Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

०७२ बैशाख १२ देखि ०७४ बैशाख १२ सम्म: अझै विद्यार्थी सोध्छन्, ‘हाम्रो विद्यालय कहिले बन्छ ?’

मंगलबार, १२ बैशाख २०७४

काठमाडौं- २०७२ बैशाख १२ गतेको भूकम्पको कारण विशेषतः १४ जिल्ला नराम्ररी प्रभावित भयो । यसबाट ठूलो जनधनको क्षति भयो । भूकम्पबाट अछुतो नरहेको क्षेत्र शिक्षा पनि हुन पुग्यो । १२ बैशाखको ११ बजेर ५६ मिनेट प्रकृतिले दिएको ५६ सेकेन्डको त्यो घाउमा थप पीडा दिने काम १३, २९ हुँदै क्रमशः विभिन्न समयमा आएका पराकम्पनहरुबाट पनि भयो ।
बैशाखको भूकम्पको कारण ८,८९१ जनाले ज्यान गुमाउनु प¥यो भने २२,३०२ जना घाइते भएका छन् । २०७२ गोरखा भूकम्पका करण ६०४,९३० घरहरू ध्वस्त हुनुका साथै २८८,८५६ घरहरू आंशिक रूपमा क्षतिग्रस्त हुँदा ८८६,४५६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भए भएका छन् । यो कम्पनका कारण नेपालका पूर्व मध्य खण्डको उत्तरी भेगका १४ जिल्लाहरूमा अधिकतम् विनाश भयो भने यसको प्रभाव क्षेत्र लगभग ३० वटा जिल्लाहरू अर्थात् नेपालको लगभग एक तिहाइ भागमा पर्न गयो ।
शैक्षिक सत्रको सुरुवातमै परेको पीडामाथि पीडाको काम वर्षभरी नै चलि नै रह्यो । असार साउन, भदौमा परेको अविरल वर्षातले धेरै विद्यालयहरु र विद्यार्थीहरु प्रभावित भए । टीएलसीमा पढिरहेका विद्यार्थीहरु पानी चुहिएको कक्षामा बसेर पढ्न बाध्य भए । भूकम्प गएको दुई वर्षभइसक्दा पनि विद्यालय पुनर्निर्माणको कामले सोचेजसरी गति लिन सकेको छैन । विद्यार्थी, शिक्षक, अभिभावक, प्रिन्सिपलले सोध्न छोडेका छैनन्, ‘सरकार हाम्रो विद्यालय कहिले बन्छ ?, हाम्रो कक्षाकोठा कहिले बन्छ ?’ सरकार भने सुनेपनि नसुनेझैं गरी बसिरहेको अवस्था छ ।
शिक्षा विभागका अनुसार भूकम्पबाट ४९ जिल्लाका विद्यालयहरु प्रभावित भएका छन् । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडौं, ललितपुर, नुवाकोट, रामेछाप, धादिङ, गोरखा, मकनवानपुर, सिन्धुली र ओखलढुंगा गरी १४ जिल्लाका विद्यालय पूर्ण क्षति भएका छन् ।
४९ जिल्लाका १९ हजार २ सय ८९ विद्यालयमध्ये ६ हजार ४ सय ७५ कोठा कक्षाकोठा पूर्ण क्षति भएको छ भने ७ हजार ९ सय २३ विद्यालय बनाउनु पर्न भएका छन् । शिक्षा मन्त्रालयसँग १२ हजार ६ सय १३ कक्षाकोठामा सामान्य क्षति भएको तथ्यांक छ ।
सरकारले तीन वर्षमा सबै विद्यालय भवन निर्माण गर्ने प्रतिवद्धता जनाए पनि स्रोत उपलब्ध गराउन सकेको छैन । सो काम गर्न पुनर्निर्माण प्राधिकरणले शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय कार्यान्वयन एकाइ गठन गरेको छ । सो एकाइका प्रमुख इमनारायण श्रेष्ठले हाल शिक्षा मन्त्रालय, जाइका र एडिबीको संयुक्त कार्यक्रम भूकम्पबाट क्षति भएका विद्यालय भवन पुनर्निर्माण गरिरहेको बताउँदै पुनःनिर्माण प्राधिकरणले गत असारमा पुनः निर्माण तथा पूर्नस्थापनासम्बन्धी पाँच वर्षीय खाका बनाएको छ ।
‘भूकम्पबाट क्षतिग्रस्त विद्यालयको लागि रु. १ खर्ब ६७ अर्ब चाहिन्छ भनेको छ तर अहिलेसम्म एडीबी, जाईका, यूएसएड, नेपाल सरकारको स्रोतदेखि चीन, भारत सबैतिबाट जम्मा रु.५३ अर्ब मात्र जुटेको छ ।’ केन्द्रीय आयोजना कार्यान्वय इकाईका प्रमुख श्रेष्ठले भने, ‘यो रक मभनेको विद्यालय पूनर्निर्माणको लागि आवश्यक रकमको एकतिहाइ रकम मात्र हो ।’
उनले अनुमान गरेको रु १६७ अर्बमध्येको एक तिहाइ रकमले जम्मा ३ हजार विद्यालय मात्र बन्न सम्भव छ । बाँकी ६ हजार अर्थात् दुईतिहाइ विद्यालयका लागि बजेट कहाँबाट आउने भन्ने कुरा कोहीले भन्न सकेको अवस्था छैन ।

 

प्रतिक्रिया