Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

एसईईपछि आ–आफ्नै ताल

मंगलबार, १२ बैशाख २०७४

काठमाडौं १२ बैशाख/एसईई अर्थात् पुरानो एसएलसीको नयाँ रूप । एक प्रकारको फलामे ढोका मानिने यसको जाँचपछि कोही लामो विदाको उपयोग गर्छन् भने कोही त्यत्तिकै बिताउँछन् । कपनकी स्वस्तिका रेग्मीलाई भने रत्तिभर फुर्सद छैन । गितार र नृत्यको नियमित कक्षा लिइरहेकी छन् । त्यसअघि हेटौंडा घुम्न भ्याइन् । खाली समय सदुपयोगका लागि ‘सर्ट मुभी’ पनि खेल्ने तयारीमा छिन् ।

प्लस टु पढ्न थालेपछि पढाइमै व्यस्त रहनुपर्ने भएकाले भ्याएसम्मको काम अहिले नै सक्ने उनको योजना छ । श्री भैरव मावि, नुवाकोटबाट एसईईसी दिएका सरोज खाती कामको खोजीमा छन् । संसारभर अंग्रेजीको प्रभाव भएकाले उक्त भाषा सिक्ने उनको योजना छ । काठमाडौंमा ‘प्लस टु’ गर्ने सोच बनाएका खाती दिनभर वसन्तपुर, स्वयम्भु, पशुपतिनाथ घुमेर बिताउाछन् । खाली समयमा विद्यार्थीले पढाइमै ध्यान दिनुपर्ने मनोहर कलेज सामाखुसीकी शिक्षिका ईश्वरी खनाल बताउँछिन् । विदाको समयमा बरालिादा पढ्ने बानी नै हराउने उनको सुझाव छ । भन्छिन्, ‘आफ्नो जीवनको लक्ष्यबारे तयारी गर्न यो उपयुक्त समय हो ।’

बल्ल राहत

कोटेश्वरस्थित न्यु टुलिप्स स्कुलबाट एसईई दिएका विक्रम मगरलाई १० कक्षासम्म कहिले पढाइ सकिएलाजस्तो लाग्थ्यो । अहिले राहत पाएको उनको भनाइ छ । ‘फलामे गेट’ले डर दिइरहेकाले अब त्यसबाट मुक्ति पाइएको उनी बताउाछन् । अहिले कम्प्युटर सिक्दै छन् । फुरुंग पर्दै भन्छन्, ‘क्याम्पसमा स्कुलको जस्तो बन्धनमा बस्नु पर्दैन ।’ उनीसँगै एसईई दिएका प्रदीप तामाङ भन्छन्, ‘स्कुल छोडेपछि त स्वतन्त्र भइयो । अहिले पढ्नु परेको छैन, ढुक्क छ ।’ खातीलाई भने स्कुलमा हँुदा शिक्षकले घोकाउने सारांश र सूत्रदेखि नै दिक्क लाग्थ्यो ।

उनी बेला–बेलामा सोच्थे– स्कुल सकिएपछि यी सबै देख्नु नपरोस् । आगामी पढाइको अनुमान गर्दै खाती भन्छन्, ‘क्याम्पसमा स्कुलजस्तो हुँदैन भन्ने सुनेको छु । अब आफ्नै किसिमले पढ्न पाइन्छ रे ।’ एपेक्स लाइफ स्कुलबाट एसईई गरेकी सामिया राउतले भने स्कुललाई कहिले पनि बन्देजको रूपमा लिइनन् । शिक्षकहरूले आफूहरूलाई साथीको जस्तै व्यवहार गर्ने हुनाले पनि रमाइलो अनुभव छ उनको । भन्छिन्, ‘बरु अप्ठ्यारो त अब छ । कलेज खोज्नेदेखि लिएर कुन विषय पढ्नेसम्मको चिन्ता छ ।’

