Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई एकीकृत गरी 'स्टिम' प्रयोगशाला

आइतबार, २८ जेठ २०७४

काठमाडौं - विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई एकीकृत गरी कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा निर्माण गरिएको स्टिम प्रयोगशालाको उद्घाटन गरिएको छ ।

पूर्वअमेरिकी राजदूत थियोडोर क्रोनमिलर र उनका छोरा माइकल क्रोनमिलरले संयुक्त रूपमा बिहीवार उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् । पूर्व राजदुत क्रोनोमिलरले कान्जिरोवा स्कुलको स्टिम परियोजनामा भएको प्रगतिको प्रशंशा गरे । माइकलले आफूले निर्माण गरेको ड्रोन परियोजनामा विगत आधा दशकदेखि काञ्जीरोवा नेसनल माविका विद्यार्थीहरूसँग सहकार्य गर्न पाउँदा आफू प्रसन्न रहेको बताए । विद्यालयको स्टिम प्रयोगशालालाई स्रोध साधनसम्पन्न बनाउन उनलेसहयोग प्रदान गर्दै आएका विद्यालयले जनाएको छ ।

ड्रोनको परीक्षण उडानका लागि गतहप्ता अमेरिकाबाट नेपाल आएका उनीहरू सोमवार सोलुखुम्बूको कालापत्थर पुगी सफलतापूर्वक ड्रोन उडाएर फर्किएका हुन् । उक्त कार्यमा काञ्जीरोवाका विद्यार्थीको समेत सहभागिता थियो ।

काञ्जीरोवाले ड्रोन परियोजना सञ्चालन गरी विद्यार्थीलाई यसको उडानबारे प्रशिक्षण दिँदै आइरहेको छ । भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरू बढी हुने नेपालजस्तो पहाडी मुलुकमा ड्रोनशिक्षा उपयोगी हुने र कृषि र खेतीमा समेत यसको उपयोगिता बढिरहेकाले समस्याग्रस्त क्षेत्रमा ड्रोनको प्रभावकारी उपयोगका सम्बन्धमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विद्यालयमा ड्रोन परियोजना सञ्चालन गरिएको काञ्जीरोवाका प्रधानाध्यापक रञ्जीत थापाले बताए ।

संस्थाका कार्यकारी निर्देशक महेन्द्र खनालले विगत केही वर्षदेखि काञ्जीरोवाको ड्रोन परियोजना सञ्चालनमा सहयोग गर्ने माइकको परिवारको सहयोगी भावनाको प्रशंसा गरे । विद्यालयका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले काञ्जीरोवामा भर्खरै मात्र उद्घाटन भएको स्टिम प्रयोगशालाले आगामी दिनमा वृहत् समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काञ्जीरोवा स्टिम क्लबमा आबद्ध विद्यार्थीले क्लबमा रहेर कार्य गर्दा आफूले हासिल गरेका अनुभव आदान प्रदान गरेका थिए । नवनिर्मित स्टिम प्रयोगशालाका लागि काञ्जीरोवाले नेपाल रोबोटिक्स सङ्घसँग सहकार्य गरेको रेग्मीले बताए ।

प्रतिक्रिया