Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

चिटिक्कको सामुदायिक छाडेर बिजोगको ‘बोर्डिङ’ मा !

आइतबार, १७ बैशाख २०७४

भक्तपुर - बोर्डिङ् स्कुल भन्ने बित्तिक्कै धेरैको मनमा आउँछ, चिटिक्क र विभिन्न रंगहरु लगाइएको भवन, अनि कक्षाकोठा पनि त्यस्तै चिटिक्क परेका । त्यही चिटिक्क परेको भवन हेरेर आफ्ना सन्तान बोर्डिङमा पठाउने अभिभावकहरु पनि छन् ।

तर, राजधानी काठमाडौंसँग जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिकाको एउटा बोर्डिङ स्कुलमा पुग्दा बोर्डिङको बेग्लै रुप भेटिन्छ । अभिभावक, विद्यार्थी, शिक्षाका सरोकारवालाहरु बोर्डिङको त्यो अवस्था देखेर छक्क खान्छन्, अनि यस्तो अस्तव्यस्त र भद्रगोलको बोर्डिङमा पनि आफ्ना सन्तान पठाउँछन् त ? भन्ने प्रश्न गर्छन् ।

भक्तपुरको गुण्डुमा रहेको पारामाउण्ट इंग्लिस स्कुलको भौतिक अवस्था विजोग भए पनि सो ठाउँका अभिभावकले भने आफ्ना सन्तान त्यहीं पढाइरहेका छन् । सो स्कुलको एक सय मिटर पर चिटिक्क परेको, भूकम्पप्रतिरोधी भवनको सामुदायिक विद्यालय (भैरबी आधारभूत स्कुल) पनि नभएको होइन । तर, अभिभावक भने उक्त विद्यालयमा पठाउनुको सट्टा जस्ता र बाँसका भाटाले बारेर बनाइएको कक्षाकोठा भएका विद्यालयमै पठाइरहेका छन् ।

टहरामा चलाइरहेको सो स्कुलमा न त शौचालय छ, न त खानेपानीको बन्दोबस्त । कक्षाकोठामा च्यातिएका टाटहरु ओछ्याइएका छन् ।

स्कुल हेर्दैमा स्कुलजस्तो छैन, जम्मा पाँच वटा कोठा भएको स्कुलका हरेक कक्षाकोठामा पढाएको कुरा सबै कक्षामा सुनिन्छ । पढाइको वातावरण छैन । तैपनि सो विद्यालय भने ७० जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रिन्सिपल सहदेव राईले ४ जना शिक्षक रहेको बताउँदै भूकम्पको कारणले टहरामा स्कुल चलाउनुपरेको बताए । उनले कक्षा नर्सरीदेखि कक्षा १ सम्म पढाइ भइरहेको बताउँदै नर्सरीमा मासिक शुल्क रु. ६ सय ५० लिने गरेको बताए । यसहिसाबले एलकेजीमा ७ सय, युकेजीमा ७ सय ५० र कक्षा १ मा ८ सय लिइरहेको प्रिन्सिपल राईको भनाइ छ । यस्तो स्कुललाई भने जिल्ला शिक्षा कार्यालयले गरेको विद्यालयको वर्गीकरणमा ग वर्गमा राखेको छ ।

‘सरकारीमा राम्रो पढाउँदैन, बोर्डिङमा राम्रो भवन नभए पनि सन्तानको भविष्यको लागि भए पनि यही पढाइरहेका छौं ।’ विद्यालयबाटै पुस्तक दिने वन्दोबस्त गरेपछि पुस्तक लिन आएका एक अभिभावकले भनिन् । उनले बाध्यताले सो विद्यालयमा सन्तान पठाएको बताइन् ।

विद्यालयको यस्तो अवस्था हुँदा पनि जिल्ला शिक्षा कार्यालय, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको ध्यान गएको छैन । विद्यालय हातामात्र होइन, अफिस कोठाबाटै पुस्तक विक्री भैरहे पनि जिशिकाको ध्यान गएको छैन ।

प्रतिक्रिया