Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अझै एसएलसी !

विहीबार, ०३ चैत्र २०७३

काठमाडौं - श्वेता अधिकारीले कक्षा १० पुग्ने बित्तिकै यो वर्ष एसएलसी नभई एसईई जाँच दिने सुनेकी थिईन् । त्यही अनुसार विद्यालयले पनि तयारी गराइएको थियो । तर, जब बिहीबार ७ बजेतिर उनलाई जाँच दिने ठाउँमा छिर्ने मुख्य पत्र ‘प्रवेश पत्र’ थमाइयो, उनी छक्क परिन् ।

‘एसईई दिने भनेका थियौं, हामीलाई त एसएलसीकै इन्ट्रान्स कार्ड दिइयो ।’ उनले भनिन् । उनीमात्र नभएर उनका अन्य साथीसंगातीहरु पनि एसईई भनेर एसएलसीको प्रवेश पत्र दिएपछि सुरुमा केही क्षण अलमलमा परे । ‘यस्तो अलमल हुनुमा परीक्षा नियन्त्रण कार्यालयको कमजोरी हो ।’ परीक्षा सञ्चालन भइरहेको एक केन्द्रका निरीक्षकले भने ।

उनले परीक्षाको अभिमुखीकरणमा एसईई परीक्षालाई अन्य कक्षाका वार्षिक परीक्षाका रुपमा जिल्ला शिक्षा कार्यालयले बताए पनि शिक्षा कार्यालयले नै उपलब्ध गराएको प्रवेश पत्रमा भने एसएलसी नै उल्लेख हुँदा परीक्षाबारेमा विद्यार्थीले परिवर्तनको आभाष नगरेको बताए ।

‘धेरै विद्यार्थी यो परीक्षालाई एसईई नभनी एसएलसी नै भन्छन् कारण सोध्दा हामीलाई दिइएको प्रवेश पत्र नै एसएलसीको छ भन्छन् ।’ एक शिक्षक भन्छन् ।

हुन पनि शिक्षा ऐनमा भएको आठौं संशोधनसँगै कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेण्डरी एजुकेशन एक्जाम (एसईई) भने पनि एसईईको मर्म र महत्व शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई, बोर्डले परीक्षा नियन्त्रण कार्यालयलाई, परीक्षा नियन्त्रण कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई, शिक्षा कार्यालयले विद्यालयलाई, विद्यालयले शिक्षक र शिक्षकले विद्यार्थीलाई बुझाउन नसक्दा यस्तो अवस्था आएको हो ।

यतिमात्र मात्र नभएर परीक्षा नियन्त्रण कार्यालयले पनि आफूलाई दिइएको जिम्मेवारीमा परीक्षा सञ्चालन गर्ने, प्रश्नपत्र बनाउनेका अलावा आफ्नै लोगो लागेको प्रवेश पत्र दिने विषयमा ध्यान दिन नसक्दा परीक्षा नियन्त्रण कार्यालयबाट कमजोरी भएको प्रष्ट देखिएको छ ।

जिल्ला शिक्षा अधिकारीहरुले भने विद्यार्थीलाई एसईईको प्रवेश पत्रको सट्टा एसएलसीको पर्नुमा शिक्षा कार्यालयको नभएर पनिकाको गल्ती रहेको बताउँछन् । ‘हामीलाई त पनिकाले जुन फारम भर्न निर्देशन दिएको हो, त्यही भराएका हौं ।’ एक जिशिअले भने । जिल्ला शिक्षा अधिकारीहरुले कक्षा १० को परीक्षामा सहभागी हुने विद्यार्थीलाई असार लागेसँगै फारम भराइएको कारण पनि पुरानै प्रवेश पत्र परेको बताए ।

प्रतिक्रिया