ले सम्र्पक गर्न सजिलो बनायो ।

सरकारी कार्यालय जस्तो दश बजे अघि र पाँच बजे पछि काम नगर्ने नेपाल टेलिकमका दुर्गमका टावरका कारण सबैलाई सम्र्पक गर्न सकिएन जो संग सम्र्पक भयो उहाँबाट आश्वासन बाहेक केहि पाउन सकिएन । यस पटकको चुनावको प्रचारमा आएका पाहुनालाई कसरी स्वागत गर्ने होला भनेर आमालाई पिर परिरहेको छ ।

बुवालाई घर कसरी चलाउने भन्ने पिरलो छ ।

मलाई छोराछोरीको पढाई र बुढाबुढीको उपचार कसरी गर्ने भन्ने समस्याले सताई रहेको छ ।

चुनाव हुने नै भएमा मेरो गाँऊमा आँउन नछुटाउनु होला । चुनावमा यहाँहरुको स्वागतका लागि अघिल्लो बर्ष सुख्खा खडेरीमा पाएको बंगाली चामलको भात, भारतीय चनाको दाल, छोरीले विद्यालयमा पाएको तेलमा भुटेको केराऊको तरकारी र प्लाष्टिकको बोराको बिछयौना सहित कतारी कम्मलले स्वागत गर्न आतुर छौ ।

पञ्चायत, बहुदल, लोकतन्त्र हुदै गणतन्त्र सम्म पुग्दा पुर्वाधार विनाको मेरो गाँऊ नगरपालिका भएको  । मेरो भेडीगोठ देखि खरबारी नगरपालिका भएकोले हामी नगरबासी ।

देश र जनताको समृद्धिका लागि भन्दै माओवादी युद्धमा होमिएका भाई र बहिनी कक्षा पाँचको पढाई छोडेर सात बर्ष युद्ध लडेर सेना समायोजनमा अयोग्य भएको भाई अहिले कतारमा उट चराइ रहेको छ ।
बहिनी भारत उत्तर प्रदेशको सिमलामा स्याऊ बोक्ने काम गरिरहेकी छिन । शैक्षिक योग्यता कम भएपनि राजनीतिक चेतना बढी  भएर होला हिजोआज भाई र बहिनि विदेशमै बसेर  भोट हाल्न पाइने होकी होइन भनेर टेलिफोनमा सोधिरहेका छन् ।

गाँऊमा आम्दानीका स्रोत नभएपनि कतारबाट भाईले पठाएको पैसाले जसोतसो नगरपालिकाको कर तिर्नु नै पर्ने होला । मेरो गाँऊमा ३८ घर धुरीका ३६ जना बैदेशिक रोजगारीका लागि खाडी देशमा काम गरिरहेका छन् । बैदेशिक रोजगारीको लागि जो विदेशिएका छन, उनिहरुले दश बर्षे जनयुद्धमा राम्रो संग पढ्न नपाएका कारण ४५ डिग्रि तापक्रममा  मजदुरी गर्नु परेको छ । उनिहरुले पठाएको पैसाले स्थानीय बजार चलायमान भएको छ । जिल्लामा कमाउने शिक्षक, कर्मचारी, व्यापारी, नेता कार्यकर्ताका छोराछोरीको शैक्षिक भविष्य र औषधी उपचारमा जिल्लाबाट बर्षेनी कराडौं रकम बाहिर गइरहेको छ ।

गाँऊघरमा चुनावको माहोल बढेर होकी छोराले नेता बन्ने इच्छा जाहेर गरेको छ । हिजोआज पढ्नुको साटो दुइचार जना साथीहरु बटुलेर घर छाउनका लागि ल्याएको निगालाको लठ्ठी, पहिलो त्रैमासिक परिक्षाताका मिलेका किताव र कापीको पाना च्यातेर झण्डा सहित नारा जुलुस गर्नमा रमाइ रहेको छ ।

अब देखि परीक्षामा फेल भइदैन भन्ने हल्लाले पो हो की !

टेलिभिजनमा सिरियल, कार्टुन, हाँस्य कार्यक्रम हेर्नुको साटो समाचारमा बढी ध्यान दिन्छ । नेताले भाषण, उदघाटन, शिलान्यास र प्रशिक्षण जस्ता कार्यक्रममा बढी समय दिएको देखेर होला, उसको वालरुची नेता बन्नेमा झुक्र्दै छ ।

मेरो चाहना छोरालाई कुशल प्रशासक बनाउने हो । प्राथमिक तहमा पढ्ने छोराले बाह्खरि राम्रोसंग लेख्न र पढ्न जान्दैन ।

शिक्षकले पढाउनुको साटो पार्टीका कार्यक्रममा बढी समय दिएको पाइन्छ । म पढ्ने बेलामा विषयगत शिक्षकको अभावमा नेपाली पढाउने सरले अंग्रजी पढाएका कारण अहिले अंग्रजीमा निवेदन लेख्न पसिना छुट्छ । संस्कृत पढाउने गुरुले गणित पढाएका कारण तिन पटक प्रबेशिका परिक्षा दिनु परेको थियो । अहिले पनि अवस्था उस्तै छ ।

सामाजिक पढाउने सरले अंग्रेजी पढाइरहनु भएको छ । विद्यालयमा विषयगत शिक्षकको ठाँऊमा पार्टीगत शिक्षकको संख्या बढी छ । यहि पढाईले भोलीको राष्ट्रिय स्तरको प्रतिप्रधामा पास हुन्छ कि हुदैन थाहा छैन ।
बुबाले नातीलाई किसान बनाउने इच्छा प्रकट गर्नु भएको छ । राज्यले उपयुक्त कृषि नीति, कृषि कर्जा,मल बिऊ, सिंचाइमा अनुदान, उत्पादनको सुनिश्चिता, ढुवानी अनुदानका कार्यक्रममा ठोस पहल नभएका कारण बुबाको योजनाले सार्थकता पाँउछ की पाँउदैन हामी अन्यौलमा नै छौं ।

सकारात्मक कामका लागि वालकको इच्छा अनुसार अभिभावकले लगानी र वातावरण दिनु मेरो कर्तव्य हो । हाम्रो देशमा पार्टी भित्रपनि विभिन्न गुट उपगुट, पार्टी फरक भएपनि नेताले देखाउने चरित्र र व्यवहार  एकनासको भएकोले भोलीका दिनमा छोराले हजुरहरुबाट सिक्ने पाठ पनि त्यहि भएका कारण हामीमा अन्यौल भएकोले छोरालाई के बनाँउदा उपयुक्त होला ?

(जगन्नाथ ९, बाजुराका जोशी त्रिभुवन विश्वविद्यालयमा शैक्षिक योजना तथा व्यवस्थापनका विद्यार्थी हुन ।)

प्रतिक्रिया