Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

शिक्षकमाथि गोली प्रहार

विहीबार, १० चैत्र २०७३

काठमाडौं १० चैत/जिल्लाको विश्रामपुरमा मंगलबार राति स्थानीय शिक्षकमाथि गोली प्रहार भएको छ । घरमा सुतिरहेको अवस्थामा वृन्दावन गाउँपालिका ३ का रामएकवाल यादवलाई अपरिचित व्यक्तिले गोली प्रहार गरेका हुन् । झ्यालबाट प्रहार गरेको गोली लागेर शिक्षक यादव गम्भीर घाइते छन् ।

उनका भाइ दीपेन्द्रका अनुसार टाउकामा गोली लागेको छ । घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यादव मकवानपुरको कमला मावि डाँडाखरका विज्ञान विषयका शिक्षक हुन् । एसईई परीक्षामा सहभागी छोरी अमृतालाई सहयोग गर्न बिदामा घर आएका थिए । उनलाई कसले र किन गोली हान्यो खुलेको छैन । अस्थायी प्रहरी चौकीका असई रवि लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
घटनाबारे जानकारी लिन प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्ल, अनुसन्धानका एसपी नवीन अधिकारीलगायतको टोली पनि घटनास्थल पुगेको थियो । घटनापछि घाइते शिक्षककी पत्नी प्रमिलादेवीलगायत परिवारका सदस्य स्तब्ध छन् । झ्याल नजिकै सुतेका यादवको कन्चटमा एक राउन्ड गोली लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए । ‘गोली प्रहार गर्ने व्यक्तिको अहिलेसम्म पहिचानन हुन सकेको छैन । प्रहरी अनुसन्धानमै छ,’ उनले भने ।

हतियारसहित पक्राउ
प्रहरीले जिल्लाकै मठिया ५ बाट मंगलबार राति हतियारसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला महुआही ग्राम ११ बस्ने रञ्जन साह र जलान्धर साहलाई भारतीय नम्बरप्लेट डी.एल. ३ बी.ए.एस ९६५९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा प्रहरीले उनीहरूको साथबाट यूएस लेखेको स्वचालित पेस्तोल एक थान र त्यसमा लाग्ने ३ थान गोलीसहितको म्यागजिन र एक थान नलकटुवा पेस्तोल तथा त्यसमा लाग्ने ५ थान गोलीलगायत बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ । गस्तीका क्रममा रहेको प्रहरी टोलीले शंका लागि जाँच गर्दा हतियार फेला पारेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
‘प्रारम्भिक अनुसन्धानबाट हतियारसहित पक्राउ परेकाहरू हातहतियार बिक्री गर्ने गिरोहका व्यक्ति भएको बुझिएको छ,’ प्रउ पोखरेलले भने ।

पवन यादबले कान्तिपुरका लेखेको खबर ।

प्रतिक्रिया