Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रक अर्याल हटाइए

विहीबार, १४ बैशाख २०७४

काठमाडौं १४ बैशाख/ राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट मुक्त गरेको छ । कक्षा १२ को परीक्षा दिने विद्यार्थीको एकीन तथ्याङ्कबिनै प्रश्नपत्र छपाई गरेर परीक्षा केन्द्रमा पठाउँदा प्रश्नपत्र अभाव भएको ठहर गर्दै बोर्डको बुधबार बसेको बैठकले उनलाई नियन्त्रकबाट हटाइएको हो । विद्यार्थीको एकीन तथ्याङ्कबिनै केन्द्रमा अपुग प्रश्नपत्र पठाएको पाइएपछि उनलाई हटाइएको बोर्डका एक सदस्यले बताए । बोर्डका सदस्य सचिव डिल्ली रिमालले बोर्डको निर्णय सार्वजनिक गर्न चाहेनन् । ‘यस विषयमा म अहिले बोल्दिनँ,’उनले भने । बोर्डका एक सदस्यका अनुसार अर्याललाई नियन्त्रकको जिम्मेवारीबाट हटाएर तत्काल वरिष्ठ उपनियन्त्रकलाई नियन्त्रकको बनाएर काम गराउन बैठकले सदस्य सचिवलाई अधिकार दिएको छ । अर्यालयको लापरबाहीले कक्षा १२ को प्रश्नपत्र मुलुकभर अभाव देखिएको छ ।
प्रश्नपत्र छपाइ गरेर केन्द्रमा पठाउँदा पनि गोपनियता कायम गरेको छैन । यसअघि छपाई गरेर प्याकिङ गर्दासम्म सेनाको सुरक्षा हुन्थ्यो । यसवर्ष जिल्लाबाट प्रश्नपत्र अपुग भएको खबर आएपछि बोर्डभित्रै बसेर प्याकिङ गरेर पठाउने गरेको छ ।
 
आशिंक (एक्ज्याम्टेड)बाट परीक्षा दिने विद्यार्थीको प्रश्नपत्र मुलुकभर अपुग भएपछि बोर्डले थप प्रश्नपत्र पठाइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाहेक जिल्लामा १० प्रतिशत प्रश्नपत्र अपुग भएको बोर्ड स्रोतले जनाएको छ । एउटा केन्द्रमा कम्तीमा १० वटा प्रश्नपत्र नपुगेको बोर्ड स्रोतले जनाएको छ । अपुग प्रश्नपत्र आइतबारदेखि पठाउन थालेको हो । एउटा प्रश्नपत्रको पोका लिएर तीनजना खटिएका छन् । एउटा टोलीलाई पठाउदा कम्तीमा ७० हजार खर्च हुन्छ । यसअघि पनि त्यही ठाउँमा प्रश्न लिएर अर्को टोली पठाएको थियो । परीक्षा नियन्त्रक र अन्य कर्मचारीको लापरबाहीले एउटै काममा दोहोरो खर्च हुने भएको छ । 

छानविन समिति गठन 
शिक्षा मन्त्रालयले १२ कक्षाको प्रश्नपत्र अपुग भएको बिषयमा छानविन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव हरिप्रसाद लम्सालको संयोजकत्वमा तीन सदसीय समिति गठन गरेको हो । समितिमा उपसचिव डिल्ली लुइटेल र  ज्ञानेन्द्र बन छन् । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने हुन्छ । समितिको दिएको प्रतिवेदनको आधारमा विद्यार्थीको तथ्याङ उपलब्ध गराउने देखि नियन्त्रकसम्म कारबाही हुन सक्ने मन्त्रालय स्रोतले जनाएको छ । 

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया