बोर्डिङबाट निकालेर संस्कृत विद्यालय


काठमाडौं ५ जेठ/ दमककी निर्मला भट्टराईले छोरालाई यस वर्ष संस्कृत विद्यालयमा भर्नुा गरिदिएकी छन् । उनले बोर्डिङ स्कुलमा कक्षा ८ मा पुगेका छोरालाई बिर्तामोड–२ चारपानेस्थित विवेकाश्रम तथा साङ्गवेद संस्कृत माविमा कक्षा ४ मा हालिदिइन् । 

यस्तै, अर्को पाँचगाछी र अर्जुनधाराका दुई बोर्डिङ स्कुललगायतका ३० जना संस्कृत पढ्न साङ्गवेदमै भर्नुा भएका छन् । उक्त विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेका अनुसार यस वर्ष ४० जना नयाँ भर्नुा भए । ‘विद्यार्थी आउने क्रम अझै जारी छ,’ उनले भने, ‘यस वर्ष धेरै बोर्डिङ स्कुलबाटै आएका छन् ।’
साङ्गवेदमा अहिले १ सय ५३ जना अध्ययनरत छन् । यहाँ पढाइ मात्रै होइन, खाना र आवास पनि नि:शुल्क रहेको न्यौपानेले बताए । मोरङ, पथरी शनिश्चरे नगरपालिकाकी सीता भण्डारीले छोरालाई संस्कृत पढाउन साङ्गवेदमा भर्नुा गरिदिएको बताइन् । उनका छोरा पथरीकै बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दै थिए । तर साङ्गवेदमा उनी कक्षा ४ मा भर्नुा भएका छन् । ‘हाम्रो संस्कार र संस्कृतिबारे ज्ञान लिन मैले छोरालाई यहाँ भर्नुा गराइदिएकी हुँ,’ सीताले भनिन्, ‘अहिलेको जमानामा कर्मकाण्ड गरेर पनि जीवन चलाउन सकिन्छ । फेरि संस्कृत पढेका छोराछोरी संस्कारी हुन्छन् । बिग्रिन्छन् कि भनेर चिन्ता लिनुपर्दैन ।’
संस्कृत पढ्न र पढाउन समस्या छैन । तर विवेकाश्रममा रहेर अध्यायन गर्ने विद्यार्थीका लागि नि:शुल्क खाना र बासका लागि समस्या रहेको उक्त विद्यालयका दाता वासु केसीले बताए । ‘अहिले विद्यार्थीलाई अध्ययनसँगै विभिन्न विधामा प्रयोगात्मक कार्य गर्नु सत्संग भवनको अभाव छ,’ केसीले भने, ‘त्यसैले १ करोड ५० लाख रुपैयाँ खर्चेर मन्दिरसहितको सत्संग भवन बनाउँदै छु ।’ 
काठमाडौ, कंलकीका केसीले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘धर्म, संस्कार र संस्कृतिक संरक्षणका लागि संस्कृत भाषाको अध्ययन आवश्यक छ,’ उनले भने, ‘त्यसैले विवेकाश्रमजस्तै अन्य आश्रम निर्माण र संस्कृत विद्यालय सञ्चालन आवश्यक छ ।’ 
 प्रधानाध्यापक न्यौपानेका अनुसार संस्कृत पढ्दैदेखि विद्यार्थीले कमाइ गर्नु थाल्छन् । स्थानीयवासीको आग्रहमा पूजापाठ गर्नु जाँदा, भागवत पुराणमा हवन गर्नु जाँदा विद्यार्थीले राम्रै पारिश्रमिक पाउने गरेको उनले बताए । ‘विद्यालयको समयभन्दा अघिपछि उनीहरूले राम्रै कमाइ गर्छन् । स्थानीयवासीको पूजापाठमा चण्डी, रुद्री पाठ गरेर कतिले त उल्टै घरमा पैसा पठाउँछन्,’ उनले भने, ‘व्यावसायिक रूपमा पुरोहित गरेर हिँडेकाहरूले पनि मासिक ३०–४० हजार आरामले कमाएका छन् ।’
साङ्गवेदबाट २०५९ मा एसएलसी दिएका शान्तिराम मिश्रले अहिले काठमाडौंमा कर्मकाण्ड सँगसँगै नेपाली र संस्कृत विषयको अध्यापन पनि गर्छन् । उनले वाल्मीकि विद्यापीठबाट आचार्य गरेका छन् । ‘संस्कृत पढेर मलाई कुनै गुनासो छैन, बरु खुसी छु,’ उनले भने, ‘सामाजिक रूपमा सम्मान पाएको छु । सबैले आदार–सम्मान गर्छन् । कर्मकाण्डमा गएर सबैको भलो गरेजस्तो लाग्छ ।’
उनले अहिलेको प्रतिस्पर्धात्मक युगमा संस्कृत शिक्षालाई पनि प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘समाजले संस्कार छाडेको छैन । हाम्रो माग अहिले पनि छ । तर प्राविधिक ज्ञान छैन भने अहिले कर्मकाण्ड गर्नु निकै गाह्रो छ ।’

कान्तिपुरमा प्रकाशित खबर ।