Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

विद्यार्थी भन्छन्, ‘म्यादी प्रहरी बन्छु, विदेश जान्छु’

सोमबार, १४ चैत्र २०७३

भक्तपुर - विगत चार वर्षदेखि भक्तपुर बसिरहेका मकवानपुरका लीला क्षेत्री अहिले भक्तपुर बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका छन् । मुख्य विषय नेपाली लिएर पढिरहेका क्षेत्री आगामी वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्नाको दरखास्त बुझाउन लाइन लागेका छन् ।

‘तपाइँ किन म्यादी प्रहरीको लाइनमा ?’ क्षेत्रीसँग सोध्दा उनी यसरी धाराप्रवाह रुपमा जवाफिए, ‘जागिर खान पावर छैन, कुनै राजनीतिक नेता चिनेको छैन, यसमा भए पावर÷सावर नि लाग्दैन, दुई महिना मात्र म्यादी बन्न पाए पनि पढाइलाई फाइदा पुग्छ ।’

उनले चुनावको समयमा पढाइ पनि सँधै झै नहुने, जाँच पनि नहुने कारणले त्यतिकै बस्नुसट्टा म्यादी नै भए पनि प्रहरी हुन पाए पढाइलाई नै फाइदा हुने बताए । उनकै छेउमा लाइन लागेका अर्का युवा हुन् ओखलढुंगाका शंकर विष्ट । उनी पनि अहिले पढिरहेका छन्, काठमाडौंमा ।

‘पढेँ, जागिरको लागि धेरै ठाउँमा भौतारिएँ, पाइएन’ खाडी मुलुकमा जाने विचार गरी पासपोर्ट समेत बनाइसकेका उनी म्यादी हुन पाउँदा हुने फाइदाबाट लोभिएका छन् । र, भन्छन्, ‘म्यादी भयो भने, एक्पिरियन्स् हुन्छ, अनि विदेशतिर सेक्युरिटीमा नि जान सजिलो हुन्छ ।’

उनीहरु मात्र नभएर अहिले धेरै युवाहरु जो औपचारिक शिक्षा लिइरहेका छन्, तिनीहरु म्यादी प्रहरीमा भर्ना हुन कस्सिएका छन् । शुक्रबारदेखि शुरु भएको म्यादी प्रहरी भर्नाका लागि फाराम भर्ने युवाहरुको प्रहरी कार्यालयहरुमा भीड लागेको छ ।

म्यादी प्रहरी भर्नाका लागि आउँदो १७ गतेसम्म भर्ना फाराम लिइने, १८ गते सम्पर्क गरिने, १९ गतेबाट छनोट प्रक्रिया शुरु, २२ गते रिजल्ट प्रकाशन र २५ गतेदेखि तालिम शुरु हुने कार्यतालिका रहेको छ ।
म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने, कक्षा ५ उत्तीर्ण भए पनि हुने, नेपाली नागरिक भएको र कुनै फौजदारी अभियोगमा सजायँ नपाएको लगायतका आधारहरु तोकिएका छन् ।

लाइनमा भने एसएलसीदेखि स्नातक पास भएको मार्कसिट र सर्टिफिकेटको फोटोकपी साथमा लिएर लाइनमा लागेका छन्, विद्यार्थी । म्यादी प्रहरी भर्ना फारामका लागि रु. १० को टिकट टाँस गरी निःशुल्क फाराम भर्ने व्यवस्था रहेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि नेपाल भर ७५ हजार म्यादी प्रहरी भर्ना गरिने सरकारको योजना रहेको छ । म्यादी प्रहरी भर्ना भएकाको सेवा अवधि ५५ दिन रहेको र नेपाल प्रहरीको जवानसरह सेवासुविधा पाउने व्यवस्था उल्लेख गरिएको छ । एकजना म्यादी प्रहरीले तलब भत्ता, सेवासुविधा र रासनलगायत गरी ४० हजार बढी पाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया