शिक्षकहरु कक्षाकोठामा नजान पाईंदैन


बाग्लुङ् - धवलागिरी बहुमुखी क्याम्पसले नियमित पठनपाठनका लागि शिक्षकलाई ड्युटीप्रति थप प्रतिबद्ध गराउने भएको छ । यसका लागि क्याम्पस प्रशासन प्रयत्नशील रहेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए  ।

प्राध्यापक संघको इकाई कमिटीले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा क्याम्पस प्रमुख उपाध्यायले नियमित पठनपाठन गर्नका लागि प्रशासन प्रयत्नशील रहेको बताए । कक्षामा नजाने प्रवृतिले विद्यार्थी र शिक्षक स्वयंकै पनि उन्नति नहुने उनको भनाई छ । ‘कुनै पनि शिक्षकलाई ड्युटीप्रति प्रतिबद्ध गराउन खोजिएको छ, उपाध्यायले भने, ‘कुनै पनि कारणबाट शिक्षकहरु कक्षाकोठामा नजान पाइदैन ।’

आंशिक शिक्षकका समस्या समाधान गर्न आफू प्रयत्नशील रहेको बताउँदै उनले सोचेजस्तो सजिलो नभएको समेत उल्लेख गरे ।

सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कँडेलले पनि क्याम्पस प्रशासन नियमित पठनपाठनका लागि निरन्तर प्रयत्नशील रहेको बताए । विद्यार्थी कल्याण प्रमुख हरिप्रसाद पाण्डे, आंशिक प्राध्यापक संघका सभापति विष्णुप्रसाद चापागाईं, संघका सभापति डिल्लीराज गौतम लगायतले शैक्षिक गुणस्तरका लागि विद्यमान चुनौती र समाधानका उपायबारे आआफ्ना धारणा राखेका थिए ।