Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

शिक्षकको पेन्सन पट्टामा हस्ताक्षर गर्ने हात आफ्नै फारम भर्दै

विहीबार, १७ चैत्र २०७३

काठमाडौं - अरु दिन जस्तै बुधबार पनि विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गाना रिटायर्ड शिक्षकको पेन्सन पट्टा निर्माण प्रकृया, शिक्षकको बिवरण अद्यावधिक गर्ने लगायतका कार्यालयका अन्य काममा ब्यस्त रहे । दैनिकिमा अलिकति फरक त्यति खेर पर्यो, जतिखेर उनी आफ्नै पेन्सन पट्टा निर्माणको फारम भर्न हरीहरभवन स्थित निजामती किताबखाना पुगे !

अर्थात् २०३४ सालमा तत्कालिन जिल्ला कार्यालय शिक्षा शाखाको अस्थायी मुखियाबाट निजामती सेवा प्रवेश गरेका प्रशासन* सेवाका यी सहसचिव बुधबार देखि रिटायर्ड भएका छन् ।

सहसचिवमा बढुवा भएसँगै २०७२ माघमा महानिर्देशक भएर शिक्षक किताबखानाको कमान सम्हाल्न पुगेका ढुङ्गानाले यस बिचमा शिक्षकको बिवरण ब्यवस्थित गर्ने देखि पेन्सन पट्टा वितरणलाई थप प्रभावकारी बनाउने काम गरेका छन् । खास गरी राज्यको साधन श्रोतलाई मितब्ययी बनाउने कार्यमा उनको सकृयता स्मरणीय छ ।

बढी अवधि सेवा गरेर राज्यलाई थप आर्थिक भार बेहोर्न वाध्य बनाएका शिक्षकबाट यो आर्थिक बर्षमा मात्रै १ सय ३३ शिक्षकबाट २ करोड ५९ लाख ३ हजार ३२ रुपैंया राज्यमा फिर्ता गर्न किताबखाना सफल भएको छ । गत आर्थिक बर्षमा १ सय ३२ जना त्यस्ता शिक्षकबाट २ करोड २० लाख १६ हजार ६ सय ४९ रुपैंया असुल गरिएको थियो भने आर्थिक बर्ष ०७१/७२ मा १ सय ५१ शिक्षकबाट २ करोड ६२ लाख ४१ हजार ८ सय ५८ रुपैंया असुल गरिएको थियो ।

शिक्षकले आफ्नो अवकास मिति समेत हेक्का नराख्ने तथा जिल्ला शिक्षा कार्यालयले प्रभावकारी संयोजन नगर्दा यस्तो समस्या बढेको ठहर सहित जिल्लामा रिटायर्ड हुने शिक्षकको बिवरण अद्यावधिक गरी किताबखानामा बुझाउन उनले हरेक जिल्ला शिक्षा अधिकारीबाट लिखित प्रतिबद्धता संकलन कार्य शुरु गराएका छन् ।

रिटायर्ड भएपछि परिचयको अभाव महशुस गरेका शिक्षकलाई परिचय पत्र बितरणको थालनी उनकै कार्यकालमा भएको हो । शिक्षकको सिटरोल ब्यवस्थित गर्ने तथा अवकास भएपछि शिक्षकले तयार गर्नु पर्ने विभिन्न प्रशासनिक कामलाई चुस्त बनाउने काममा उनको नेतृत्वमा किताबखानाले प्रभावकारी काम गरेको निवृत्त शिक्षकहरु बताउँछन् ।

प्रशासनिक संरचनामा परिवर्तन गराउँदै शिक्षकहरुले सम्झने गरी केही नयाँ काम गर्न पाउनु आफ्नो सेवा अवधिको महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

'मकालु हिमालको काखबाट शुरु भएको जिन्दगीमा गुरुहरुको मनमा बस्ने गरी काम गर्न पाएँ यो नै मेरो सबै भन्दा ठूलो उपलब्धि हो' एडुखबरसँग उनले भने, 'राज्यका नीति नियम र कानून पालना गर्ने काममा कहिल्यै सम्झौता गरिन जस्तो लाग्छ, यसको मूल्याँकन त म संग सेवा लिएका आदरणीय गुरुहरुले गर्नु हुने छ ।'

आमा विष्णुमाया र बावु घनश्याम ढुङ्गानाका सन्तान उनी २०३३ सालको एसएलसीमा संखुवासभा जिल्ला प्रथम हुन् । तत्कालिन हाकिमले आफ्ना निकट मान्छे नियुक्ति गरेसँगै अस्थायी मुखियाको जागिर खोसिएपछि केही समय आफैंले पढेको हिमालय मावि खाँदबारी र महेन्द्र प्रावि मानेभञ्ज्याङ्मा शिक्षक पनि भए उनी ।

२०३५ साल असारमा तत्कालिन खाद्य, कृषि तथा सिंचाई मन्त्रालय अन्र्तगत चन्द्रनहर सप्तरीमा  खरिदारबाट फेरी निजामती सेवा प्रवेश गरेका हुन् । सुब्बा भएपछि गृह मन्त्रालय, अधिकृत भएपछि भौतिक योजना मन्त्रालयमा काम गरेका उनले लामो समय स्थानीय विकास मन्त्रालय अन्र्तगत विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीका रुपमा कार्य गरे । किताबखानामा आउनु अघि उनी राष्ट्रिय सर्तकता केन्द्रमा थिए ।

कानूनमा स्नातक, जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर तथा नेदरल्याण्डबाट शहरी विकास तथा ब्यवस्थापन अध्ययन गरेका ढुङ्गाना अब कानूनी परामर्शमा समय विताउने बताउँछन् ।

'निजामती सेवाको अवधिमा पछिल्लो समय शिक्षकहरुसँग नजिक भएर काम गरेँ अबको मेरो काम न्याय नपाएका तिनै शिक्षकहरुलाई कानूनी परामर्श दिएर न्याय दिलाउने हुने छ' उनले भने, 'मेरो काममा साथ दिन निजामती सेवामै कार्यरत अधिवक्ता समेत रहेकी मेरी श्रीमतीले पनि अवकास लिएकी छन्, अब हामी दुवै मिलेर न्यायको क्षेत्रमा काम गर्ने योजना बनाउँदै छौं ।'

गृह मन्त्रालय अन्र्तगत राष्ट्रिय परिचय ब्यवस्थापन केन्द्रमा कार्यरत उनकी श्रीमती गोमा देवि कटुवाल ढुङ्गानाले पनि बुधबारै अवकास लिएकी उनले बताए ।

किताबखानाका कर्मचारीले ढुङ्गानालाई दोसल्ला ओडाएर मायाको चिनो प्रदान गर्दै विदाई गरेका छन् । शिक्षा मन्त्रालयले अर्को सहसचिव नखटाएसम्म विद्यालय शिक्षक किताबखानामा बरिष्ठताका आधारमा उपनिर्देशक अनुपम श्रेष्ठ निमित्त महानिर्देशक भएका छन् । उनले बिहीबार देखि नै कार्यभार सम्हालेका छन् ।

* सच्याईएको - स.

प्रतिक्रिया