९० प्रतिशत ल्यायो, सन्तानको वाह/वाह ! ७० ल्यायो, कमजोर !


आइबी (इन्टरनेशनल बिजिनेश) मा फोनिक्स युनिभरसिटीबाट पिचडी गर्दै रहेका कट्वाल मनोविज्ञानका विद्यार्थी हुन् । सिंगापुरको एडिआरसीबाट एमआई कन्सल्ट्यान्टको रुपमा तालिम लिएका छन् भने त्रिभुवन विश्वविद्यालयबाट एकवर्षे साइकोलोजिकल काउन्सिलिङ कोर्स पनि  । विगत ६ वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न उनले अभिभावक, विद्यार्थी र शिक्षकलाई मनोवैज्ञानिक परामर्श दिँदै आएका छन् । हरेक बच्चामा हुने प्रतिभा र उसमा हुने व्यवहारसम्बन्धी गतिविधित्रलाई अध्ययन गरेर डिकोड गरि अभिभावकलाई समेत परामर्श दिने काम अर्थात् मल्टिपल इन्टलिजेण्ट कन्सल्ट्यान्ट (एमआई) कट्वालसँग हरिसुन्दर छुकांले गरेको कुराकानी :

- नेपालमा अभिभावक शिक्षाको अवस्था कस्तो पाउनुभएको छ ?

पढेलेखेका अभिभावकहरु मैले प्रशस्त पैसा खर्च गरेको छु, राम्रो स्कुल पठाएको छु, स्कुल बुक, कापी, कलम र डे«स भने जस्तो किनिदिएको छु, त्यो भन्दा अलावा उसलाई प्रशस्तै चकलेट, क्याटवरी, आइसक्रिम ख्वाएको छु, अब मेरो कर्तव्य सकियो भन्ने बझ्ने अभिभावकहरु पनि छन् ।

सामान्य आर्थिक हैसियतकाहरुमा कस्तो छ भने मैले धेरै पढेको छैन, मेरा छोराछोरीले के पढ्ला र ? मैले राम्रो स्कुलमा हाल्न पाएको छैन, मेरो बच्चाको शिक्षा कस्तो होला र ? यसरी आर्थिक रुपमा जो कमजोर छन्, ती अभिभावकहरुलाई पनि डर छ, मैले सन्तानलाई राम्रो बनाउन सक्दिनँ कि भन्ने, अथाव म सक्षम छैन भन्ने ।

तर, हाम्रो अनुरोध के छ भने धनी, गरिब हुनु आफ्नो ठाउँमा छ तर बच्चालाई संस्कार दिनुपर्छ । संस्कार धनीले मात्र दिने होइन । संस्कार भनेको मीठो चकलेट मात्र होइन । संस्कार भनेको  आइसक्रिम मात्र होइन । संस्कार भनेको महिनाको दुईचार ठाउँ घुमाउन लानु मात्रै होइन । संस्कार त्यो हो, जसले सही के हो ? गलत के हो ? उसले कुन समयमा पुग्दा बच्चाले के गर्नुपर्छ ?  परिवारप्रति, यसका आमाबुवाप्रतिको दायित्व के हो ? कतव्र्य के हो ? आमाबुवासँग कस्तो व्यवहार गर्ने, शिक्षकसँग कस्तो व्यवहार गर्ने ? साथीभाइसँग कस्तो व्यवहार गर्ने ? आफूभन्दा सानोलाई कस्तो व्यवहार गर्ने ? आफूभन्दा ठूलालाई कस्तो सम्मान गर्ने ? भनेर जान्नु नै वास्तवमा संस्कार हो । त्यो संस्कार घरपरिवारबाट दिनुपर्छ । त्यो विद्यालयबाट पनि सिकाइरहेको छ, त्यतिले मात्र पुग्दैन, सचेत अभिभावक, जो आफै सक्षम छ, जो आफै स्वयम् विवेकी छ, अनुशासित छन्, त्यस्ता अभिभावकहरुका सन्तान पनि विवेकी र अनुशासित हुन्छन् ।

यसर्थ अभिभावक शिक्षा कार्यक्रमले अभिावकहरुलाई नै अनुशासित बन्न प्रेरित गर्छ । स्वयम् शिक्षित बन्न अभिप्रेरित गर्छ । शिक्षित भनेको विश्वविद्यालयको शिक्षा मात्र होइन । त्यो भन्दा अलावा ऊसँग ज्ञान, वुद्धि र विवेक हुनु नै वास्तविक शिक्षा हो । नेपालको सन्दर्भमा अभिभावक शिक्षा एकदमै जरुरी छ । अभिभावकीय शिक्षाले अभिभावकलाई सन्तानप्रतिको आफ्नो कर्तव्य र दायित्व मात्र नभएर आफ्नो पारिवारिक दायित्व, सामाजिक दायित्व पनि बहन गर्न सघाउँछ । यो खालको शिक्षा हरेक विद्यालयले अभिावकलाई दिनुपर्छ, हरेक नागरिकलाई दिनुपर्छ ।

- पहिलाभन्दा अहिलेका अभिभावकहरु शिक्षित भएका छन्,  आर्थिक स्तर पनि बढेको छ, यस्तो बेलामा पनि अभिभावक शिक्षा चाहिन्छ, चाहिन्छ भनिरहनुपर्नाका थप कारण चाहिँ के हो ?

पहिले हामीसँग अर्थात् नेपाल सरकारको पाठ्यक्रममा संस्कृत शिक्षा, नैतिक शिक्षाजस्ता व्यवहारिक शिक्षा दिने पाठहरु थिए । देशमा परिवर्तन भइरहँदा हामीले त्यो शिक्षालाई के अर्थमा परिवर्तन गर्यौं, त्यो थाहा भएन । अथवा त्यो शिक्षा, त्यो विषयलाई हामीले 'रिप्लेस' गर्यौं, र हामीले त्यसलाई बढी वैज्ञानिक शिक्षा दिने, उसलाई प्राविधिक शिक्षा दिने बहानामा ऊभित्र भएको मानवतालाई जगाउन बिर्सियौं, त्यसैले त्यस्ता विषयहरु, नैतिक शिक्षा, सामाजिक शिक्षा, संस्कृत शिक्षाले व्यक्तिको चरित्र, व्यक्तिको आचारण, व्यक्तिभित्रको मानवताको विकास गराउँथ्यो, अहिले बच्चा साइन्सको फर्मुला जान्ने भयो तर मानवताको फर्मुला जानेन ।

यसले गर्दा देशको विकास साइन्सले मात्र हुँदैन, म त भन्छु, देशको विकास मानवताले हुन्छ । साइन्सको विकासले पेस्तोल बनाउन सक्छ तर मानवता ऊसँग भएन भने उसले त्यो पेस्तोल जोकोही माथि प्रहार गर्न सक्छ । साइन्स सँगसँगै ऊसँग मानवता चाहन्छ । हो, हामीलाई स्वावलम्बी र आत्मनिर्भर हुने शिक्षासँगसँगै त्यो शिक्षा कहाँ प्रयोग गर्न सक्ने, कहाँ प्रयोग गर्न नहुने भन्ने शिक्षा पनि सिकाउनुपर्छ । अभिभावक र विद्यार्थी दुबैलाई नैतिक आचरण र अनुशासन, उसका बानी ब्यहोरा, नम्र बोलीचाली र समाज, परिवारप्रतिको कर्तव्यको बोध अभिभावक शिक्षाले गराउँछ । यो खालको शिक्षा हरेकलाई आवश्यक छ ।

- शिक्षा क्रमशः ह्रासोन्मुख हुनुमा पाठ्यक्रमको कमी भनेर भन्न खोज्नुभएको हो ?

