Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

निजी छोडेर सामुदायिक विद्यालयमा ओइरो

सोमबार, ११ बैशाख २०७४

काठमाडौं ११ बैशाख/बोर्डिङ स्कुलबाट कक्षा सात पास गर्नुभएका बुटवल-१२ का सन्देश पन्थी कालिका माविमा ठेलमठेल गर्दै हुनुहुन्थ्यो । सयौं बालबालिका र अभिभावकले भरिएको कालिकामा कक्षा ८ को प्रवेश परीक्षा दिन पन्थी लाइनमा बस्नुभएको हो ।अंग्रेजी माध्यममा सञ्चालन र सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गर्दा छात्रवृत्तिको सुविधा पाइने भएकाले धेरै विद्यार्थी कक्षा ८ र ९ पढ्न निजी विद्यालय छोड्ने गरेका छन् । निजी विद्यालय छोड्ने विद्यार्थीका अविभावकको रोजाइमा अंग्रेजी कक्षा सञ्चालन गरेका सामुदायिक विद्यालय परेका छन् ।

कालिकामा कक्षा १ देखि ८ सम्मको कक्षामा नयाँ भर्ना हुन झन्डै साढे १४ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कालिकाका प्रधानाध्यापक घनश्याम पाठकका अनुसार विद्यालयले अहिले जम्मा ३ सय ९८ जना विद्यार्थी भर्ना गर्नेछ । 'भर्ना हुने विद्यार्थीलाई थाम्न पनि प्रवेश परीक्षा लिनै पर्छ, प्रधानाध्यापक पाठकले भन्नुभयो, 'कक्षा कोठा पुगेसम्म त्योभन्दा केही बढी विद्यार्थी भर्ना गर्नेछौं ।'

कालिकामा सबैभन्दा बढी प्रवेश परीक्षाका लागि आवेदन दिनेको संख्या कक्षा ८ मा छ । कक्षा ८ मा १ सय ५० जना विद्यार्थी मात्रै भर्ना गर्न सकिने विद्यालयले जनाएको छ तर ३ सय ३२ जनाले आवेदन दिएका छन् । विद्यालयले यो वर्ष कक्षा ९ मा भर्ना लिएको छैन ।रूपन्देहीको नमुना विद्यालयमा पर्ने कालिकामा यसअघि नै ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । यो वर्ष भवन थपिएकाले केही विद्यार्थी थपिएको विद्यालयले जनाएको छ ।

बुटवलकै कान्ति माविबाट बिहीबार साढे ८ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले त्यसको आधा मात्रै भर्ना लिने बताउनुभयो । कक्षा ८ र ९ मा मात्रै चार सयभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । ती कक्षामा विद्यालयले ५५÷५५ जना मात्रै भर्ना लिने जनाएको छ ।

अंग्रेजी माध्यमबाट सञ्चालन भएका रूपन्देहीका एक दर्जन विद्यालयमा निजी विद्यालय छाडेर आउने विद्यार्थीको संख्या बढेको छ । पछिल्ला तीन वर्षयता विद्यार्थी कक्षा ५ देखि माथिल्लो कक्षामा भर्ना हुन सरकारीमा आउन थालेका हुन् ।

बुटवलकै नवीन औद्योगिक, नहरपुर मावि, नयाँगाउँ मावि, मणिग्रामको शान्ति नमुना मावि, भैरहवाको भानु माविमा विद्यार्थी थाम्नै मुस्किल छ । कक्षाकोठा र शिक्षक दरबन्दी कम भएकाले विद्यालयले आउने सबै विद्यार्थीलाई भर्ना लिन सकेका छैनन् ।'अंग्रेजी माध्यममै पढाउने भएपछि महंगो शुल्क लाग्ने बोर्डिङमा पढाउनुपर्छ भन्ने भएन', अभिभावक रुद्रबहादुर कुँवरले भन्नुभयो । अघिल्लो वर्ष छोरीलाई सामुदायिकमा भर्ना गर्नुभएका कुँवर अहिले छोरालाई भर्ना गर्न विद्यालय पुग्नुभएको हो ।

अन्य विद्यालयमा भर्ना अभियान चले पनि यी विद्यालयमा प्रवेश परीक्षा लिन भ्याईनभ्याई छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयबाहिर रहेका ७ हजार बालबालिकालाई विद्यालय ल्याउन अभियान चलिरहेको बताउनुभयो । 'हरेक विद्यालयलाई आफ्नो क्षेत्रका बालबालिकालाई नछोड्न निर्देशन दिएका छौं', उहाँले भन्नुभयो । रूपन्देहीको धकधई, पडसरी, सक्रोन, पकडीसहित मर्चवार क्षेत्रका बालबालिका विद्यालयभन्दा बाहिर छन् ।

निजी विद्यालयबाट विद्यार्थी धमाधम सरकारीमा जान थालेपछि निजीका सञ्चालकहरू आक्रोशित भएका छन् । सामुदायिक विद्यालयले अंग्रेजी विषयका नाममा शुल्क लिने गरेको भन्दै त्यसलाई रोक्न उनीहरूले आग्रह गरेका छन् ।
लक्ष्मण पोखरेलले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया