Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

चुनावमा उठ्ने शिक्षक—प्रअको हाइहाइ, विद्यार्थी र विद्यालयलाई भने सकस

आइतबार, १० बैशाख २०७४


काठमाडौं– ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत शिक्षक पृथ्वीराज पन्तले आजबाट लागू हुने गरी जिल्ला शिक्षा कार्यालयमा राजिनामा दिए । अँग्रेजी विषयमा निमावि द्धितीय तहमा कार्यरत उनले राजिनामा दिएपछि विद्यालय कसरी चलाउने भन्ने चिन्तामा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति पुगेको छ ।
‘उहाँ वडाध्यक्षमा लड्छु भन्दै राजिनामा दिनुभयो, हामीलाई भने अब स्कुल कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।’ विद्यालयका प्रअ तर्कराज भट्टले भने । प्रअ भट्टले विद्यालयमा माध्यमिक तहमा अँग्रेजी पढाउने दरबन्दी नुहँदा राजिनामा दिएकै शिक्षकबाट कक्षा सञ्चालन गरिरहेको जानकारी दिँदै शिक्षक पन्तको राजिनामा पछि विद्यालयको निमावि र मावि तहमा अध्ययनरत ३ सय विद्यार्थीको पठनपाठनमा असर पुग्ने बताए । उनका अनुसार सो विद्यालयमा अहिले साढे पाँचसय विद्यार्थी अध्ययनरत छन् ।
पाटन नपाको वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार शिक्षक पन्तले जस्तै बैतडीकै अन्य पाँच शिक्षकले पनि चुनावकै लागि राजीनामा दिएपछि सो विद्यालयका प्रअहरु अहिले विद्यालय चलाउने विकल्पको खोजीमा छन् । 
जिल्ला शिक्षा कार्यालय विद्यालय प्रशासनका वसन्तबहादुर सिंहका अनुसार चुनावकै लागि राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, शिवलिङ्ग मावि बगर धौलाडीमा कार्यरत रामसिंह धामी र कुलाउ मावि कुलाउमा कार्यरत गोरखबहादुर चन्द रहेका छन् । राजीनामा दिने शिक्षक २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका छन् । तिनीहरुले राजिनामा दिएपछि विद्यालयहरु भने समस्यामा रहेको बताए ।
यो समस्या बैतडीको मात्र नभएर अन्य जिल्लाको पनि रहेको छ । काभ्रेका आठ जना शिक्षकले पनि राजीनामा दिएपछि पठनपाठनमा प्रभाव परेको विद्यालयका प्रअहरुको भनाइ छ । ‘उनीहरुले घरायसी कारण देखाएर राजीनामा दिए पनि चुनावको मुखैमा दिएको राजिनामाको प्रभाव विद्यालयमा परेको छ । ’ सञ्जिनवी माविका प्रअ सानुकाजी महतले भने । शिक्षा कार्यालयका अनुसार राजिनामा दिनेमा हिमालय मावि बनेपाका शिक्षक निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि महादेवस्थानका रामहरी नेपाल, सञ्जीवनी मावि धुलिखेलका रामकुमार तखाछे, बागदेवी मावि सल्लेभुम्लुका रमेशराज खरेल, गणेश निमावि चलाल गणेशस्थानका प्रेमकुमार तामाङ, भैरव मावि च्याम्राङबेँसीका बालकृष्ण फुयाँल, स्वेतगणेश प्रावि पनौतीका तीर्थमाया प्रधान र कुशादेवी माविका रमेश पौडेल रहेका छन् । 
शिक्षक निर्मलाले बनेपा नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्न राजीनामा दिएको बताइन् । कुशादेवी माविका प्रधानाध्यापक पौडेल पनौती नगरपालिकाको नगरप्रमुखका लागि नेकपा (एमाले)बाट दाबेदार हुन् । यस्तै स्वेतगणेश प्रावि पनौतीका प्रधानले पनौती नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले)बाट उम्मेदवार बन्ने सोच बनाएका छन् । त्यस्तै बेथानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन गणेश निमावि चलाल गणेशस्थानका शिक्षक तामाङले शिक्षण पेसाबाट राजीनामा दिएको बताए । उनी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बन्न लागेका छन् । ‘आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने भन्दै शिक्षकबाट धमाधम राजिनामा आउन थालेपछि शैक्षिक सत्रको सुरुमै विद्यार्थीको पठनपाठन प्रभावित भएको छ  ।’ सहायक जिशिअ गोविन्द सेढाइँले भने । 
यस्तै स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले पनि राजीनामा दिएका छन् । काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ छन् । 
सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाएका छन् भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाएका हुन् । यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेबाटै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिएका छन् । यसैगरी झापाका दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले पनि जागिर छाडेका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन् । 
राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् । उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा एमालेबाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् ।
त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसतासी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने तयारी गर्दै छन् । उनले छब्बिस वर्ष शिक्षण पेसामा बिताएका छन् । 
यता शिक्षक नै भएर राजनीतिमा सक्रिय हुँदै आएका दोलखाका शिक्षक नेताहरूले पनि उम्मेदवार बन्नका लागि जागिर छाड्न थालेका छन् । जिल्ला शिक्षा कार्यालय दोलखाबाट १३ जना शिक्षकहरूको राजीनामा स्वीकृति भइसकेको छ । जसमा ११ जना स्थानीय निर्वाचनमा उम्मेदवार बन्नकै लागि जागिर छाडेको हुन सक्ने जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवाले बताए ।
राजीनामा स्वीकृत भएका शिक्षकहरुमा हलेश्वर मावि सुरीका सोयमबहादुर खड्का, पृथ्वीनारायण आवि बोचका जिवसराज खड्का, सिद्धेश्वरी आवि मागापौवाका भीमप्रसाद सुवेदी, महेन्द्र मावि च्यामाका झनकबहादुर फुयाल रहेका छन् । त्यसै गरी वैत्यश्वर मावि नाम्दूका रविचन्द्र आचार्य, नवज्योती आवि सुरीका डिल्लीध्वज बस्नेत, कालीका मावि नाम्दूका पुस्करबहादुर कार्की, जनव्योती मावि लापिलाङका शम्भु थामी, कैलेश्वरी आवि गैरीमुदीका वृषबहादुर तमाङ, हुलाक आवि चंखु का पेम्बा शेर्पा र कालिदेवी आवि जुँगूका झलककुमार कार्की रहेका छन् ।

फोटो: गुगल

 

प्रतिक्रिया