पाठ्यक्रम त व्यक्तिले अथाव त्यो क्षेत्रमा काम गर्ने शिक्षाविद्, सरोकारवाला निकाय र व्यक्तिहरुले जस्तो बनायो, त्यस्तै बन्ने हो । पाठ्यक्रमको दोष होइन, पाठ्यक्रम कसैले निर्माण गर्ने दस्तावेज हो । त्यो दस्तावेज बनाउने व्यक्तिहरुमा चेतना हुनुपर्छ, त्यो चेतना के हो भने उसलाई विज्ञानको शिक्षासँगसँगै संस्कारको शिक्षा चाहिन्छ, ऊसँग आत्मनिर्भर हुने शिक्षासँगसँगै उसको आत्मबल बढ्ने शिक्षा चाहिन्छ, यो खालका पाठ्यक्रमहरु आवश्यक छ । हुन त अहिले यो खालका पाठ्यक्रमहरु औपचारिक÷अनौपचारिक रुपमा, लाइफ एजुकेशन, लाइफ स्किल, सफ्ट स्किल भनेर कोर्षहरु आएका छन् ।

सायद्, यसको अभाव महशुस गरेर त्यो क्षेत्रका विज्ञहरुले त्यस्ता विषयहरु ल्याउनुभएको छ, त्यो चाहिँ असाध्यै सराहनीय कार्य हो । त्यो लाइफस्किलले बच्चालाई एउटा असल मानव बनाउँछ । हामीलले सैद्धान्तिकसँगसँगै व्यवहारिक शिक्षा दिनुपर्छ । जीवनोपयोगी शिक्षा दिनुपर्छ । अझै पनि पाठ्यक्रममा खट्किएका विषयवस्तुहरु छन् । यो पाठ्यक्रमले खट्काएको विषयवस्तु र अभिभावकको चेतनाको स्तर कस्तो छ भने सन्तानले ९० प्रतिशत ल्यायो, सन्तानको वाह÷वाह ! हुने,  सन्तानले ७० प्रतिशत ल्यायो, सन्तानलाई कमजोर ठानिने जुन चलन छ, त्यो पनि अन्त्य गर्नुपर्छ । व्यक्ति सफल हुनलाई बौद्धिक ज्ञानमात्र होइन, व्यवहारिक ज्ञान पनि चाहिन्छ । बौद्धिक ज्ञानलाई व्यवहारिक ज्ञानले अचेट्न सक्यो भने त्यो बौद्धिक व्यक्तिले सिकेको ज्ञान काम लाग्दो रहेछ । यस हिसाबमा हामीले व्यक्तिलाई सक्षम हुने शिक्षा दिनुपर्छ । असल मानव बनाउनुपर्छ । असल मानव बनाउन व्यवहारिक शिक्षा बढी चाहिन्छ ।

- अभिभावकहरुलाई सम्झाउन र बुझाउन कत्तिको गाह्रो छ त ?

आफू एकजना मनोविद् भएको नाताले त्यो त बिल्कुलै गा¥हो काम होइन । म उहाँहरुलाई बुझाउन सक्छु । यो कुरा बुझाउन भने शिक्षक, प्रिन्सिपलहरुलाई गा¥हो छ । तर परामर्शले मात्र एउटा व्यक्तिको जीवन परिवर्तन हुन सक्दैन । परामर्शपछि उसले सिकेका ज्ञानहरु व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्यो, अनिमात्र उसको जीवन सफल हुन्छ । मानिसको जीवन परिवर्तन गर्न धेरै समय भने लाग्दैन । एउटा परामर्शको भूमिका छोटो भए पनि त्यसले ठूलो भूमिका खेल्छ  । सही परामर्शले आफूलाई चिन्छन् ।

- तपाइँको परामर्शमा सहभागी भएका अभिभावकले त तपाइँले भन्नुभएको सबै कृुरा लागू गर्न कठिन छ, आधा सम्भव छ, आधा त सकिँदैन भन्छन् नि ?

उहाँहरुलाई आत्मबोभ भयो कि आधा सम्भव छ । तर म त भन्छु, पूरै सम्भव छ । त्यो उहाँहरुलाई महशुस हुन बाँकी छ । किनभने हामी त्यो संस्कारबाट हुर्केर आयौं । बच्चालाई नपिटी पनि हुर्काउन, पढाउन सम्भव छ । बाबुआमा, हजुरबा, अंकलको पिटाइ खाएर आएको मान्छेले के बुझ्छ भने बच्चालाई अलिअलि भए पनि पिट्नैपर्छ, पिटेन भने त बच्चाले टाउकोमा टेकिहाल्छ नि भन्ने छ । यस अर्थमा उसले जस्तोजस्तो जीवन भोग्यो, त्यस्तैत्यस्तै वुद्धि विकेक पलाए । तर समाजमा परिवर्तनको लागि असम्भव भन्ने छैन ।

बच्चालाई समय दिनुस्, बच्चासँग खेल्नुस्, बच्चाले कस्तो लेख्यो, सही लेख्यो कि लगत ? बच्चाको बारेमा नियमित रुपमा स्कुलमा गएर बच्चा कसरी खान्छ, कसरी खेल्छ, साथीसँग कस्तो व्यवहार गर्छ ? शिक्षकप्रति कस्तो आदर सत्कार गर्छ ? पढ्छ, कि पढ्दैन बुझ्नुस् । यी कुराहरु असम्भव भन्ने के छ र ? होला, व्यस्त अभिभावकलाई स्कुलमा जान समय नमिल्ला तर त्यो व्यस्तता केका लागि ? तपाइँ हामी अभिभावकहरु सम्पत्ती कमाउने बहानामा, व्यस्त हुने बहानामा हामी सन्तानबाट टाढा नरहौं । बच्चालाई राम्रा कपडा, मीठा चकलेट, मीठा सामान, महंगा सामानसँगै राम्रो व्यवहार, आचरण, बोलीचाली, अनुशासन सिकाउनुस्, यसमा खर्चालु कुरा केही छैन, यो त व्यवहारबाट दिने कुरा हो ।

- पछिल्लो समयमा चलेको एउटा शब्द छ, गुड प्यारेण्टिङ, यो भनेको चाहिँ के हो ?

यो भनेको अभिभावकहरुले जान, अञ्जानमा कतै सानोतिननो भूल पो भैरहेको छ कि ? जस्तै, ठूलो बच्चा र सानो बच्चा छ, ममीले बजारबाट आउनुहुँदा चकलेट ल्याउनुहुन्छ, ठूलालाई एउटा, सानोलाई एउटा दिनुहुन्छ । चकलेट एउटै भएता पनि बच्चाहरुलाई मनोवैज्ञानिक रुपमा दाइले खाएको पो राम्रो थियो कि, मलाई दिएको चाहिँ अलिकति कमसल हो कि भन्ने भावना हुन्छ । त्यो कुरा अभिभावकबाट जान अञ्जानमा हुन्छ । यस अर्थमा यो कुरा अभिभावकलाई थाहा नभएको होइन । अभिभावकले त्यो कुरालाई व्यवस्थित तरिकाले गर्न जान्ने छैन कि भनेर गुड प्यारेण्टिङको बारेमा कक्षा सञ्चालन गर्ने हो । यसैले गुड प्यारेण्टिङ भनेको तपाइँहरुले जानी रहेको कुरालाई व्यवस्थित गर्ने कला हो । सन्तान जन्मेपछि हामी आमाबुवा त हुन्छौं, आमाबुवा साइनोले हुनुमात्र आमाबुवा होइन, जन्मदिने सँगै कर्म दिने पनि हुन्छ । असल अभिभावक बन्नु भनेको असल कर्म गर्न प्रेरित गर्नु हो ।

- अभिभावक शिक्षाका बारेमा विद्यालयहरुले के गर्नु आवश्यक छ ?  

विद्यालयहरुले अभिभावकलाई लक्षित गरेर वर्षको कम्तीमा दुईपटक, नभए एकपटक कार्यक्रम गर्नैपर्ने अनिवार्य छ । किनभने विद्यार्थी पास भएर उसको कक्षा चढ्छ । त्यो कक्षा चढ्दा बच्चालाई सम्हाल्न सक्ने, त्यो तहको बच्चाको मनोभावलाई बुझ्न सक्ने अभिभावक बन्नु भयो कि भएन ? त्यसैले जतिजति बच्चाको कक्षाको स्तर बढ्दै जान्छ, त्यसरी नै अभिभावकले पनि आफ्नो चेतना, आफ्नो बुझाइको स्तर र आफ्नो बच्चालाई हेर्ने दृष्टिकोणमा पनि स्तरोन्नति गर्नुपर्छ ।

- सामुदायिक विद्यालयमा सन्तान पढाउने अभिभावककरुसम्म यसलाई कसरी पुर्याउने त ?

