शिक्षक उम्मेदवारीको संकेत


शिक्षकले पदबाट राजिनामा दिएर स्थानीय चुनावमा दिएको उम्मेदवारी राजनीतिप्रतिको चासोमात्रै होइन, विकासमा शिक्षित व्यक्तिको सहभागिताको संकेत पनि हो । उमेर पुगेको योग्य आम नागरिकजस्तै शिक्षकको पनि उम्मेद्वार हुन पाउने नैसर्गिक अधिकार हो ।

शिक्षक सामाजिक परिवर्तनको संवाहक हो र सम्मानको प्रतीक पनि हो । समाजमा शिक्षकको सम्मान अत्यन्त उच्च छ । त्यो तहको सम्मान सम्भवत अरु कसैले कहिल्यै पाउँदैन । इतिहासका सामाजिक परिवर्तनहरुमा शिक्षकले समाजमा जसरी चेतनाको बीउ छरेका छन् त्यसले शिक्षकको कदलाई उचो बनाएको कसैले भुल्न सक्दैन । पटक पटकका सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने ‘इमानदार’ शिक्षकको उम्मेदवारीले स्थानीय तहको विकासमा पक्कै पनि टेवा पुग्नसक्छ । सामाजिक विकासमा यो सकारात्मक पाटोका रुपमा लिनु पर्छ ।

विद्यालयको सानो घेराबाट बढेर समग्र समाजको विकासमा योगदान पुर्याउने उनीहरुको चाहना स्वागतयोग्य पक्कै छ । समाजको विकास हुनु भनेको त्यहाँको सामाजिक, आर्थिक, भौतिक र आम नागरिकको जीवनयापनमा सकारात्मक परिवर्तन हुनु हो । यो सकारात्मक परिवर्तन र विकासको गतिविधिमा सामुदायिक विद्यालय, त्यहाँको शिक्षण क्रियाकलाप, विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक व्यवस्थापनको सुधार पनि हो । जब विद्यालयमा सकारात्मक परिवर्तन आउँछ, त्यसपछिका केही वर्षमा त्यो समाजको विकास र परिवर्तनमा कसैले भाँजो हाल्न सक्दैन । अहिलेका शिक्षक उम्मेद्वारमा त्यो प्रतिवद्धता र आँट छ कि छैन त्यो चाहिँ महत्वपूर्ण कुरा हो ।

एउटा इमानदार शिक्षक हिजो विद्यालयमा पनि इमानदार हुन्थ्यो, थियो । भोलि विद्यालय इतरका सेवामा रहँदा पनि इमानदारनै हुन्छ, रहन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । वर्षौ विद्यालयमा काम चोर प्रवृत्ति देखाएर, कक्षा कोठामा भन्दा पार्टी कार्यालयमा धेरै हाजिर गरेर, दल र नेताको आडमा जागिर टिकाइ राखेर, सिकाइ क्रियाकलापभन्दा राजनीतिक दलालीमा समय खर्चेर उम्मेदवार भएको हो भने त्यस्ता दलाल र अवसरवादी शिक्षकबाट कुनै सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्न । तिनले चुनाव जित्लान तर तिनको विवेक कसैको बन्धकी हुन्छ र ती कसैको अह्रोट मान्ने रबर स्ट्याम्प भन्दा बढी केही हुन सक्दैनन् ।

इमानदार र दक्ष शिक्षक भएका कारण समाजले आवश्यकता बोध गरेर शिक्षकले उम्मेदवारीको अवसर पाएको हो कि विद्यालयमा पढाउन अल्छे लागेर अथवा हिजो पढाउनु पर्ने बेला मूल जिम्मेवारी पूरा नगरी दलको झोले भइदिएकाले अवसर पाएको हो मतदाताले त्यसलाई मूल्याङकन गर्नु जरुरी छ ।

आफ्ना छोराछोरी निजीमा पढाएर, सामुदायिक विद्यालयलाई जागिर खाने ठाउँमात्रै बनाएका शिक्षक हुन् भने त्यस्ता शिक्षकलाई आफ्नो अमूल्य मत दिएर जिताउँदा एउटा उम्मेदवारले त जित्ला तर त्यो राम्रो उम्मेदवार पक्कै हुँदैन । त्यस्ता शिक्षक उम्मेदवारमात्रै होइन कुनै पनि उम्मेदवार समाजको विकासका बाधक हुनेछन् । तिनबाट कुनै पनि सकारात्मक विकासको अपेक्षा गर्न सकिन्न ।

अन्तत मुलुक संघीय स्वरुपमा गएको छ । संघीयतामा शिक्षाको विकास संघीय राज्यले गर्ने हो । संघीय राज्यको विकासका संवाहक भनेका स्थानीय जनप्रतिनिधि नै हुन् । उनीहरुले स्रोतको पहिचान, व्यवस्थापन र परिचालन आफैले गर्नु पर्ने भएकाले विद्यालय लगायतका सामुदायिक निकायको सञ्चालन, व्यवस्थापन र त्यसलाई अब्बल बनाउने जिम्मा पनि उनीहरुकै हो । आम अभिभावकलाई बढ्दो निजीकरणको मारबाट उन्मुक्ति दिन पनि उनीहरुले सामुदायिक विद्यालयजस्ता निकायको सुधार थाल्नु जरुरी छ ।

स्थानीय तहको निर्वाचनमा शिक्षकको उम्मेदवारी सकारात्मक भए पनि उनीहरुको चुनावी मुद्दाको प्राथमिकता खासै स्पष्ट छैन । त्यसैले पहिलो उनीहरु आफ्नो मुद्दामा स्पष्ट हुनु पर्छ । बन्नका लगि उम्मेदवार बनेका हुन् वा साँच्चै समाजमा उनीहरुको उम्मेदवारी आवश्यकता परेको हो ? त्यसको पुष्टि उनीहरुले सम्बोधन गर्न खोजेका मुद्दाबाट मात्रै प्रष्ट हुन्छन् ।

त्यसैले राष्ट्रिय तथा स्थानीय तहको शिक्षा विकासमा अहिलेको अहम् मुद्दा भनेको सामुदायिक विद्यालयको सुधार हो । सामुदायिक विद्यालयको सुधार फगत विद्यालयको सुधारमात्रै होइन यो समाजलाई एकतावद्ध गर्ने, फरक विचार, सोच, संस्कृति र सिद्धान्तका व्यक्ति, परिवार, समुदायलाई एकै ठाउँमा राखेर अघि बढ्ने अवसर हो । तर जारी स्थानीय चुनावको प्रचारमा कुनै पनि स्थानीय उम्मेदवारहरुले शिक्षा विकासको प्रतिवद्ध बाहिर ल्याएको देखिँदैन जुन अत्यन्त दुखद् छ ।

शिक्षा विकास नभएसम्म न त्यो समाज सभ्य हुन्छ न त्यो देश । देश विकासको मूल आधार तय गर्ने शिक्षाले हो र स्थानीय तहका उम्मेदवारको भूमिका त्यसमा महत्वपूर्ण हुन्छ भन्ने अहिलेका उम्मेदवारले सोचेको देखिन्न, उनीहरुमा सोचको पुर्नविचार जरुरी छ । कम्तीमा शिक्षक उम्मेदवारले त्यसलाई प्राथमिकतामा राखे भने सम्मुन्नत नेपाल निर्माणमा स्थानीय तहबाट ठूलो योगदान हुन सक्छ ।