Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ को परीक्षा सार्ने विकल्पमा छलफल

सोमबार, ०१ जेठ २०७४

भक्तपुर - दोश्रो चरणको निर्वाचनका कारण प्रभावित हुने भन्दै कक्षा ११ को परीक्षाको मिति परिवर्तन गर्ने परीक्षा बोर्डको तयारीमा नयाँ विकल्पबारे छलफल शुरु भएको छ । परीक्षा मिति परिवर्तन गर्ने बोर्डको तयारीबारे खबर सार्वजनिक भएपछि औपचारिक जानकारी लिन भन्दै सोमबार बोर्ड पुगेको निजी उच्च मावि सञ्चालकहरुको संस्था हिसानका प्रतिनिधिहरुसँग बोर्डका पदाधिकारीले विकल्पबारे छलफल गरेका हुन ।  

शुरुका ३ विषयको परीक्षालाई पछि गर्ने गरी ब्यवस्थापन गर्ने बारेमा छलफल भएको नियन्त्रक डम्बर कुमार बतासले बताए । 'शुरुका केही परीक्षालाई पछि सारेर अरु यथावत राख्ने विकल्पमा छलफल भएको छ' उनले भने, 'हामी यस बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्छौ ।' 

हिसानका अध्यक्ष रमेश सिलवाल सहित बोर्ड पुगेको टोलीले परीक्षा जस्तो सम्बेदनशील कुरामा शिक्षा मन्त्री तथा समग्र मन्त्रालय र बोर्ड गम्भिर नभएको भन्दै चर्को आलोचना गरेका थिए ।

'परीक्षा सार्ने तयारीबारे खबर सार्वजनिक भएपछि के रहेछ भनेर बुझ्न गएका हौं, हचुवामा परीक्षा सञ्चालन गर्ने परीपाठि ठिक भएन' हिसानका अध्यक्ष सिलवालले भने, 'विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा र यसको सम्बेदनशीलता प्रति मन्त्री सहित मन्त्रालय र बोर्डका उच्च कर्मचारी गम्भिर नभएको हामीले पायौं ।'

यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गर्नु पर्ने  भन्दै बोर्डले आन्तरिक तयारी गरेको थियो ।

पढ्नुहोस् : कक्षा ११ को परीक्षा फेरी पनि सर्ने

निर्वाचनका बेला मतदान केन्द्र पर्ने विद्यालयमै परीक्षा केन्द्र हुने भएकोले निर्वाचनको भोली पल्टै परीक्षा सञ्चालन गर्न कठिन हुने बोर्डको तर्क छ । तर कति विद्यालयमा मतदान केन्द्र परेको छ भन्ने कुरा यकिन गरेर मात्रै परीक्षाको नयाँ मिति बारे निर्णय गर्न आफूरुले सुझाव दिएको सिलवालले बताए ।

निर्वाचन हुन बाँकी ४ प्रदेशमा परीक्षा सञ्चालन हुने केन्द्रको लगत सँकलन गरेर ती केन्द्रलाई अन्यन्त्र ब्यवस्थापन गर्न सकिने बारेमा पनि आफूहरुले विकल्प दिएको सिलवालले बताए ।

छलफलमा विद्यालय सञ्चालकहरु र बोर्ड 'एउटै रथका दुई पाङ्ग्रा' भएकोले छलफल गरेरै परीक्षाको नयाँ मितिका बारेमा निर्णय गर्ने नियन्त्रक बतासले आश्वासन दिएका थिए ।  

उक्त छलफलमा राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ सोही आधारमा निर्णय गर्ने बारेमा पनि छलफल भएको बोर्डका एक कर्मचारीले बताए । संसदमा दर्ता भएको संविधान शंसोधन विधयेकमा हुने राजनीतिक गठजोडले चुनाव हुने नहुने निक्र्यौल गर्ने भएकोले जेठ ४ गते सम्म प्रतिक्षा गरेर सोही आधारमा निर्णय गर्ने समझदारी भएको पनि ती कर्मचारीले बताए ।

प्रतिक्रिया