कलेजको उत्सुकता

एउटा तह सकेर बसेका विद्यार्थीहरू अब नयाँ शिक्षण संस्थाको खोजीमा छन् । उनीहरू अब के पढ्ने, कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने विषयमा घोत्लिन थालेका छन् । पढ्न जाने कलेज कस्तो होला भन्नेमा उनीहरू ज्यादा उत्सुकता देखिन्छन् । नयाँ कलेजमा घुलमिल हुन समय लाग्ने बताउँछिन्, राउत । भन्छिन्, ‘साथीहरू कस्ता होलान्, वातावरण कस्तो होला, पहिलो दिनको उपस्थिति कस्तो होलाजस्ता कुराहरू मनमा आउँछन्,’ उनी भन्छिन्, ‘शिक्षकहरू कस्ता होलान्, कसरी पढाउलान् भन्ने पनि सोच आउाछ ।’ खातीसँगै पढेका सागर खड्काले गणितमा उच्चशिक्षा गर्ने मनस्थिति बनाएका छन् । त्यसैले उनलाई कतिबेला कलेज पुगौँजस्तो भइरहेको छ ।

न्यु टुलिप्सबाट एसईई दिएका प्रवेश ढुंगेलले भने नयाँ कलेजबारे सोचेका छैनन् । उनीलगायत मगर र तामाङ एउटै कलेजमा पढ्ने योजनामा छन् । त्यहाँको वातावरण, साथीसंगी जस्तोसुकै भए पनि आफूहरूलाई फरक नपर्ने उनको बुझाइ छ । ढुंगेल केही दिन पढाइका कुरा बिर्सन चाहन्छन् । त्यसैले नयाँ कलेज कस्तो होला, के होला भन्ने विषयमा उनले टाउको दुःखाएका छैनन् ।

भन्छन्, ‘भर्खरै पढाइ सकियो, केही दिन त आनन्दले बसौँ । त्यसपछि सोचौँला ।’ विद्यार्थीहरूले यो खाली समयमा पनि पढाइमै ध्यान दिनुपर्ने लिभरपुल कलेजका निर्देशक विनोद दाहाल बताउँछन् । बरु, उनीहरूले अब आफू पढ्न जाने कलेजको बारेमा नसोच्नु ढिलो हुने उनको सुझाव छ । ‘करिअर विकास गर्ने उमेर भएकाले कलेज छान्दा ध्यान दिनुपर्छ । त्यहाँको वातावरण, विषय, परिणाम, ल्याबजस्ता कुराहरू ध्यान दिनुपर्छ,’ उनको सुझाव छ ।

ब्रिजकोर्स फेसन

पछिल्लो समय शहरमा ब्रिजकोर्स पढ्नेहरूको लामै ताँती देखिन्छ । काठमाडौं मात्र होइन, नारायणगढ, धरान, विराटनगर, वीरगन्जलगायत शहरमा ब्रिजकोर्स गराउने कक्षा धमाधम खुलेका छन् । विशेषगरी विज्ञान पढ्ने रुचि भएका विद्यार्थीहरूले कलेजले लिने ‘इन्ट्रान्स’ परीक्षामा सजिलो होस् भनेर ब्रिजकोर्स कक्षा लिन्छन् ।

राउत अहिले सेन्टजेभियर कलेजमा साइन्स पढ्नका लागि ब्रिजकोर्स गर्दैछिन् । उनी बिहान ६ देखि १० बजेसम्म कक्षा लिन्छिन् । नाम निकाल्न गाह्रो हुने भएकाले यस्तो तयारी गर्दा सहज उनी बताउाछिन् । भन्छिन्, ‘मन लागेको कलेजमा पढ्न पाइन्छ कि भनेर ब्रिजकोर्स गरेकी हुा । इन्ट्रान्समा कस्ता प्रश्न सोधिन्छ र कस्तो उत्तर लेख्ने पनि सिकाइन्छ त्यहाँ ।’

