Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

सरकारको आठ महिना, शिक्षाको उपलब्धि 'सुरुवात' मा सिमित

शुक्रबार, ०८ बैशाख २०७४

काठमाडौं - सरकारले सार्वजनिक गरेको आफ्नो आठ महिने अवधिमा भएका उपलब्धिमा शिक्षाका विषयलाई भने 'सुरुवात गरिएका' उल्लेख गरिएको छ ।

तीन बुँदामा उल्लेख गरिएका शिक्षाका विषय मध्ये ५६ औं बुँदामा २०७२ सालको एस.एल.सी. परीक्षामा ए प्लस ल्याई हाल सामुदायिक मा.वि.मा नै अध्ययनरत छात्राहरुलाई एकमुष्ठ रु. पाँच हजार प्रोत्साहन छात्रवृत्ति उपलव्ध गराउने कार्यको थालनी गरिएको उल्लेख छ । साथै सीमान्तकृत र पिछडिएका वर्गलाई लक्षित गरी आवासीय विद्यालय निर्माण गर्ने कार्य सुरुवात गरिएको पनि उक्त उपलब्धिमा उल्लेख छ । बुँदा ५७ मा नेपालका सात वटै प्रदेशमा १।१ वटा कृषि क्याम्पस स्थापना गर्ने कार्य शुरुवात गरिएको उल्लेख छ भने बुँदा ५८ मा पनि प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ ।

'त्रिभुवन विश्वविद्यालय र कृषि तथा बन विज्ञान विश्व विद्यालय बीच देखिएका समस्या समाधान गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७२।१२।०४ को निर्णयानुसार गठित उच्चस्तरीय समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गरी विगत ७ वर्ष लामो विवाद समाधान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ' उक्त उपलब्धिमा उल्लेख छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालय मार्फत सार्वजनिक सरकारका उपलब्धिमा शिक्षाका मुद्धा 'झारा टार्ने' हिसावमा मात्रै समेटिएका छन् । विद्यालयको संरचनामा परिवर्तन गर्ने गरी शिक्षा ऐन जारी भएको एक बर्ष पुग्न लाग्दा नियमावली समेत निर्माण गर्न नसकेको भन्दै शिक्षा मन्त्रालयको आलोचना भईरहेको छ । नियमावली नआउँदा ऐन कार्यान्वयन हुन नसकेर लामो समयदेखि जकडिएका शिक्षाका विभिन्न समस्या समाधान हुन सकेको छैन । भूकम्पका कारण भत्केका विद्यालयको पुर्ननिर्माणको धिमा गतिले २ बर्ष देखि विद्यार्थी हैरान छन् ।

यस्तो बेला सार्वजनिक उपलब्धिहरुले शिक्षामा गर्नु पर्ने काम हुन नसकेको सरकार आफैंले स्विकार गरेको छ । सरकारले गरेका प्रमुख काम र उपलब्धिहरु, २०७४ शिर्षकमा सार्वजनिक उक्त दस्तावेजमा वर्तमान सरकारका हालसम्मका उपलब्धिबाट नेपाली जनतामा व्याप्त रहेका ‘जुन जोगी आए पनि कानै चिरेका’ र ‘यहाँ केही हुनेवाला छैन’ जस्ता निराशाबोधक मनोविज्ञानबाट ‘गरे हुने रहेछ र सकिन्छ’, ‘खाने मुखलाई जुगाले छेक्दैन’ भन्ने सकारात्मक सन्देश प्रवाह गरिएको उल्लेख छ ।

संविधानको स्वीकार्यता फराकिलो बनाएर प्रभावकारी कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माण र नवनिर्माण, सुशासन र प्रभावकारी जनसेवा मार्फत् आर्थिक समृद्धि हासिल गर्ने जोखिमपूर्ण अवसर वर्तमान सरकारले प्राप्त गरेको उल्लेख गर्दै उक्त उपलब्धिमा सरकार राजनीतिक सहमति कायम गर्ने, संविधान संशोधनको प्रक्रियालाई गन्तव्यमा पुर्याउने, संविधान कार्यान्वयनका लागि निर्धारित समय सीमाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो मार्ग चित्रमा दृढतापूर्वक अगाडि बढेको उल्लेख छ ।

'जनता र राष्ट्र प्रतिको गम्भीर जिम्मेवारी बोध र क्रियाशीलताका कारण आठ महिनाको छोटै अवधिमा सरकारले देशको विकास र समृद्धिमा गुणात्मक प्रभाव राख्ने उपलब्धि हासिल गरेको छ' सरकारको उपलब्धिको भूमिकामा भनिएको छ, 'जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव राख्ने र परिवर्तनको अनुभूति हुने कामहरु भएका छन् ।'

दाहाल गत साउन २० गते नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया