Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

सोमबार, १४ चैत्र २०७३

काठमाडौं १४ चैत/विद्यालय नै फोरेर प्रश्नपत्र ‘लिक’ भएपछि तनहुँमा सोमबारबाट सुरु हुने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । काहुँ शिवपुरको सहिदगंगा माविको दराजमा राखिएको प्रश्नपत्र परीक्षा सञ्चालन गर्ने अघिल्लो दिन आइतबार खोलिएको अवस्थामा भेटिएपछि जिल्ला शिक्षा कार्यालयले सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

कार्यालयले प्रश्नपत्रको ‘सिल’ खोलिएका विषय नेपाली, गणित, सामाजिक तथा नैतिक शिक्षाको परीक्षा चैत २२ गतेबाट नयाँ प्रश्नपत्र छापेर गरिने जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले बताए । चैत १४, १५, १६ र २० गतेका लागि तोकिएको परीक्षा २२ गतेपछिका लागि सारिएको छ ।

प्रश्नपत्रका पोका खोलिएको देखेपछि विद्यालयका शिक्षकले जिल्ला शिक्षा कार्यालयमा खबर गरेका थिए । ‘परीक्षाको प्रचलित मान्यताअनुसार गोपनीयता नदेखिएकाले प्रश्नपत्र खोलिएको विषयको परीक्षा सार्ने निर्णय गरेका हौं,’ जिल्ला शिक्षा अधिकारी श्रेष्ठले भने ।

जिल्लास्तरीय आधारभूत परीक्षा समितिले जिल्लाभरका विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पार्छ । कार्यालयले प्रश्नपत्रका नखोलिएका पोकाको परीक्षा भने यथावत् गर्ने निर्णय गरेको छ । स्थगित विषयका लागि प्रश्नपत्र बनाउने र छाप्ने काम थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्लाभरबाट सात हजार आठ सय २० परीक्षार्थीले जिल्लास्तरीय परीक्षा दिँदै छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि हालसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया