Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीलाई यस्तो हैरानी !

विहीबार, ०४ जेठ २०७४

भक्तपुर - निजी स्कुलहरुले ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ विपरीत काम गरिरहेका छन् । स्कुलहरुले निर्देशिका विपरीतको काम गरे पनि अनुगमन गर्ने निकायहरु भने देखेको नदेखै गरिरहेका छन् ।

अनुगमन गर्ने निकायको रुपमा रहेको जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र, विद्यालय निरीक्षकदेखि अभिभावकको हक हितमा काम गर्ने भन्दै गठित संघ तथा विद्यार्थी संगठनहरु समेत निजी विद्यालयको मनपरीलाई वेवास्ता गरिरहेका छन् ।

यस्तै निर्देशिका विपरीतको एउटा काम हो, बस भित्र विद्यार्थीलाई कोचेर स्कुल पु¥याउनु र घर छोड्नु । ‘सिट क्षमताभन्दा दोब्बर विद्यार्थी राख्दै किताबको भारी बोकेका विद्यार्थीलाई कोचेर जिल्लाका निजी विद्यालयहरुले विद्यार्थी ओसारिरहेका छन् ।’ वागीश्वरीका एक प्रत्यक्षदर्शीले भने ।

निजी स्कुलले विद्यार्थी ओसार्न चलाइरहेकोे बसमा यात्रा गर्ने विद्यार्थीले सास्ती खेपिरेहका छन् । यस्तै सास्ती खेपाएर पनि अभिभावक भने निजी स्कुलहरुमा आफ्ना सन्तानलाई पठाइरहेका छन् । ‘स्कुलमा विद्यार्थी संख्या बढिरहेको छ तर बसको संख्या बढाएको छैन, यसबारेमा हामीले प्रिन्सिपलसँग पटकपटक कुराकानी ग¥यौं तर यसको सुनुवाई भएको छैन ।’ भक्तपुर कमलविनायक स्थित एक स्कुलका अभिभावकले भने ।

बसभित्र साना विद्यार्थी कोचिएर बस्न बाध्य भएको उनको भनाइ छ । ‘ठूला विद्यार्थीले सिट पाएका छैनन्, हाम्रा सन्तान त बसको ढोकामै उभिनुपर्छ,’ अर्का अभिभावकको भनाइ छ ।

स्कुल बसमा आधारभूत तहको लागि प्रति सिट १ः१.५ विद्यार्थी भन्दा बढी हुनुहुँदैन तर स्कुलले दुई सिटमा चार–पाँचजनासम्म राख्छ । निजी विद्यालयका लागि बनाइएको निर्देशिकामा विद्यार्थी बोक्ने सवारी साधन सुन्तला रंगको हुनुपर्ने, भाडामा प्रयोग गरिने सवारी साधनमा स्कुल बस चिनिने गरी विद्यार्थी बोकेको सवारी साधन शब्दावली प्रयोग गर्नुपर्ने, बस, मिनिबस, माइक्रोबस, जीप, भ्यान भन्दा वाहेक विपरीत दिशामा सिट फर्काइएको सवारी साधन प्रयोग गर्न नपाउने, सवारी साधनको नियमित मर्मत सम्भार गर्नुपर्ने उल्लेख छ । तर त्यो पनि पालना गरेका छैनन्, निजी स्कुलले ।

प्रतिक्रिया