Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तर्वार्ता

पेशा प्रोफेसर, काम राजनीति : यस्तैले डुवाए शिक्षा !

आइतबार, २१ जेठ २०७४

- डा. प्रमोद ढकाल, विगत लामो समयदेखि नेपालमा खुला विश्वविद्यालय स्थापनाका लागि सक्रिय छन् । खुला विश्वविद्यालय सञ्चालनका लागि सरकारले पहिलो चरणको बाटो खुलाए पनि त्यसको लागि थप योजना नबनाउँदा अन्यौल बढेको भन्दै सरोकारवालाहरु आक्रोशित बनेका छन् । खुला विश्वविद्यालयको अवधारणा, अहिलेको अवस्थाका बारेमा ढकालसँग हरीसुन्दर छुंकाले गरेको कुराकानी

- खुला विश्वविद्यालयको अहिलेको अवस्था कहाँ पुगेको छ ?

‘खुला विश्वविद्यालयको ऐन बनेको एक वर्ष हुँदैछ । खुला विश्वविद्यालय नखुलेर बसेको छ । ’

- त्यसो हुनुको कारण चाहिँ...

हामी र हाम्रो चाहना लगावभन्दा पनि नेपाल सरकारको लगावको कमजोरीको कारण ढिलाइ भइरहेको छ । नेपालका स्कलरहरु, विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरु, त्रिविका उच्च पदाधिकारीहरु, शिक्षा मन्त्रालयका उच्च पदाधिकारीहरु जो क्याण्डिडेट सेलेक्सन कमिटीमा हुनुहुन्थ्यो, उहाँहरुलाई कस्तो लाग्यो भने यो विश्वविद्यालयमा जो स्कलरहरुले काम गर्छन्, ती मान्छेहरु यहीँ भित्रकै हुनुपर्छ, भन्ने उहाँहरुको मनसाय आयो ।

- किन यस्तो अवस्था आएको हो जस्तो लाग्छ त ? किन आनाकानी भईरहेको छ जस्तो अनुभव गर्नुहुन्छ ?

हाम्रो वैद्धिक परम्परा के थियो भने, हाम्रा विद्धानहरु अरु देश विदेशमा जाने, अरु देशविदेशका मान्छे हामीकहाँ ल्याउने । त्यसो भएपछि सबैको ज्ञान उन्नत हुनछ । त्यही भएर हामीकहाँ इण्डोनेसिया होइन, अष्ट्रेलिया, अफ्रिाकाको किनारसम्म हाम्रा ज्ञान र विचारहरु फैलिएका थिए कुनै बेला ।

तर आज हामी खुम्चिएर कुहिराका कागजस्ता बनेका छौं । किन भने हामी अरुबाट जोगिन खोज्यौं । त्यसैले हामी चाहिँ यो ज्ञानलाई खुला गर्दा हिँडेका, विश्वले हेर्न चाहन्छ भने विश्वले हेरुन् । विश्वको ज्ञानलाई पनि यहीँ ल्याउँ भनेर लागेका थियौं तर यहाँ त के हुन्छ भने आइन्ष्टाइन जिउँदै यहाँ आए भने आइन्ष्टाइनलाई त्रिविमा प्राध्यापक हुन दिइँदैन । ऊ बञ्चित छ, बर्जित छ भन्दै चित्रण हुन्छ ।

घोकेकाले, नबुझेकाले पढाएको मान्य छ यहाँ । हाम्रो देशमा रहेको यो पुरातन र संकुचित विचारलाई तोड्न सकेपछि मात्र खुला विश्वविद्यालय बनाउन सक्छौं । त्यही भएर ढिलो भए पनि लडाइँ चलिरहेको छ । हामी लडाइँमै छौं ।

- यहाँकै प्राध्यापकहरुको सोचको कारण खुला विश्वविद्यालय स्थापनामा बाधक बनिरहेको हो त ?

एकदमै हो । यहाँ हामी त अछुत हौं । म क्यानडा छोडेर नेपाल आएकै आठ वर्ष भैसकेको छ । अझ पनि मलाई विदेशी नै ठान्नुहुन्छ । अरुको के होला  ?  ती त विटला हुन् । जस्तो पहिला शुद्र र बाहुन हुन्थ्यो नि । उहाँहरु त बाहुन प्राध्यापक हो । उनीहरुहरु त शुद्र प्राध्यापकहरु हुन् । त्यसैले  शुद्रलाई रोक्न चाहन्छन् र बाहुन बाहुनले मात्रै त्यसलाई लिन चाहन्छन् नि । उनीहरु जातियता लाद्न चाहन्छन् ? कहाँ भन्दा विश्वविद्यालयमा जहाँ त्यो खालको भेद् गर्नुहुन्न ।

- खुला विश्वविद्यालयको अवधारणा बुझाउन नसकेर यस्तो पो भएको हो की ?  

हो, यो शिक्षा मन्त्रालयमा बस्ने अधिकांश मान्छेले बुझेका छैनन् तैपनि उनीहरु भने बुझेको जस्तो भान पारिरहेका छन् । उनीहरुले ब्याचलर अफ एजुकेशन, माष्टर अफ एजुकेशनमा त्रिवि वा कहिँ पढाइँदा उनीहरुले खुला विश्वविद्यालय भनेको के हो भन्ने सुनेको थियो । त्यही नै होला भन्ने सोचेको छ । तर हाम्रो अवधारणा र उनीहरुले कल्पना गरेको अवधारणामा आकाश पातालको अन्तर छ ।

- तपाइँले सोच्नुभएको खुला विश्वविद्यालयको अवधारणा चाहिँ के हो त ?

हामीले कुवामा गएर पानी खान्थ्यौं पहिला । कुवामा गएर पानी खाँदा कुवामा मान्छेले पालैपालो पानी पिउँछ । कुवाको पानी खान निक्कै बेर लाग्छ, थोरै मान्छेले मात्र खान सक्छ । आज हामी जुन विश्वविद्यालयमा जान्छौं, त्यो भनेको हामी कुवामा गएर पानी खाएजस्तै मात्र हो । बन्द कोठामा ज्ञान दिइएको हुन्छ, त्यहाँ अलिकति मान्छेलाई मात्र पस्न दिइन्छ, ती मान्छेलाई मात्र खान दिइन्छ । र अरुको पनि पालो आउँछ । त्यसरी पालैपालो गरेर वा २५÷२५ जनाका दरले ज्ञान खाइरहेका छौं । हाम्रा विश्वविद्यालय कुवा हुन् । कुवाभित्र पनि कम्पार्टमेन्ट वा अलगअलग कोठा होलान्, त्यो अलगै कुरा हो । त्यसैले त्यो कुवामा रोजेर २५ जनालाई मात्र खान दिइएको छ ।  अहिलेका विश्वविद्यालयमा सीमित मान्छेलाई मात्र पढाउन सकिन्छ भने खुला विविले असीमितता खोज्छ ।

यही बीचमा दूर शिक्षा पनि आयो । त्यो भनेको कुवाको पानी घरमै लगेर खान सकिन्छ भनेको हो । कुवाको पानी गाग्रीमा भरेर घर लगेर खाए पनि हुन्छ भन्ने परिकल्पना थियो । तर हामीले भनेको खुला चाहिँ निश्चित मान्छेले मात्र खाने होइन कि जो कोहीले पनि खान सक्ने विद्यालय हो । हामीले भनेको ज्ञानको कुवा नै खत्तम गर्नुपर्छ । ज्ञान हामी नदीमा बगाउँछौं । सीमित मात्राको ज्ञान पनि असिमित मान्छेले ज्ञान लिन सक्दछन् यो विश्वविद्यालयमा ।

एकजना प्राध्यापकले बनाएको ज्ञान, करोड, अरब मान्छेले खान सम्भव हुन्छ । त्यो कारणले हामीले त्यो पद्दति र प्रविधिको उपयोग गरेर यो ज्ञानलाई विस्तार गर्ने सोचेका हौं । आज विश्वमा त्यस्तो खाले कुनै पनि विश्वविद्यालय एक्जिष्ट गर्दैन । यो विश्वको नमूना र पहिलो विश्वविद्यालय हुनेछ  भनेर हामी मरिहत्ते गरेर हिँडेका हौं । तर अरुले सोचेको त्यस्तो खुला होइन ।

- यो अवधारणालाई मूर्त रुप दिन हामीसँग ब्याकअप, ब्याकग्राउण्ड तयार छ ?

