Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षकको ढाँट छलमा मन्त्रालयको निर्णय, एकै जनाबाट ११ लाख असुल

विहीबार, ०३ चैत्र २०७३

काठमाडौं - एक जना शिक्षकले आफ्नो सेवा अवधिभर विद्यार्थीलाई कति पटक सम्म झुट कुरा नबोल्न सिकाउँछन् होला  !

पक्कै पनि यो गनिसाध्य विषय हैन । किन भने शिक्षक भनेको कुनै सामान्य ब्यक्ति हैन, समाजमा उसको विशिष्ठ स्थान छ । विद्यार्थीलाई सक्षम र समाजलाई उन्नत बनाउने मुख्य पात्र शिक्षकको भूमिका ब्याख्या गर्न निकै नै हम्मे पर्छ । यही कारण समाजमा शिक्षकको महत्व र गरिमा बेग्लै छ ।

तर कहिले काँही केही यस्ता शिक्षक पनि फेला पर्छन् जसले आफ्नो ब्यक्तिगत हितका खातिर निकै ठूलो झुट बोल्छन् । अनी यस्तै शिक्षकका कारण समग्र शिक्षकको मान मर्दन भईरहेको छ ।

यस्तै एक जना शिक्षकको झुटो कृयाकलाप सावित गर्न शिक्षा मन्त्रालयलाई ८ महिना लागेको छ । 

प्रसंग हो सेवा निवृत्त हुँदा पेश गरेको कागजात र नागरिकतामा उल्लेख जन्म मिति ।

सप्तरीको राजविराज ४ स्थित केसो अनिरुद्धवती माविका निमावि तृतीय श्रेणीका शिक्षक खुसीलाल दास २०७१ चैत २१ गते निवृत्त भए ।

तर दासले विभिन्न मितिमा तीन फरक फरक जन्म मिति भएको नागरिकता लिएको फेला परेपछि विद्यालय शिक्षक किताबखानाले उनको सही जन्म मिति कुन हो सम्बन्धित निकायबाट छानविन गरी निकास दिन भन्दै गत असार ३ गते शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा शिक्षा मन्त्रालयले छानविन गरी गत फाुगन १० गते उनको खास जन्म मिति किताबखानालाई उपलब्ध गराएपछि दासले बुझेको धेरै रकम किताबखानाले असुल गरेको छ ।

दासले यो अवधिमा ११ लाख ५९ हजार ४७  रुपैंया ३३ पैसा धेरै बुझेकोले उक्त रकम असुल गरेर नयाँ पेन्सन पट्टा निर्माणको काम अघि बढाएको किताबखानाले जनाएको छ । शिक्षक सिटरोलमा दासको जन्म मिति २०११ साल माघ ११ गते उल्लेख छ ।

निवृत्त हुँदा किताबखानामा उनले बुझाएको अर्को अभिलेखमा २०२७ साल माघ ५ गते उनले नागरिकाताको प्रतिलिपी लिदाँ उनको उमेर १६ वर्ष उल्लेख छ । यसका आधारमा पनि उनको जन्म मिति मिल्दैन । एउटै ब्यक्तिको जन्म मिति कतै ७ साल कतै ११ साल कतै १७ साल हुँदा निर्णय गर्न गाह्रो भएको भन्दै किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले मन्त्रालयमा लेखि पठाएका थिए ।

नागरिकता बाँड्ने निकाय एउटै हुँदा पनि एकै जनाको नागरिकता ३ वटा सम्म हुनु निकै आश्चर्यको कुरा भयो, शिक्षक जस्तो गरिमाको पेशामा रहेका ब्यक्तिबाट उस्तै झुटो विवरण आयो, हामीलाई त कामै गर्न गाह्रो भएपछि माथिल्लो निकायमा लेखि पठाएका थियौं ढुङ्गानाले भने सचिव ज्यूबाट प्राप्त पत्रका आधारमा उनको खास जन्म मिति कायम गरी धेरै रकम असुल र नयाँ पेन्सपट्टा निर्माणको काम शुरु भएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सप्तरी लगायतका निकायहरुमा आवश्यक छानवीन गरी दासको जन्म मिति २००७ साल माघ २१ गते कायम गरेको पत्र किताबखानामा पठाएको छ । जतिवटा नागरिकता लिएको भएपनि निवृत्तीभरण प्रयोजनका लागि मन्त्रालयले पठाएको मितिलाई आधार मानि कारवाही अघि बढाएको ढुङ्गानाले बताए ।

यो बर्ष मात्रै २ करोड धेरै असुल

दास त एक प्रतिनिधि पात्र मात्रै हुन् गलत विवरण बुझाएर धेरै रकम बुझ्ने शिक्षकको संख्या ठूलो छ । यही आर्थिक वर्षमा मात्रै यस्ता १ सय २८ शिक्षकबाट किताबखानाले २ करोड ४९ लाख ८ हजार ९ सय ६३ रुपैंया असुल गरेको छ ।

गत फाुगन महिनामा मात्रै एकै जना शिक्षकबाट ११ लाख ८१ हजार ५ सय ६९ रुपैंया असुल गरिएको किताबखानाले जनाएको छ । सिराहको श्रीमावि लगढी गडियानीका शिक्षक गोवर्धन दासबाट उक्त रकम असुल गरिएको हो । औषधी उपचार वापतको रकम, विदाको रकम तथा वितेको अवधिको पेन्सनबाट उक्त रकम असुल गरिएको किताबखानाले जनाएको छ । औषधि उपचार वापतको २ लाख ७० हजार ५ सय ७६ रुपैंया तथा विरामी विदाको ३८ हजार ८ सय ३३ गरी नपुग ८ लाख ७२ हजार १ सय ६० रुपैंया निवृत्तीभरण कार्यालय मार्फत् उनले बुझ्ने पेन्सनबाट उसुल गरिएको हो ।

प्रतिक्रिया