Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

३४ प्रतिशत विद्यालयमा मात्रै योग्य प्रअ

बुधबार, ०३ जेठ २०७४

गोरखा - जिल्लामा रहेका कूल एक सय ११ माध्यमिक विद्यालयमध्ये जम्मा ३८ वटा विद्यालयमा मात्र योग्यता प्राप्त प्रधानाध्यापक छन् । सामुदायिक विद्यालयको माध्यमिक तहको प्रअको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ । शिक्षा ऐनमा योग्यता उल्लेख भए पनि ती विद्यालय भने योग्यता नै नपुगेका प्रअहरुको भरमा चलिरहेका छन् ।

‘जिल्लाभर रहेका ४ सय ४३ वटा विद्यालयमध्ये माध्यमिक तह सञ्चालनमा रहेका विद्यालयहरुमा योग्यता प्राप्त शिक्षक छैनन्, प्रावि तह सञ्चालनको योग्यता प्राप्त गरेका प्रअको भरमा मावि सञ्चालन भइरहेका छन् ।’ गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने ।

उनले जिल्लाका विभिन्न माध्यमिक तहमा कार्यरत प्रअहरुको योग्यतासम्बन्धी अनुगमन गर्दा ३८ विद्यालयका प्रअको मात्र योग्यता पुगेको थाहा फेला परेको उल्लेख गर्दै ‘अयोग्य’ प्रअको भरमा माध्यमिक तह सञ्चालनले जिल्लाको शैक्षिक स्तर खस्किएको बताए ।

ऐनले प्रावि तहको विद्यालयमा प्रअ हुनका लागि शिक्षाशास्त्र विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह, निम्न माध्यमिक तहको प्रअको हकमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक तह वा सो सरह हुनुपर्ने भनेको छ । जिल्लाका कूल २ सय ६९ प्राथमिक र ६३ निमाविका प्रअको योग्यता पुगे पनि माविका प्रअको भने योग्यता नपुगेको उनको भनाइ छ ।

जिशिअ सुवेदीले जिशिकाले जिल्लाभरका सबै विद्यालयमा योग्यताप्राप्त प्रअ पुर्याउन शिक्षा कार्यालय असफल भएको स्वीकार्दै प्रावि तहमा प्रअ हुन लायक प्रअले माध्यमिक विद्यालयको जिम्मेवारीले शिक्षामा सुधार गर्न कठिनाई पनि थपिएको बताए ।  ‘प्रअ योग्य नहुँदा जिल्लाको शैक्षिक स्तर सोचेजस्तो भएको छैन’, ‘शैक्षिक गुणस्तरका दृष्टिले पश्चिमाञ्चलमा अहिले गोरखा दोस्रो स्थानमा रहनुमा दरबन्दीका शिक्षकभन्दा निजी स्रोतका शिक्षकको योगदान बढी छ ।’

उनले समग्र जिल्लाको शैक्षिक उपलब्धि ५४ प्रतिशत र माध्यमिक तहको शैक्षिक उपलब्धि ५५ दशमलब १७ प्रतिशत मात्र रहेको बताए । जिल्लाको शैक्षिक उपलब्धि अझ बढाउनका लागि योग्यता प्राप्त शिक्षककै अभाव रहेको उनले जनाए ।

प्रतिक्रिया