Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

पाठ्यक्रमको दिशा कुन? न बनाउनेलाई थाहा, न लागू गर्छु भन्नेलाई ?

बुधबार, २३ चैत्र २०७३

हाम्रो पाठ्यक्रममा सुधार गर्न निक्कै आवश्यक छ । पाठ्यक्रमकै कारण सरकारले वर्गभेद बढाइरहेको छ । नेपालको भूगोल सुहाउँदो पाठ्यक्रम नहुँदा वर्गीय खाडल बढिरहेको छ । हामी सुगम ठाउँ, विकसित ठाउँ र दुर्गम र अविकसित ठाउँका लागि एउटै खालको पाठ्यक्रम बनाउँछौं । यसले गर्दा काठमाडौं वा भनौं सुगम र सुविधा भएका ठाउँका विद्यालयमा पढ्न पाउने विद्यार्थी अघि बढ्न पाएका छन् भने दुर्गम ठाउँका विद्यार्थीहरु जहाँको तहीँ । उनीहरु समयमै किताबसम्म पाउँदैनन् तर पाठ्यक्रम एउटै छ । परीक्षा एकै किसिमको छ । पाठ्यक्रमलाई भूगोलसँग सुहाउँदो नबनाउँदा वा भनौं काठमाडौंमा बसेर हिमालको, तराईको र पहाडको लागि पाठ्यक्रम बनाउँदा त्यसको असर विद्यार्थीमा त छँदैछ, त्यसको दीर्घकालीन असर देशले भोग्नुपर्ने हुन्छ ।
स्थानीय भूगोल अनुसार खेतीपाती गर्ने पाठ्यक्रम भए, स्थानीय स्रोत साधनको प्रयोग गराउने पाठ्यक्रम र पाठ्यवस्तु भए स्थानीय स्रोत र साधनको प्रयोग हुने थियो, विकासमा यसले सहयोग हुने थियो । पाठ्यक्रमलाई माटो सुहाउँदो बनाउनुपर्छ, अन्यथा पाठ्यक्रमको उद्देश्य श्वैरकल्पनामा सीमित हुन्छ । अँग्रेजी पढाउने नाममा हामीले अन्धाधुन्ध रुपमा पाठ्यक्रम बनायौं । हामीले त्यो भाषालाई यहाँको माटो, व्यवहार र जीवनसँग जोड्न सकेनौं । यहीँको पात्रलाई प्रयोग गराएर बनाउनुपर्ने पाठलाई गुणस्तरीय बनाउने नाममा अमेरिका÷बेलायतकै पात्रहरुको प्रयोग गरेर अप्ठ्यारो र गा¥हो बनायौं । यति सानो कुरामा पनि पाठ्यक्रम विकास केन्द्रले ध्यान दिन सकेन ।
शिक्षा र पाठ्यक्रमलाई नङ र मासुको सम्बन्धजस्तै जोड्नुपर्छ । हाम्रो शिक्षा एकातिर छ, पाठ्यक्रम अर्कोतिर छ । पाठ्यक्रम भाषा, सँस्कृतिसँग नजिक भएको खण्डमा विद्यार्थीले चाँडै ग्रहण गर्दो रहेछ । तर हामीकहाँ विदेशीले दिएकै पाठ्यक्रमलाई लागू गरिएको छ । त्यही कारण यो हामीकहाँ म्याच हुन सकेन । त्यही कारण हामीलाई ती विषय पनि गा¥हो भएको छ ।
पाठ्यक्रमले समाजलाई कता दो¥याउने, कता लग्ने ? भन्ने दिशा पनि निर्धारण गर्नुपर्छ तर हाम्रो पाठ्यक्रको दिशा कुन हो ? न बनाउनेलाई थाहा छ, न त्यो लागू गर्छु भन्ने शिक्षकलाई नै । शिक्षाको एउटा गन्तव्य हुन्छ । त्यो गन्तव्य भनेको कस्तो भने उदाहरणका लागि हामी कुखुरा पाल्छौं । कुखुरा पाल्दा खोर बनाउँछौं । खोरमा एउटा ढोका पनि बनाउँछौं । ढोका खोलेपछि कुखुराहरु चर्न जताततै जान्छन् तर साँझ भएपछि कुखुरा आउने भनेको खोरमै हो । तर हाम्रो पाठ्यक्रम कस्तो भो भने कुखुराको खोरजस्तो, जसमा ढोका नै छैन । यसले भित्रका बाहिर आउन पाएनन्, बाहिरका भित्र जान पाएनन् । त्यस्तो खालको शिक्षाले के हुन्छ ? गन्तव्यहीन । हाम्रो पाठ्यक्रमले हिँड्दैछ, पाइला मेट्दैछ भन्ने उखान चरितार्थ गरिरहेको छ । पाठ्यक्रमले उल्झनलाई सुल्झाउनु पर्नेमा अझ अलमल गरिरहेको छ ।
आदर्श आजाद मावि भेलुखेल भक्तपुरका सामाजिक शिक्षक कवांसँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित

 

प्रतिक्रिया