कक्षा ६ अध्ययनरत छात्रले गरे मतदान


भक्तपुर–देशै भरी स्थानीय चुनावको सरगर्मी बढेका बेला मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले उत्साहजनक वातावरणमा विद्यालयको विद्यार्थी प्रतिनिधि छनौटका लागि मतदान गरेका छन् ।
स्कुल हेड बोय र स्कुल हेड गर्ल छनौटका लागि गरिएको मतदानमा विद्यालयका चारवटा सदनका चार जना छात्रछात्राले हेड बोय र हेड गर्लका लागि आफ्नो उम्मेद्बारी दिएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सञ्चालित प्रजातान्त्रिक अभ्यासको विशिस्ट नमूनाको रूपमा रहेको निर्वाचनमा पहिलो मत कक्षा ६ मा अध्ययनरत सबैभन्दा कम उमेरका छात्र सृजन कोजुले प्रदान गरेका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र सोही कक्षाहरुमा अध्यापन गर्ने शिक्षक शिक्षाका सहित ४२७ जनाले मतदानमा सहभागिता जनाएका थिए । विद्यार्थी माझ चुनावी प्रक्रिया र प्रजातान्त्रिक व्यवस्थाको जानकारी सहित राष्ट्रप्रति विद्यार्थी वर्गले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक शैक्षिक सत्रको सुरुमा सञ्चालन गरिने यो मतदान कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व तथा आपसी भाइचाराको विकास गर्ने विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताए ।
चुनावी मैदानमा होमिएका छात्रछात्राले हार्डन सदनका छात्र रेलिस भासिंकलाई ३०१ मत प्रदान गरि निर्वाचित गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लेप्टन सदनका अग्रज दाहालले १२६ मत प्राप्त गरे । त्यसैगरी हेड गर्लका लागि भएको निर्वाचनमा वायरन सदनकी छात्रा मनिषा राजवाहकले २३७ मत प्राप्त गरि आफ्नो जीत सुनिश्चित गरिन भने उनकी निकटतम् प्रतिद्वन्द्वी बोसन सदनकी पबित्रा ढुंगानाले १८८ मत प्राप्त गरिन् ।
चुनावी प्रक्रियाबाट विजयी बनेपछि हेड बोयका उमेद्वार हार्डन सदनका रेलिस भासिंक र हेड गर्लकी उमेद्वार वायरन सदनकी मनिषा राजवाहकले आफूहरु अन्य चरण पार गरि हेड बोय र हेड गर्ल बन्न सफल भए विद्यालयको नियम र अनुशासनमा रही विद्यालयको पठनपाठन लगायत अतिरिक्त क्रियाकलापमा सम्पूर्ण सहकर्मी साथीहरूलाई हौसला प्रदान गरि अझ उत्कृष्ट र अब्बल बनाउने प्रतिबद्धता प्रकट गरे ।
जीवनको पहिलो पटक चुनावी मैदानमा उत्रँदा अनौठो लागे पनि देशको चुनावी प्रक्रियाका बारेमा विद्यालयमा सञ्चालन गरिएको मतदान कार्यक्रमबाट आफूहरूले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको हेड बोय र हेड गर्लका चारै जना उमेद्वारले साझा धारणा राखे ।
आजको समयमा राष्ट्र र राष्ट्रियताप्रति विद्यार्थी वर्ग उदासिन बन्दा अनेकौं राष्ट्रिय समस्या सिर्जना भएकोले राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार र उत्तरदायी बन्न समेत यस्तो प्रकारको निर्वाचनले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विजयी छात्रछात्रालाई बधाई तथा शुभकामना दिएका थिए ।