Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

स्थानीय तहको निर्वाचनपछि शिक्षामा सुन्दर युग : शिक्षा मन्त्री

आइतबार, २७ चैत्र २०७३

काठमाडौं - शिक्षालाई उत्पादन, श्रम, विज्ञान र राष्ट्रिय आवश्यकतासँग जोड्न शिक्षा ऐनको आठौं संशोधन  र शिक्षा नियमावली जारी गर्ने तयारी गरेको शिक्षा मन्त्री धनिराम पौडेलले बताएका छन् । उत्पादन, श्रम, विज्ञान र राष्ट्रिय आवश्यकतासँग शिक्षालाई जोड्न सके मुलुकको प्रगति हुने ठानेर मन्त्रालय त्यो दिशामा अग्रसर रहेको उनको भनाई छ ।

जुद्धोदय माविको ७८ औं बार्षिकोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै मन्त्री पौडेलले आसन्न स्थानीय तहको निर्वाचनपछि मुलुकमा शैक्षिक, प्रशासनिक र राजनीतिक रुपमा नयाँ र सुन्दर युगको शुरुवात हुने बताए । त्यसैले बैशाख ३१ गतेको निर्वाचन सफल पार्न सबै लाग्नु पर्ने उनको जोड थियो ।

कार्यक्रममा काठमाडौंका जिल्ला शिक्षा अधिकारी जया आचार्यले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरु गम्भिर र जिम्मेवार बन्नु पर्ने बताए । विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलले विद्यालयको प्रगति विवरण प्रस्तुत गरे । कार्यक्रममा विद्यालयको ७८ बर्षे इतिहास समेटिएको ‘ज्योतिर्मय जुद्धोदय’ स्मारिकाको समेत विमोचन गरिएको थियो । त्यसैगरी मोहनबहादुर कायस्थले जुद्धोदय माविका पूर्व शिक्षक स्व. हरिहरनाथ रेग्मीको जीवनीमा आधारित भएर लेखेको ‘हरिहरनाथ रेग्मी’ पुस्तको पनि शिक्षा मन्त्री पौडेलले विमोचन गरे ।  

यसैबीच ललिलपुरको धापाखेलमा रहेको श्रीकृष्ण माविले पनि शनिवार आफ्नो ६२ औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित एक समारोहका बीच शिक्षा मन्त्री पौडेलले पानसमा वत्ती बालेर बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरे ।  

कार्यक्रममा प्रधानाध्यापक हरिभद्र वाग्लेले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसक्रममा श्रीकृष्ण माविमा पढेर अहिले विभिन्न क्षेत्रमा रही मुलुकलाई योगदान पु¥याउँदै आएका नेपाल सरकारका सचिव, प्रहरीका एसएसपी, इञ्जिनियर, डाक्टर लगायत विशिष्ठ व्यक्तिहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया