Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

परीक्षार्थीमाथि ‘ब्रोसर आतंक !’

सोमबार, ०७ चैत्र २०७३

काठमाडौं - एसईई परीक्षा दिएर बाहिरिने परीक्षार्थीलाई परीक्षा केन्द्रको मुल ढोका छिचोल्न हम्मे हम्मे पर्छ । परीक्षा केन्द्र वरीपरी ब्रिजकोर्स सञ्चालक, इन्ष्टिच्युट र कलेजहरुको प्रचार सामग्री ब्रोसर बाँड्नेहरुको ताँती नै देखिन्छ । परीक्षा केन्द्रहरुका मूल ढोका देखि बाटो सम्म लस्करै बसेर ब्रोसर बाँडिरहेकाहरुको भिड देख्दा सानो तिनो मेलाकै झल्को मेटिन्छ ।  यसरी व्रोसर बाँड्न इन्ष्टिच्युट, कलेजहरुले आआफ्ना कर्मचारी, विद्यार्थीमात्र नभएर विभिन्न व्यक्तिहरुलाई भाडामा लिएर समेत खटाउने गरेका छन् ।

एसईईपछि फुर्सदमा हुने विद्यार्थीलाई लक्षित गरेर इन्ष्टिच्युट र कलेजहरुले विभिन्न खालका आर्कषक ब्रोसर बनाएर लोभ्याउने गरेका छन् । उनीहरुले आफ्नो इन्ष्टिच्युटमा परीक्षार्थीलाई तान्नका लागि ब्रोसरसँगसँगै क्यालेण्डर, नोटकपि, डटपेन तथा छुट सहितको सामग्री थमाउने गरेका छन् ।

परीक्षा सकाएर गेटबाट निस्किने बित्तिकै ब्रोसर दिने व्यक्तिहरुले घेरेर बोक्नै नसक्ने गरी थमाइदिने गरेको विद्यार्थी बताउँछन् । ‘के हो भन्ने नै थाहा नभइकन जर्बजस्ती थमाइदिने गरेका छन्’, एक जना विद्यार्थीले भने ।

परीक्षाको तनावबाट मुक्त नहुँदै थमाइदिने ब्रोसरको कुनै अर्थ नभएकोले त्यो काम बन्द गर्नका लागि कुनै पक्षले ध्यान नदिएकोमा विद्यार्थी ज्योति दाहालको गुनासो छ । ‘परीक्षा केन्द्रबाट बाहिरिने बित्तिक्कै त्यहाँ त मेला जस्तै हुन्छ, ब्रोसर बाँड्नेहरुको प्रतिस्पर्धा नै हुन्छ, नाइँ, नाइँ भनेर छल्न खोज्दा पनि पछिपछि लागेरै थमाइदिने गर्छन् ।’ उनले भनिन् ।

यसरी बाँडिएका ब्रोसरमध्येमा बढी ब्रिजकोर्स र नर्सिङ पेशासँग सम्बन्धित रहको उनको अनुभव छ । अर्का परीक्षार्थी राज घिमिरेले त्यसरी बाँडिएका ब्रोसरको काम नभएको बताउँदै धेरै विद्यार्थीले त्यसको सदुपयोग नगर्ने बताए । ‘थोरैले मात्र चासो देखाएर पढ्छन्, हेर्छन् तर प्रायःले बाटोमा च्यातेर फाल्छन्’ उनको भनाइ छ ।

परीक्षार्थीले इन्ष्टिच्युट र कलेजहरुले फजुल खर्च गर्ने गरेको बताएका छन् । परीक्षार्थीलाई यसरी ब्रोसर बाँड्दा पनि सम्बन्धित निकायले कुनै कारबाही र नियन्त्रण गर्न नसकेको सम्बन्धित विभिन्न विद्यालयका शिक्षक एवं प्रिन्सिपलहरुको भनाई छ  । ‘कलेजहरुले विभिन्न तरिकाले विज्ञापन गर्दा पनि त्यसलाई नियन्त्रण गर्न सकेनन् ।’ भक्तपुरको वागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छाले भने ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले आफ्नो व्यापारिक प्रवद्र्धनका लागि कुनै पनि इन्ष्टिच्युटले स्वीकृति नलिएको बताए । कलेजले विद्यार्थीलाई आर्कषण गर्नका लागि ब्रोसरमार्फत विज्ञापन गर्न नपाइने नियम भए पनि अधिकांश निजी कलेजहरुले नियम उलंघन गरेको उनले बताए । तर यस्तो काम गर्नेहरुलाई हुने कारबाही बारे भने शिक्षा मन्त्रालय र मातहतका निकाय कानमा तेल हालेरै बसेका छन् ।

प्रतिक्रिया