Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

जहाँ भर्ना नै भएनन् विद्यार्थी

शुक्रबार, १५ बैशाख २०७४

भक्तपुर – सूर्यविनायक नपाको दधिकोटको चित्रपुर, नेवार बस्तीको बाहुल्यता भएको सो बस्तीको बीचमा छ, चित्रपुर प्रावि(आधारभूत विद्यालय) ।
वि.सं. २०३३ सालमा खोलिएको सो विद्यालयमा गत वर्ष अर्थात् २०७३ सम्ममा २५ जना विद्यार्थी भर्ना भएका थिए ।‘ गत शैक्षिक सत्रमा बैशाखदेखि चैतसम्ममा २५ जना विद्यार्थी भर्ना भएका थिए, बैशाखमा मात्र नभएर चैतमा पनि भर्ना हुन आउँछन् ।’ विद्यालय शिक्षक त्रिलोचन चौलागाइँले भने ।
गत वर्ष सोको संख्यामा भर्ना भए पनि यो वर्ष भने शैक्षिक सत्र सुरु भएको आधा महिना बितिसक्दा पनि सो विद्यालयमा एकजना पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । यसको कारणबारे उनी शिक्षक चौलागाइँ भन्छन्, ‘यो पटक भर्ना कार्यक्रम पनि भएको छैन, घरदैलो पनि भएको छैन, शिक्षकलाई पनि चुनाव लागेको छ ।’
उनले त्यसो भने पनि यता सरकारले भने नयाँ विद्यार्थीलाई स्कुल भित्र्याउन भन्दै ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरेर ‘भर्ना कार्यक्रम’ चलाएको छ तर त्यसले सो विद्यालयलाई भने छोएको छैन । जसकारण सो त्यहाँ आजसम्म पनि एकजना विद्यार्थी भर्ना हुन गएका छैनन् ।
शिक्षक चौलागाइँले सो विद्यालयमा रहेका ५ जना शिक्षकमध्ये कोही कता कोही कता लागेको कारण भर्ना कार्यक्रम हुन नसकेको बताए । उनले सो कुरा बताए पनि सोही विद्यालयका शिक्षक सरिता राजथलाले भने विद्यालयको भौतिक अवस्था नाजुक भएको कारण विद्यार्थी भर्ना हुन नआएको बताइन् ।
‘अघिल्लो वर्षमा भए एक÷दुई जना विद्यार्थी भए पनि आउँथे, तर यो वर्ष भने एकजना पनि आएका छैनन, यहाँ भवन छैन त्यही कारणले नआएका हुन् ।’ उनले भनिन् । विद्यालयका प्रअ श्यामसुन्दर राजथलाले भने विद्यार्थी नआउनुमा भौतिक वातावरण राम्रो नभएको र भूकम्पको कारण ध्वस्त बनेको विद्यालय भवन नबन्दा प्रभाव परेको बताए ।
सो विद्यालयको उक्त अवस्था छ भने सोही नगरपालिकाको गुण्डुस्थित भीम प्राविमा पनि यो वर्ष विद्यार्थी भर्ना भएका छैनन् । भूकम्पले खासै प्रभाव नगरे पनि सो विद्यालयमा भर्ना हुने आउने विद्यार्थी नै नभएको स्थानीयले बताए । विद्यालयका प्रअ बुद्धिकृष्ण त्वायनाले आफूलगायत दुई जना शिक्षक विद्यार्थी खोज्नका लागि गाउँगाउँ डुल्न गइरहेको बताए पनि सरकारी स्कुललाई विश्वास नगर्दा भर्ना गराउन नसकेको स्वीकारे ।
‘हामीले जति गर्दा पनि अभिभावकल पत्याएका छैनन्, बोर्डिङ पठाउन छोडेर तपाइँहरुका किन पठाउने ? भन्ने प्रश्न गर्छन्, त्यही कारण विद्यार्थी भर्ना कार्यक्रम गरे पनि विद्यार्थी भर्ना गराउन मुश्किल छ ।’ प्रअ त्वायनाले भने ।
ती दुई स्कुलका साथै गुण्डुकै भैरबी निमाविमा पनि विद्यार्थी भर्ना भएका छैनन् । १४ गते दिउँसो साढे बा¥ह बजेतिर पुग्दा सो विद्यालयमा दुई दुई शिक्षक(मधुसुदन ढुंगेल र राजकुमार बस्नेत), एक कार्यालय सहयोगी अफिस कोठामा भेटिए भने कक्षा ३ पुगेकी विद्यार्थी विपना तामाङ नर्सरीमा भेटिइन् । सो कक्षामा शिक्षक सर्मिला श्रेष्ठ थिइन् ।
शिक्षक सर्मिला श्रेष्ठले मातातिर्थ आंैशीले गर्दा विद्यार्थी नआएको बताइन् भने विद्यालय प्रअ कृष्णमुरारी शर्मा बजारतिर गएको बताइन् तर सहायक प्रअ ढुंगेलले भने कार्यालयको कामले जिशिका गएको बताए ।
सहायक प्रअ ढुंगेलले यो वर्ष विद्यालयको प्रचारप्रसार नगर्दा, फ्लेक्स प्रिन्ट नबनाउँदा विद्यार्थी भर्ना हुन नआएको आंकलन गर्दै२०७३ सालमा ३० जना विद्यार्थी भर्ना भएको बताए । उनले विद्यालयमा विद्यार्थी ल्याउनका लागि छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, खाजा र विद्यालयमा आउने विद्यार्थीलाई नगदसहितको सहयोग गर्दा पनि विद्यार्थीको आर्कषण बढ्न नसकेको बताए ।
यसरी सरकारले एकातिर खर्च गरी भर्ना कार्यक्रम गर्ने तर सरकारी विद्यालयमा भने भर्ना नहुने देखिएको छ । यसको कारणबारे शिक्षक तथा प्रअहरुको एउटै बुझाइ छ ः निजी विद्यालयतिरको आर्कषण । नजिकै निजी विद्यालयहरु खोलेका छन्, विद्यार्थी र अभिभावकहरु निजी जान छोडेर हामीकहाँ किन आउँथे र ?’ शिक्षक ढुंगेलले भने ।

 

प्रतिक्रिया