Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

नयाँ शिक्षा ऐन पछिको पहिलो एसएलसी, तयारी पुरा

सोमबार, ०४ बैशाख २०७४

काठमाडौं - आउँदो आईतबारबाट शुरु हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन पश्चात हुन लागेको यो परीक्षा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा हो । यस अघि कक्षा १० मा हुँदै आएको माध्यामिक शिक्षाको अन्तिम परीक्षा 'एसएलसी' ऐन संशोधन भएसँगै यो बर्ष देखि कक्षा १२ मा हुन थालेको हो ।

परीक्षामा देशभर ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागि हुने छन् । उनीहरुका लागि ९ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । परीक्षामा सहभागि हुने मध्ये १ लाख ७६ हजार ६ सय १२ छात्र र १ लाख ७६ हजार ४ सय छात्रा छन् । कक्षा १२ मा कूल ९८ वटा फरक फरक विषयको परीक्षा हुने छ ।

परीक्षामा ९ सय ९० केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक, १ हजार ५ सय ७१ परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १ सय ७० कार्यालय सहयोगी, ११ हजार ८ सउ ८० सुरक्षाकर्मी सहित ३५ हजार ७ सय जनशक्ति परिचालन हुने बोर्डले जनाएको छ ।

शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परीक्षाको सबै तयारी पुरा भएको बोर्डका अध्यक्ष समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताए ।

'विगतमा साविकको उच्च  माध्यमिक शिक्षा परिषद् ऐन अन्र्तगत सञ्चालन हुँदै आएकोमा शिक्षा ऐनमा भएको संशोधन पश्चात विद्यालय शिक्षाको अन्तिम परीक्षाका रुपमा कक्षा १२ को परीक्षा हुँदै छ' उनले भने, 'विगतको एसएलसीको राम्रा कुरालाई कक्षा १२ को परीक्षामा ल्याईएको छ, परीक्षा केन्द्रको सुधार देखि सुरक्षाको समेत उचित प्रवन्ध गरिएको छ ।'

शिक्षा मन्त्रालयले सोमबार विहानै तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरुसँग परीक्षालाई ब्यवस्थित र मर्यादित तवरबाट सञ्चालन गर्न आवश्यक सुरक्षा प्रवन्धबारे छलफल गरेको पनि उनले बताए ।

परीक्षाको अवधिभर कुनै पनि किसिमका बन्द हड्ताल, नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालन गर्न दिन सबै राजनीतिक दल तथा तीनका भात्रृ संगठनलाई बोर्डले आग्रह गरेको छ ।  

बोर्डका सदस्य सचिव डा. डिल्लि रिमालले देशभरी परीक्षणको ब्यवस्था गर्ने भएकोले परीक्षा भएको ९० दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा परीक्षा समन्वय समिति गठन भएको र केन्द्रबाट समेत प्रत्यक्ष अनुगमन हुने भएकोले परीक्षा मर्यादित हुने परीक्षा नियन्त्रक सन्तोष अर्यालले अपेक्षा गरे ।

परीक्षामा मोवाईल फोन निषेध गरिएको छ । सूचना आदान प्रदान गर्न परीक्षा कन्ट्रोल रुमको ब्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहिन वा सुस्त मनस्थिती वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थाीहरुका लागि परीक्षाको विशेष ब्यवस्था गरिएको अर्यालले बताए । कारागार वा वालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने ब्यवस्था मिलाईएको पनि उनले जनाए ।

परीक्षामा अमर्यादित काम गरेको पाईएका ६ महिना कैद र एक बर्ष लाख सम्म जरीवाना परीक्षा केन्द्र परीक्षालाई मर्यादित बनाउन सबै क्षेत्रबाट सहयोग प्राप्त हुने बोर्डले अपेक्षा गरेको उनले बताए ।

परीक्षा विहान ७ बजे देखि सञ्चालन हुने छ । बैशाख २२ गते परीक्षा सकिने छ ।

प्रतिक्रिया