त्यही भएर त विश्वसँग कोलाबोरेट गर्नुपर्छ भनेर हामी मरिहत्ते गरिरहेका छौं । त्रिविले यो विश्वविद्यालय बनाएर देखाउँछ भने म स्यालुट गर्छु । यो खुला विश्वविद्यालय पनि त्रिविले नै लैजाओस्, विश्वविद्यालय अनुदान आयोगले आफै बनाउन सक्छ भने त्यसैले लैजाओस् तर ती प्राध्यापकलाई यो थाहा छैन कि तिनीहरुले यो बनाउन सक्दैनन् । हामीले ग्लोबल कोलाबरेशन गर्नु जरुरी छ । विश्वका विद्धानहरुलाई हामीले नेपालमा ल्याउन जरुरी छ । तर उनीहरुले यो चीज बुझ्दैन । एउटा परमाणुमा पनि ब्रम्हाण्डको गुण छ । परमाणु त म सुतिरहेको विस्तरामा पनि छ । तर खोज्न सक्नुपर्यो ।

उहाँहरु के कुरामा कन्फ्युज्ड हुनुहुन्छ भने ज्ञानमा चारवटा कुराको समीश्रण भएको हुन्छ । एउटा त ज्ञान हासिल गर्नुपर्ने कुरा, जान्ने मान्छे अर्थात् ज्ञाता, उपकरण वा माध्यम र पद्धतिको आवश्यकता पर्छ तर त्यतिले पुग्दैन । ज्ञानको लािग ज्ञानको पनि बिऊ चाहिन्छ । हामीले जब हाम्रो ज्ञानलाई विश्वको ज्ञानसँग मिलाउँछौं अनि हाम्रो ज्ञान उन्नत हुन्छ, हामी तगडा हुन्छौं । त्यस्तो तरिकाले हाम्रो देश उन्नत बनाउन सक्छौं तर कस्तो भने राजनीतिमा अरु कुरा हुन्छ । राजनीतिमा हामी अर्को देशका मान्छे ल्याएर प्रधानमन्त्री बनाउन चाहन्छौं ? चाहँदैनौं नि तर राजनीति र विज्ञान, राजनीति र ज्ञान फरक कुरा हो । तर उहाँहरुले के गर्नुभयो, विश्वविद्यालयलाई पनि राजनीतिक नियुक्ती गर्ने, अनि तिनै राजनीतिक चेतना भएका मान्छेले विज्ञान र ज्ञानलाई पनि राजनीति मानेका छन् ।

किनभने यहाँ विज्ञानको पेशा भनेको प्रोफेसर भए पनि काम त राजनीतिज्ञको गरेका छन् । अनि उनलाई के लाग्दछ भने विश्वविद्यालय पनि त्यही राजनीतिको अखडा हुनुपर्छ भन्ने लाग्दछ । अनि हाम्रा–हाम्रा मान्छे मात्र भर्ती गर्ने हो भन्ने लाग्छ, जसले यो देश खाइरहेको छ, निलिरहेको छ । यो जुन घातक, देशघाती सोच छ, यो सोचलाई नै नेपाली जनताले प्रंतिकार गर्नुपर्छ । यसलाई चिरेर फाँडेर तहसनहस गर्नुपर्छ । हो, राजनीतिमा त्यो चीज लागू हुन्छ, उहाँहरुले लगाउनूस्, ठीक छ तर किन विश्वविद्यालयमा लगाउनुुहुन्छ ? वैज्ञानिक संस्थाहरुमा लगाउनुहुन्छ ?

- अब कति कुर्नु पर्ला जस्तो लाग्छ तपाइँलाई यो विवि आउन ?

