Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

भर्ना लिए पो स्कुल जानु !

सोमबार, ११ बैशाख २०७४

काठमाडौं ११ बैशाख/उपत्यकामा सञ्चालित इँटाभट्टामा कार्यरत मजदुरका छोराछोरी पढनबाट वञ्चित भएका छन् । इँटाभट्टामै दिन कटाउने बालबालिका जीविकोपार्जनका लागि भारी बोक्ने गधा धपाउन बाध्य छन् ।

मध्याहनको १२ बजे, ललितपुरको हात्तीवनस्थित इँटाभट्टा पुग्दा १२ वर्षीय दिनेश लोहार गधा धपाइरहेका थिए । दिनभरि गधामा इँटा बोकेर यताउति गर्नु उनको दैनिकी हो । नेपालगन्जदेखि कामको खोजीमा काठमाडौं आइपुगेको उनले सुनाए ।
उनलाई अहिलेसम्म स्कुल गएको र किताब पल्टाएको थाहा छैन । ‘साथीहरू स्कुल गएको देखेर रहर लाग्छ,’ उनले भने, ‘म स्कुल गए भाइबहिनी के खान्छन्, आमाबाबु बिरामी छन् ।’ अभिभावक रोगी भएपछि भाइबहिनी पाल्ने जिम्मेवारी उनको काँधमा आइपुगेको हो । इँटाभट्टामा दैनिक ८ घण्टा गधा धपाएबापत उनले मासिक ६ हजार बुझ्छन् ।
इँटाभट्टामै काम गर्ने एक अभिभावक भन्छन्, ‘सधैं काम गर्ने ठाउँ एउटै हुँदैन, वर्षमै तीन/चार जिल्लातिर हुन्छौं, छोराछोरीलाई जता गयो त्यतै लैजानुपर्छ ।’ उपत्यकाका अधिकांश इँटाभट्टामा दिनेशजस्ता धेरै बालबालिका श्रम गरिरहेको भेटन सकिन्छ । कापीकलम बोक्ने हातले इँटा बनाउने र घोडा धपाउने लाठी समातेका हुन्छन् । चाहेर पनि पढ्न नपाएको उनीहरूको गुनासो छ ।
दिनेशजस्तै ललितपुरकै एक इँटाभट्टामा ११ वर्षीय अरविन्द विकले पनि गधा धपाउने काम गर्छन् । ‘अरूका घरमा भाँडा माझें, होटलमा काम गरें जे भेटाए त्यही गर्छु,’ उनले भने, ‘यति नगरे त खानै पाइँदैन ।’ उनले भने मासिक ५ हजार आम्दानी गर्छन् । अविभावकसँगै इँटाभट्टामा बस्ने अरविन्दले सकेको काम गरेर खर्च जुटाउँछन् । पढ्न मन लाग्ने तर विद्यालयले भर्ना नलिने उनले बताए । काम गर्ने ठाउँ स्थायी नहुँदा जुन पाए त्यही समयमा भर्ना हुन नसकेको उनी बताउँछन् ।
इँटाभट्टामा काम गर्ने अधिकांश बालक दलित र मधेसी समुदायका हुने इँटाभट्टा महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् । आफूहरूले भने बालबालिकालाई श्रममा नलिएको उनको भनाइ छ । अभिभावकहरूले ठेकेदारसँग मिलेर छोराछोरीलाई इँटाभट्टाको काममा संलग्न गराउने उनको भनाइ छ । उनीहरूलाई ठेकेदारले नै काममा लगाउने र पैसा दिने गरेको उनले बताए ।
‘हामीले त काममा लिँदैनौं र अनुगमन गर्न पनि भ्याएका छैनौं,’ ललितपुर इँटाभट्टा संघका अध्यक्ष रामकाजी अवाले भन्छन्, ‘विभिन्न संघ–संस्थाले भट्टाका बालबालिकालाई पढाउने व्यवस्था मिलाएका छन् ।’ उपत्यकामा १ सय १० इँटाभट्टा सञ्चालनमा छन् । त्यहाँ कति बालबालिका काम गर्छन् भन्ने यकिन तथ्यांक संकलन नभएको इँटाभट्टा महासंघले जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया