Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक सुधारको माग गर्दै हजारौं विद्यार्थी तथा शिक्षक सडकमा

शुक्रबार, ०१ बैशाख २०७४

काठमाडौं - शैक्षिक सुधारको माग गर्दै चिलीका हजारौं विद्यार्थी तथा शिक्षकले राजधानी सान्तियागोमा विरोध प्रदर्शन गरेका छन् । चिलीको गहिरिंदो शैक्षिक संकटबीच निजी क्षेत्रबाट हुने गरेको चरम शोषणको विरोध गर्दै उनीहरुले जुलुस प्रदर्शन गरेका हुन् ।

समाजका सबै वर्गको लागि गुणस्तरीय तथा निःशुल्क शिक्षाको माग गर्दै भएको प्रदर्शनले सान्टियागो शहर पूरै भरिएको थियो । प्रदर्शनकारीहरुले ‘शिक्षा क्षेत्र अझै संकटमा छ, हामी कुनै पनि हालतमा यसलाई असफल बनाउने छैनौं’ भनी लेखिएका व्यानरहरु बोकेका थिए । ‘उनीहरु हामीलाई शिक्षा बेचिरहेका छन्, हामी उनीहरुको सुधारको किन्ने पक्षमा छैनौं’, उनीहरुको नारामा लेखिएको छ ।

शैक्षिक सुधारमा राष्ट्रपति मिचेले बाचिलेट सरकारले कुनै पहलकदमी नलिएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । राष्ट्रपतिले यसअघि बृहत शैक्षिक सुधारको लागि थुप्रै आश्वासनहरु बाँडेका थिए ।
शिक्षामा बढेको शुल्कका कारण चिलीका धेरै विद्यार्थीले पढ्न नसक्ने अवस्थामा पु¥याएको छ । अभिभावक तथा विद्यार्थी ऋणमा डुबेका छन् भने शिक्षामा व्यापार गरिरहेका धेरै निजी संस्थाहरुले मनग्य नाफा कमाइरहेका छन् । सानो माछाले ठूलो माछालाई खान्छ भने जस्तै त्यहाँका धेरै कम लगानीका शिक्षण संस्थाहरु बन्द भएका छन् । सन् २०१५ को तथ्याङ्कअनुसार चिलीका ७ लाख विद्यार्थी ऋणमा डुबेका छन् । यो संख्या आज आएर १० लाख पुगेको अनुमान गरिएको छ ।

‘अहिलेको शैक्षिक संकटले हाम्रा विश्वविद्यालयहरु प्रभावित बनेका छन् र हाम्रो भविष्यलाई असर गर्दैछ । कानुन बन्नु पर्ने विषयलाई सरकारले जुन किसिमबाट खेलाइरहेको छ, हामी त्यसको विपक्षमा छौं’, चिली विद्यार्थी महासंघले आफ्नो भनाई सार्वजनिक गरेको छ ।

राज्यले विना भेदभाव सबैलाई शिक्षाको अधिकार सुनिश्चित गर्नु पर्दछ र सबै विद्यालयहरु राज्यले आफ्नो नियन्त्रणमा राख्नु पर्दछ ।’, माध्यामिक विद्यार्थी राष्ट्रिय संयोजक फान्स्किा फोलर्सले भनिन् ।

चिलीमा सन् १९८१ मा तात्कालीन तानाशाही शासक अगस्टो पिनोचेले सार्वजनिक शिक्षा क्षेत्रलाई भत्ताभुङ बनाएका थिए । सन् २०११ मा भएको विद्यार्थी आन्दोलनको दबाबमा बाछिलेट सरकारले निःशुल्क विद्यालय शिक्षाको लागि भएको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । तर आफ्ना प्रतिबद्धतामा सरकार इमान्दार नबन्दा फेरि विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

प्रतिक्रिया