Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

विद्यालयमा आगलागी भएपछि ...

शुक्रबार, २६ जेठ २०७४

भक्तपुर–मध्यान्हको टन्टलापुर घाम, तालु मात्र नभएर जमिनै तातिरहेको बेला विद्यार्थी आआफ्नै कक्षामा सँधैझै पढिरहेका थिए, शिक्षक पनि आफ्नो नियमित कर्म गरिरहेका थिए ।
त्यही बीचमा हाफ टाइममा र अन्य बेलामा विभिन्न खेल खेल्ने, उफ्रिने चौरमा आगोको लप्का देखियो । चौरमा आगोको मुस्लो र धुँवा देखेपछि सबै आत्तिएँ, चिच्याउन थाले । तर, एक हुल विद्यार्थी भने नआत्तिकन कोही जोडी बनाएर चिसो ब्ल्याङ्केट बोकेर त कोही भने फायर इष्टिग्युसर बोकेर आगो नियन्त्रणका लागि अघि बढे । अरु विद्यार्थी त्यो हुलले के गर्दो रहेछ भनी टाढैबाट नियाली रहेका थिए ।
ह्वारह्वार बलिरहेको त्यो आगोमा कोही विद्याथीले फायर इष्टिङ्ग्युसर दबाए, आगो नियन्त्रणमा लिए भने कोहीले चिसो ब्याङ्केटले आगोलाई छोपेर । आगलागी भएपछि आत्तिएका विद्यार्थीहरु त्यो दृष्य देखेर छक्किए, आफ्ना सहपाठीहरुको साहस देखे र उनीहरुले देखाएको साहसमा ताली पड्काए, पररर... ।
आगलागी विभिन्न कारणले हुने गर्दछ । मानवीय कारणमात्र नभएर अन्य कारण पनि हुने आगलागीबाट कुनै पनि क्षेत्र अछुतो हुन सक्तैन  । यही वास्तविकतालाई मध्यनजर गरी भक्तपुर नपा कमलविनायकको पारागन एकेडेमी(सेकेण्डरी स्कुल) ले विद्यार्थीलाई आगलागी सम्बन्धी दिएको प्रशिक्षणको दृष्य हो माथिको ।
भक्तपुरस्थित जुद्ध बारुण यन्त्रको प्राविधिक सहयोगमा सो विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई दिइएको तीनदिने प्रशिक्षणको अन्तिम दिन गराइएको आगलागी नियन्त्रणको अभ्यास प्रदर्शन गरेर विद्यार्थीले आगलागी हुँदा संयमता र विवेकपूर्ण तरिकाले काम गनुर््पर्ने सन्देश दिए ।
अकस्मात हुने आगलागीलाई नियन्त्रण गर्ने तरिका सिकेका विद्यार्थीको टोलीले विद्यालयको प्राङ्गणमा कृत्रिम आगलागी गराएर आगलागी नियन्त्रण गरेका थिए । उनीहरुले विद्यालयको चौरमा भएको आगलागीलाई ब्ल्याङ्केटिङ विधि र फायर इष्टिङ्ग्युसरको प्रयोग गरी आगलागी नियन्त्रणमा लिएका थिए ।
सो अभ्यासको अवलोकन विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस पदाधिकारीमात्र नभएर भक्तपुर नपा वडा न.. ९ का नवनिर्वाचित वडाध्यक्ष रवीन्द्र ज्याख्व र तालिम दिने जुद्ध बारुण यन्त्रका पदाधिकारीहरुले पनि गरेका थिए । उक्त अभ्यासको अवलोकनपछि तिनीहरुले विद्यार्थीलाई संयमित हुन सिकाउने खालका व्यावहारिक अभ्यासको जरुरत भएकोमा जोड दिएका थिए । विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले विद्यार्थीलाई विपद्मा नआँतिन सिकाउनका लागि प्रशिक्षण र आगलागी नियन्त्रण अभ्यासले सहगोग पुगेको बताए ।
प्रशिक्षणका प्रशिक्षार्थीहरु अरुण सैंजु, बारुण यन्त्रका प्रमुख विजय धौभडेल तथा वडाध्यक्ष ज्याख्वले आगालगी नियन्त्रणको विधि र तौर तरिकाबारे विद्यालय तहका विद्यार्थीलाई सिप सिकाउनुपर्ने आवश्यकता औंल्याए ।

 

प्रतिक्रिया