Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

पाठ्यपुस्तकमा छुट नदिने, अभिभावक मर्कामा

बुधबार, ०९ चैत्र २०७३

काठमाडौं - पुस्तक नीति नआउँदै बजारमा यसको प्रभाव देखिएको छ । पुस्तक व्यवसायीहरुले आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक खरिद गर्दा छुट नदिने भएपछि शिक्षा मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको पुस्तक नीतिको प्रभाव देखिएको हो । विगतमा पाठ्यपुस्तक खरीद गर्दा अभिभावक, विद्यार्थी तथा पाठकलाई दिदै आएको छुट रकम शैक्षिक सत्र २०७४ बाट नदिने भएसँगै आउन बाँकी पुस्तक नीतिको प्रभाव देखिँदा अभिभावकहरु ठगिने सम्भावना बढेको छ ।

शैक्षिक सत्र २०७४ मा प्रयोग गरिने पाठ्यपुस्तकको मूल्यमा गिरावट आएको भन्दै व्यवसायीहरुले आफूहरुले विगतमा दिदै आएको छुट यो पटकबाट नदिने बताएका छन् । ‘कसरी दिन सकिन्छ र, हामीलाई आउने मार्जिन नै घटेर आएको छ, पहिला २ सय मूल्य उल्लेख हुने पुस्तकमा अहिले १२५ लेखिएको छ ।’ प्रतिप्रश्न पुस्तक पसल सञ्चालक राधेश्याम सुवालले भने । उनले प्रकाशकहरुले नै पाठ्यपुस्तकको मूल्य घटाएर बिक्री गर्न भनेकोले आफूले चाहेर पनि छुट दिन नसक्ने बताए । उनले विगतमा अभिभावक हेरी १० देखि २० प्रतिशत छुट दिँदै आएको बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदीले पनि जिल्लास्थित पुस्तक तथा स्टेशनर व्यवसायी संघहरुले पनि पुस्तकमा उल्लेख गरिएको मूल्यमै पुस्तक बेच्ने र त्यसमा अभिभावकलाई छुट नदिने निर्णय गर्न थालेको बताउँदै आफ्नो कारण भन्दा सरकारकै कारण पाठ्यपुस्तकमा छुट दिन नसक्ने अवस्थामा पुगेको बताए । ‘बजारमा जुन पुस्तकहरु आएका छन्, ती पुस्तकहरुमा विगतमा प्रकाशकहरुबाट दिइआएको कमिशन घटाएको कारणबाट खुद्रा बिक्रेताहरुले छुट नदिने भएका हनु्, सरकारले पनि मूल्य मापदण्ड तोकिसकेपछि किताबमा प्रिन्टेड मूल्यमा बेच्ने अभियान सुरु गर्नुभएको छ ।’ उनले भने ।

उनले सरकारले अभिभावक, पाठक र विद्यार्थी नठगियून भनेर मूल्यको मापदण्ड लगाएको बताउँदै मूल्यमा एकरुपता आएपछि कोही पनि अभिभावक नठगिने बताए । उनले पहिले दिँदै आएको छुट दिँदा व्यवसायीहरु घाटामा जाने दाबी गरे । सोही सन्दर्भमा अर्का पुस्तक व्यवसायी राम मानन्धर भन्छन्, ‘पुस्तकको मूल्य देखेरै अभिभावकहरु खुसी हुन्छन्, उनीहरुले छुट माग्दैनन् कारण यो पटक किताबको मूल्य निक्कै घटेर आएको छ ।’

व्यवसायीहरुले पाठ्यपुस्तकमा तोकिएको मूल्यमा बेच्दा कोही पनि ठगिने अवस्था नआउने दाबी गरेका छन् । पाठ्यपुस्तकमा अभिभावकहरु ठगिए भन्ने गुनासो बढेपछि सरकारले २०६९ सालमा पुस्तक मूल्य समायोजन समिति बनाएको थियो । सो समिति र पुस्तक व्यवसायीहरुबीच पुस्तकको मूल्य निर्धारणका लािग २०७० सालमा सम्झौता भएको थियो । सो अनुसार रंगिन किताबका लागि प्रतिपेज एक रुपैंया पैतालिस पैसा तोकेको थियो । सोही मापदण्डअनुसार पुस्तकको मूल्य राखिएको कारण छुट दिन नसक्ने व्यवसायीहरुको भनाइ छ । ‘सम्झौतापछि पनि बैंकको ब्याजदर बढेको छ, कागतको मूल्य बढेको छ, तैपनि प्रकाशकहरु भने सरकारले तोकेको मूल्यमा बेच्न बाध्य छौं, यसैले हामी छुट दिन नसक्ने भएका हौं ।’ वरिष्ठ उपाध्यक्ष सुवेदीले भने ।

उनका अनुसार पुस्तकको मूल्य समायोजनको क्रममा झण्डै २५ देखि ३५ प्रतिशतसम्म पुस्तकको मूल्य घटेको छ । सो सन्दर्भमा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले पुस्तकमा छुट नदिने सन्दर्भमा आफूलाई जानकारी नभएको बताउँदै अभिभावक ठग्ने किसिमबाट हुने व्यापारका विरुद्ध अभिभावक संघ लाग्ने बताए ।

प्रतिक्रिया