यसमा शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालयहरुले बजेट छुट्याएको हुन्छ । त्यो बजेट कार्यक्रम बनाउनमा खर्च हुन्छ तर कार्यान्वयनमा भने खर्च हुन्न । कार्यान्वयन फाइलमा बन्छ, र त्यो पैसा कति ठाउँमा खर्चै हुन्न, बेरुजु हुन्छ । यसैले हरेक जिशिअहरुलाई अनुरोध गर्न चाहन्छु, सामुदायिक विद्यालयमा सन्तान पढाउने अभिभावकलाई पनि यो शिक्षा चाहिन्छ । किन त भन्दा ऊ त सिंगो मानिस हो ।

सरकारीमा पढोस् कि निजीमा, मंहगोमा पढोस् कि सस्तोमा, ऊ एउटा मानव हो, त्यो मानवको लागि उपयुक्त वातावरण बनाउने हामी अभिभावकले हो । अभिभावक शिक्षा सबैलाई आवश्यक छ । यस किसिमको शिक्षा दिन चुक्यौं भने घरमा शान्त वातावरणमा नभएको, सस्कार नपाएको बच्चा स्कुललाई पनि सम्हाल्न गाह्रो हुन्छ । बच्चालाई सही बाटोमा लग्न, घरको वातावरण शान्त, पारिवारिक र बालमैत्री बनाउनको लागि यो शिक्षा चाहिन्छ ।

- नयाँ शैक्षिक सत्रको संघारमा रहेका अभिभावकहरु विद्यालय छान्ने चटारोमा छन्, दोधारमा पनि छन्, उहाँहरुलाई के सुझाव छ ?

विद्यालयको भवन हेर्दैमा, विद्यालयको फुटबल ग्राउण्ड, स्वीमिङ पूल हेर्दैमा, स्कुल बस हेर्दैमा विद्यालयको कक्षाकोठा हेर्दैमा विद्यालयको स्तर थाहा हुँदैन । त्यो विद्यालयको स्तर त्यतिखेर थाहा हुन्छ, जुन, विद्यालयले बच्चालाई संस्कार सिकाएको छ÷छैन, अनुशासन सिकाएको छ÷छैन, त्यो विद्यालयका विद्यार्थीको अनुशासन, नैतिक आचरण हेरेर, हामीले स्कुलको स्तर छु्ट्याउन सक्छौं ।

अभिभावकले स्कुल खोज्दा कुन विद्यालयले कस्तो शिक्षा दिन्छ ? त्यो कुरालाई पहिलो प्राथमिकतामा राखेर हेर्नुपर्छ । विद्यालयको भवन हेरेर विद्यालय नछानौं । विद्यालय कति बौद्धिक व्यक्तिहरुले सञ्चालन गरेका छन्, त्यहाँभित्र कस्ताकस्ता शैक्षिक कार्यक्रमहरु हुन्छन्, बच्चाहरुको मनोबल र आत्मबल बढाउने खालका कस्ता शैक्षिक र अतिरिक्त क्रियाकलापहरु त्यहाँ गराइएको छ, यस्ता कुराहरु हेर्नुपर्छ ।

बच्चालाई भर्ना गर्दा संस्कारयुक्त विद्यालय, आचारण सिकाउने विद्यालय, पहिला अनुशासन र त्यसपछि शिक्षाजस्ता नारा लिएर अघि बढेका स्कुलहरु रोज्नुभयो भने राम्रो हुन्छ । योसँगै बच्चाहरुको व्यक्तिगत हेरचाह, बच्चाहरुको राम्रो र सुधार गर्नुपर्ने विषयमा शिक्षकले अध्ययन गरोस्, अभिभावकलाई जानकारी गराओस् । निरन्तर र नियमित अभिभावक परामर्श होस् ।