तामाङलाई भने ब्रिजकोर्सको पढाइ ठीक लाग्दैन । उनले एक १/२ दिन कक्षा पनि लिए, त्यसपछि खासै उपलब्धि नआउने देखेर जानै छाडिदिए । ब्रिजकोर्स गर्नुभन्दा घरमै बसेर अध्ययन गर्दा फाइदाजनक हुने उनको भनाइ छ । भन्छन्, ‘इन्स्टिच्युट’हरूले भर्ना नहुन्जेल विभिन्न आश्वासन दिने र भर्ना भइसकेपछि वास्तै गर्दैनन् ।’

विशेषगरी चिकित्सक, इन्जिनियर र प्राविधिक शिक्षा पढ्न खोज्नेहरू ब्रिजकोर्स पढ्न आउने गरेका छन् । पछिल्लो समय ब्रिजकोर्स गर्न आउनेहरूको संख्या बढिरहेको वागबजारको ‘आईसीई’ इन्स्टिच्युटका सञ्चालक विनोद दाहाल बताउँछन् । भन्छन्, ‘अहिले प्रतिस्पर्धाको जमाना छ । राम्रो विषयमा नाम निकाल्नका लागि ब्रिजकोर्सले सहयोग गर्छ ।’

सीप सिक्दै

पढाइसँगै उनीहरू विभिन्न सीप सिक्न थालेका छन् । खड्का ‘कम्प्युटर प्रोग्राम’हरू सिक्ने तयारीमा छन् । सीप सिकेपछि काम पाइने उनको आशा छ । ‘कम्प्युटर मात्रै होइन, अंग्रेजी भाषा पनि सिकौँ कि भन्ने लागेको छ । अब छिट्टै क्लास लिन्छु होला,’ उनी भन्छन्, ‘खाली समयमा केही काम सिकियो भने पछिसम्मलाई काम लाग्छ ।’ ढुंगेल पनि मोबाइल बनाउन सिक्नका लागि उपयुक्त ठाउँ खोज्दैछन् ।

मोबाइल, ल्यापटप बनाउन सिकेपछि केही काम पाइन्छ कि भन्ने उनको आशा छ । घरको आर्थिक अवस्था कमजोर भएकाले ‘पार्ट टाइम’ काम गर्दै पढ्ने उनको सोचाइ छ । कोटेश्वरस्थित कपडा पसलमा उनी बेलुकीपख आमालाई सघाउँछन् । केही सीप सिकेर अलि धेरै आम्दानी हुने काम गर्न पाए परिवार र आफूलाई पढ्न पनि सहयोग पुग्ने उनको सोच छ ।

अहिले कम्प्युटर कक्षा पनि लिँदैछन् । दिउँसो कोठामै हुन्छन् । त्यतिबेला साहित्यका किताबहरू पढ्छन् । रेग्मी भन्छिन्, ‘पढाइ हुँदा केही सिक्न पाइादैन । अहिले विदा हुँदा मन लागेको काम गर्नुपर्छ ।’ तर, सीप सिक्ने नाममा पढाइ नबिगार्न उनको सल्लाह छ । प्रतिस्पर्धाको जमाना भएकाले नपढी प्रगति गर्न नसकिने उनको ठम्याइ छ ।

भ्याली भ्यु इंग्लिस बोर्डिङ स्कुलबाट ०७१ सालमा एसएलसी दिएर ९४ प्रतिशत अंक ल्याउन सफल दिक्षित पौडेल अहिले गोल्डेनगेट कलेजमा विज्ञान विषय अध्ययन गर्दैछन् । माथिल्लो तह विद्यालयभन्दा कठिन हुने भएकाले त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको सल्लाह छ । भन्छन्, ‘खाली समयमा ब्रिजकोर्स गर्नुका साथै कम्प्युटर, भाषा, संगीत सिक्दा राम्रो हुन्छ । एकातिर सीप पनि सिकिने अर्कातिर पढाइ पनि चलिरहने ।’
अन्नपूर्ण टुडेमा किरण दहालले लेखेको खबर ।

प्रतिक्रिया