आज दुई तीन महिना भयो, म त्यो सिँहदबारमा गएर सोध्न पनि छोडिसकेँ । किनभने आज बाह्र वर्ष पूर्ण रुपमा बिताइसकेँ । यसको कार्यान्वयनको लागि । यसको परिकल्पना मलाई सन् २००५ मा आएको थियो । त्यसलाई मैले नेपालमा कार्यान्वयन गर्छु भनेर उहाँको सारा चीज त्यागेर म यहाँ फर्केर आएँ । म यहाँ आएकै आठ वर्ष पूरा भैसकेको छ । तर पनि त्यो भएको छैन, त्यही भएर मलाई पीडा हुन्छ । त्यही भएर म अहिले एउटा किताब लेख्दैछु । त्यसैले त्यो प्रश्नको जवाफ मसँग भन्दा पनि सरकारसँग सोध्नूस् कहिले खुल्छ खुला विश्वविद्यालय भनेर ।

किनभने मलाई त सोध्न जान पनि मन मरिसक्यो । सिँहदबारले नै सोधोस् हामीसँग,  हामी कामका हौं भने होइन भने के गर्नुपर्ने हो ? उसैले गरोस् । त्यो चाहिँदैन भने उसैले फ्ँयाकोस् । त्यसैले सिँहदरबारले नेपाली जनतासँग एण्सर गरोस् । किन मैले एण्सर गर्ने ? किन मैले त चाहियो भनेर म प्राणै फ्याँकेर हिँडिरहेको छु । तर हाम्रो विचारलाई शीर्ष ठाउँमा राखिएको छैन । हाम्रो विचारलाई धूलाको कणजति पनि ठानिएको छैन । त्यसैले जसले आफूलाई यो देशको सर्वेसर्वा हुँु भनेर सोचिरहेको छ, जसले यो देश जोगाएँ भनेर सोचिरहेको छ, उसले कसरी कसरी यो देशलाई जोगाउन, उन्नत बनाउन खोजेको छ ? उसैले जवाफ देओस्, सिँहदरबारले नै जवाफ देओस् । सरकारका ती कर्मचारीहरुले जवाफ दिऊन् ।

- कसको र कस्तो कमजोरी भन्न खोज्नुभएको हो ?

मलाई कस्तो लाग्यो भने यहाँ के महत्वपूर्ण हो ? के होइन ? भन्ने कुरालाई मतलब छैन कि के मेरा पार्टीका मान्छेलाई, मेरा मान्छेलाई भन्ने कुरा महत्वपूर्ण भैरहेको छ यो देशमा । यदि यो देश महत्वपूर्ण हुन्थ्यो भने चारवटा कुरा  महत्वपूर्ण हुनुपथ्र्यो । जसरी राजनीतिमा प्रतिबन्ध छ नि त्यसरी नै विज्ञान र प्रविधिमा प्रतिबन्ध लगाइएको छ । यहाँ त्यसलाई प्राथमिकतामा राखिएको छैन । विज्ञान प्रविधि, शिक्षामा प्राथमिकता नहुनु एकदमै गलत कुरा हो ।

अर्को कुरा शिक्षाको बिक्री भैरहेको छ । यो बिक्री होइन विकृति भैरहेको छ । किनभने एउटा गरिब, धनी सम्पूर्ण मानवले ज्ञान प्राप्त गर्ने उसको नैसर्गिक अधिकार हुनुपथ्र्यो तर मानवको नैसर्गिक अधिकार पनि बिक्रीमा छ । हामीले ज्ञानलाई बिक्रीमा राखेका छौं, त्यसलाई लिगल बनाएका छौं । वैद्धिक परम्परामा ज्ञान बेच्ने शिक्षक र चिकित्सा बेच्ने चिकित्सक चोर बराबर हुन् भनेर भनिएको छ । हाम्रो त्यस्तो परम्परा थियो । जुन बिक्री एउटा व्यवसाय बनिरहेको छ, त्यसबाट पार्टीहरु चलिरहेको छ । त्यसले पार्टीहरुलाई अन्धा बनाइरहेको छ ।

- खुला विश्वविद्यालयको स्थापना पछि नेपालको शिक्षा कस्तो हुन्छ ?

विस्तारै नेपालको शिक्षा, सबै शिक्षा खुला हुँदै जान्छ । अरुले पनि खुला विधि र प्रविधि अपनाउन थाल्नेछन् ।

प्रतिक्रिया