Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

बफ मम खाएका तर भैंसी नदेखेका विद्यार्थी

शनिबार, २७ जेठ २०७४

शैक्षिक भ्रमण मात्र औपचारिकताका लागि हुनुहुन्न । शैक्षिक भ्रमण देखावटी पनि हुनुहुन्न । भ्रमणले आनन्दीसँगै ज्ञान पनि दिनु जरुरी छ । तर कतिपय विद्यालयका शैक्षिक भ्रमणहरु भने देखावटी बढी अनि अभिभावकसँग रकम असुल गर्ने माध्यमका रुपमा पनि चित्रित नभएको होइन । यही विषयमा मदन पौडेलले शैक्षिक भ्रमणको महत्वसँगै यसको आदर्श कुरालाई लघुकथा ‘शैक्षिक भ्रमण’ मार्फत् चित्रण गर्ने प्रयास गरेका छन् । सोही लघुकथा साताको शिक्षा साहित्यमा ।

आज स्कूलमा ‘प्यारेन्ट्स मीटिंङ’ तय गरिएको थियो । म पुग्दा कार पार्क लगभग प्याक भएकाले सबैको उपस्थिति भैसकेको अनुमान मैले लगाएँ ।
म सरासर मिटिंङ हलतिर लागँें । मैले हाम्रो कक्षा ८ को भ्रमणबारे ब्रिफिङ गर्नुथियो, जसको नेतृत्व मैले गरेको थिएँ । भ्रमणमा जाने ठाउँ अन्नपूर्ण बेसक्याम्प थियो त्यसैले अपनाउनु पर्ने सावधानी र बन्दोबस्तीका सामानको लिस्ट बनाउनु थियो । एक दुईजना अभिवावकले हेलिकप्टर चार्टर गरेर पो जाने कि समेत प्रस्ताव राख्नु भो तर मेरो उद्देश्य त्यो थिएन । बफ मम खाएका तर भैंसी नदेखेका विद्यार्थी मेरो टीममा थिए ।
समयमा नै सबैले आ–आफ्ना छोराछोरीहरुलाई कारबाट छाडे । हाम्रो बस समयमा नै निस्क्यो, पहिलो रात पोखरामा कटाइयो । दोस्रो दिन पोखरादेखि बिरेठाँटीसम्म बस र तेसपछि पैदल यात्रा शुरु भयो । काठमाण्डूमा खुम्चिएर बसेका केटाकेटी त्यहाँ निकै प्रफुल्लित देखिन्थे । भैंसी नदेखेकाले देखे, कोदो के हो थाहा पाए, फापरको साग चिने । त्यो रात घान्द्रुकमा कट्यो ।
छोमरोङ हुँदै सिन्वामा अर्को रात काट्ने योजना थियो । छोमरोङ कटेपछि एकहुल विद्यार्थीसँग भेट भयो । लगभग साँझको ६ बजेको थियो मैले ‘यतिखेर कताबाट आयौ ?’ प्रश्न गरेँ, ‘२ घण्टा परको स्कूलबाट भर्खर फर्केको’ ‘दैनिक ३ घण्टा त आउजाउ गर्नुपर्छ’ हुल मध्यको कसैले जवाफ दियो सँयोगले तीे कक्षा ८ कै रहेछन् ।
अर्को दिन बिहानैदेखि झरी शुरु भयो । हामी रेनकोट लाएर हिँड्न तयार थियौं कतिजना विद्यार्थी ‘अगाडी नजाने जूका लाग्छ’ भन्दै थिए । एकजना महिला २ वटा ३–४ वर्षका बच्चा लिएर पानीमा रुझ्दै हिँड्दै थिइन् । मैले ‘कता लाग्नुभयो?’ भनेर सोधँे । उनले ‘छोराहरुलाई बोडर्स राख्न हिँडेको, दिनदिनै आउजाउ गर्न यिनलाई गार्हो हुन्छ’ भनिन् । म अवाक् भएँ । उनले थपिन् ‘कुनै एउटा पुस्ताले त त्याग गर्नु थियो मेरा बा आमाले मलाई बोडर्स राखेर पढाइदिएको भए सायद.।’
मेरा विद्यार्थीले कति बुझे तर मैले उनीहरूलाई देखाउन खोजेको नेपाल देखाएको ठानें ।

 

प्रतिक्रिया