Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

स्थानीय चुनावको प्रभाव, शिक्षकलाई उम्मेद्बारको अफर !

शुक्रबार, ११ चैत्र २०७३

काठमाडौं - आसन्न बैशाख ३१ गतेको स्थानीय निर्वाचनमा उम्मेद्वार हुन ईच्छा गर्ने शिक्षकहरुको संख्या बढ्ने देखिएको छ । पेन्सनको लागि आवश्यक सेवा अवधि २० बर्ष पुगेर पनि शिक्षणमै रहेकाहरु चुनावमा उम्मेद्वार हुने आकांक्षाका कारण राजिनामा दिने सोचमा पुगेको फेला परेको हो ।

दिनमा दुई चार जना शिक्षकहरु जागिर छाड्नु पर्यो भन्दै सल्लाह माग्न आउने विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए ।

'गाउँ घरमा जान्ने सुन्ने भनेकै शिक्षक त हुन्, उनीहरुलाई विभिन्न दलका नेताहरुले चुनावमा उम्मेद्वार बनाउँछु भन्न थालेछन् क्यारे हिजो आज दैनिक दुई चार जना सरहरु जागिर छाड्न पर्यो भन्दै आउन थाल्नु भएको छ' उनले भने, 'हाम्रा शिक्षकहरु अबको चुनावमा उम्मेद्बार भएर मेयर उपमेयर हुने बाटो खोज्दै छन् ।'

स्थानीय स्तरमा भिजेको र सबैले चिन्ने भएकाले राजनीतिक दलहरुले पनि उम्मेद्वार बनाउन पाए फाईदा पुग्ने ठानेर शिक्षकहरुलाई अफर गरेका हुन सक्ने ढुङ्गानाको अड्कल छ । २० बर्षमै पेन्सन भएपछि अर्को पेशामा लाग्न सक्ने समय समेत हुने भएकोले शिक्षकले यो बाटो रोजेको हुन सक्ने उनी बताउँछन् ।

सेवा अवधि २५ वर्ष पुगेपछि औषधि उपचार बापत थप १५ प्रतिशत र २५ बर्ष भन्दा बढि भएपछि २० प्रतिशत थप पाउने ब्यवस्था छ । यो भन्दा धेरै जति बर्ष सेवा गरेपनि औषधि उपचार बापत थप सुविधा प्राप्त नहुने बारेमा आफूले सल्लाह दिने गरेको उनले बताए ।

चालु आर्थिक बर्षको ८ महिनामा १ हजार ८ सय ९७ जना शिक्षक रिटायर्ड भएका छन् । यी मध्ये सबै भन्दा धेरै मंसिरमा ३ सय ८६ जना र सबै भन्दा कम असोजमा १ सय ६५ जना मात्रै रिटायर्ड भएका निवृत्तभरण कार्यालयले जनाएको छ । दशैं भत्ता लगायतका सुविधा लिएर रिटायर्ड हुने कारण उक्त महिनामा धेरै शिक्षक रिटायर्ड भएका हुन् । त्यस पछि सबै भन्दा धेरै शिक्षक चुनाव घोषणा भएपछि रिटायर्ड हुन सक्ने अड्कल छ ।

यो आर्थिक बर्षको साउनमा १ सय ७९, भदौमा १ सय ८९, कात्तिकमा १ सय ७८, पुसमा ३ सय ६४, माघमा २ सय ५८ र फागुनमा २ सय ४९ जना शिक्षक रिटायर्ड भएका छन् ।

पछिल्लो छ बर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक बर्ष ०६७/६८ मा २ हजार १ सय २२, ०६८/६९ मा २ हजार ६ सय ९२, ०६९/७० मा ३ हजा ३ सय ७८, ०७० /७१ मा ३ हजार ४०, ०७१/७२ मा ३ हजार ७ सय ६२, ०७२/७३ मा ३ हजार ३५ जना शिक्षक रिटायर्ड भएका छन् ।

प्रतिक्रिया