Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

बिहानी प्रार्थनामै हाजिरी, गयल हुने विद्यार्थीमा कमी

विहीबार, १४ बैशाख २०७४

भक्तपुर–बिहान १० बजे स्कुलको चौरमा विद्यार्थीहरु लस्करै उभिए । कक्षागत रुपमा उभिएका विद्यार्थीअघि कक्षा शिक्षक पनि उभिए । एकजना विद्यार्थीलाई अघि बोलाइयो र बिहानीको प्रार्थना सञ्चालन गर्न लगाइयो ।
विद्यार्थीले फटाफट आफ्ना सहपाठीहरुलाई अनुरोध गरे । ‘गोडाफाट, सर्तक, ह्यान्ड्स अप, ह्यान्डस् डाउन, ह्यान्डस् साइड, क्ल्याप ।’ सो दिनको बिहानी प्रार्थना सञ्चालनको जिम्मा पाएका विद्यार्थीको निर्देशन पालना गर्दै विद्यार्थीले एकै तालमा गोडा फाटे, सर्तक पोजिसनमा आए ।
दुबै हात माथि उठाए, हात तल झारे, हात दायाँबायाँ गरे, थपडी पनि बजाए ।
यो कुरा त प्रायः सबै विद्यालयमा हुँदै आइरहेको नियमित क्रियाकलाप नै हो । तर भक्तपुरको नगरकोटस्थित गडगडे निमाविमा भने बिहानी क्रियाकलाप र अभ्यासका अलावा अर्को अभ्यास पनि हुँदै आएको छ, त्यो हो, प्रार्थनामै विद्यार्थीको हाजिरी जनाउने ।
सोही अन्तर्गत सो विद्यालयले हरेक दिन बिहानी प्रार्थनामै कक्षागत रुपमा हाजिरी लिने गरेको छ । यसो गर्दा विद्यार्थी नियमितमात्र नभएर विद्यार्थीले समयको महत्व पुनि बुझेका छन् । ‘विद्यार्थीलाई समयको महत्व कति छ भन्ने प्रयोग गरेरै र आफैले बुझ्ने गरी सम्झाउनका लागि पनि यो अभ्यास गर्दै आएका हौं ।’ विद्यालयका एक शिक्षकले भने ।
विद्यालयका अनुसार सो विद्यालयमा अहिल एकसय २० जना विद्यार्थी पढिरहेका छन् । ‘उनीहरु जहिल्यै दश बज्नुभन्दा अघि नै स्कुल आइपुग्छन् । यसरी आउनुको कारण छ, बिहानी प्रार्थनामा सहभागी हुनु र आफ्नो हाजिरी पनि जनाउनु ।’ विद्यालयका प्रअ उद्धव जमकट्टेलले भने, ‘बिहानी प्रार्थनामै हाजिरी गराउन सुरु गरेपछि विद्यार्थीहरु समयमै आउन थालेका छन् ।’ 
उनले सो अभ्यास गर्न थालेदेखि विद्यार्थीको अनुपस्थिति दर पनि तुलनात्मक रुपमा कम हुँदै गएको बताए । विद्यालयमा पढ्नका लागि एक डेढ घन्टा हिँडेर आउने विद्यार्थी पनि समयमै आउने भएको शिक्षकहरुको भनाइ छ ।
सो अभ्यास गर्न थालेपछि कक्षा सुरु भएको १५÷२० मिनेटसम्म पनि विद्यार्थी आइरहने गरेकोमा अहिले भने सो समस्या पनि हल भएको शिक्षकको भनाइ छ । यसले विद्यार्थीलाई मात्र नभएर विद्यालयलाई नै फाइदा पुगेको छ । सिकाइ समयमा वृद्धि भएको छ ।
यी फाइदा मात्र नभएर अधिकांश विद्यालयमा गराइने प्रार्थनामा विद्यार्थी सहभागी हुन दिक्क मान्ने गरेका छन् । सो दिक्दारी हटाउन र बिहानी प्रार्थनाको महत्वबारे पनि बुझाउन हाजिरीले प्रभावकारी भूमिका खेलेको विद्यालयको भनाइ छ ।
बिहानको समयमा विद्यार्थीहरूको ध्यानलाई शिक्षा र राष्ट्र केन्द्रित गर्न सक्यौं भने उनीहरूको ध्यान कक्षामा पनि कायम हुन्छ । यतिमात्र नभएर विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासको लागि पनि प्रार्थनाले सहयोग गर्ने भएकोले विद्यार्थीलाई सोबारेमा बोध गराउन हाजिरीले राम्रो काम गरेको शिक्षकहरु बताउँछन् । ‘आफूमात्र नभई सबैजना आफू जस्तै समयमा आएकोमा विद्यार्थी पनि खुशी पनि हुन्छन्, विद्यार्थी खुसी भएपछि सिकाइमा सहयोग पुग्छ ।’ प्रअ जमकट्टेलको भनाइ छ । 

 

प्रतिक्रिया