Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
विचार / विमर्श

एसईई परीक्षा : जिपिएलाई ग्रेडमा तुलना गर्नु अनुपयुक्त

शुक्रबार, ०२ असार २०७४

२०७३ को नियमित र एक्जेम्टेडतर्फको एसईई  परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा यस वर्ष नियमित र एक्जेम्टेडतर्फ साधारण धारमा ४८३९६७ जनाले आवेदन फारम भरेकामा ११८२५ अयोग्य र १०००६ अनुपस्थित भई कुल ४६२१३६ जना सहभागी भए । यी मध्ये नियमित तर्फका ४४५५६४ जना परीक्षार्थीहरुले प्राप्त गरेको औसत स्तरीकृत अङ्क गत (जिपिए) स्थिति देहायअनुसार रहेको छ :

 विवरण केटा केटी जम्मा केटा प्रतिशत केटी प्रतिशत जम्मा प्रतिशत गतवर्षको प्रतिशत
सहभागी २२१६८२ २२३८८२ ४४५५६४ ४९.७५ ५०.२५    
जिपिए ३.६५ देखि ४.०० सम्म ७०३४ ५२५० १२२८४ ३.१७ २.३४ २.७६ ३.७६
जिपिए ३.२५ देखि ३.६० सम्म    २४९११ १७५१६ ४२४२७ ११.२४ ७.८२ ९.५२ ९.५१
जिपिए २.८५ देखि ३.२० सम्म २९४७२ २११७४ ५०६४६ १३.३० ९.४६ ११.३७ ११.१२
जिपिए २.४५ देखि २.८० सम्म ३३६९९ २८२५६ ६१९५५ १५.२० १२.६२ १३.९० १४.४५
जिपिए २.०५ देखि २.४० सम्म ४४४९३ ४६८२१ ९१३१४ २०.०७ २०.९१ २०.४९ २१.६६
जिपिए १.६५ देखि २.०० सम्म ४८३९० ६००७४ १०८४६४ २१.८३ २६.८३ २४.३४ २३.८४
जिपिए १.२५ देखि १.६० सम्म    २७७८७ ३६७९० ६४५७७ १२.५३ १६.४३ १४.४९ १२.९८
जिपिए ०.८५ देखि १.२० सम्म ४५३२ ६७५३ ११२८५ २.०५ ३.०२ २.५३ १.८३
जिपिए ०.०० देखि ०.८० सम्म १५ ०.००२ ०.००४ ०.००३ ०.००३

स्रोत : पनिका

विद्यालय शिक्षामा अक्षराङ्कन पद्दति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार परीक्षार्थीलाई विषयगत ग्रेड दिइन्छ । तर समग्र नतिजामा भने औषत स्तरीकृत अङ्क (जिपिए) मात्र प्रदान गरिन्छ । यसलाई धरैले ग्रेडमा तुलना गर्ने गरेको पाइन्छ, जुन उपयुक्त होइन । माथिको तालिका हेर्दा समग्रमा औषत Outstanding क्षमताका विद्यार्थी केवल २.७६ प्रतिशत देखिन्छन् । यसमा केटा ३.७५ र केटी २.३४ प्रतिशत छन् ।

गत वर्ष यो प्रतिशत ३.३७ प्रतिशत थियो । अरु समूहको करीव उस्तै अनुपात देखिन्छ । यस तथ्याङ्कका आधारमा गत वर्षको एसएलसी परीक्षाको नतिजा र यस वर्षको एसईई परीक्षाको नतिजामा उल्लेख्य अन्तर देखिन्न । परीक्षाको नतिजा प्रकाशन गर्दा निरपेक्ष स्तरीकरण पद्दति (Absolute Grading System) अपनाइएको अवस्थामा Outstanding क्षमता देखाउने विद्यार्थी प्रतिशत कम देखिनुले चाहि शिक्षाकर्मी र शैक्षिक निकायबाट थप शैक्षिक सुधारको अपेक्षा राखेको भन्न सकिन्छ ।

यसमा सुधारका लागि मूलतः कक्षामा गरिने सिकाइ सहजीकरण क्रियाकलापमा सुधार गर्ने, विद्यालयमा उचित सिकाइ वातावरण सुदृढ गर्ने, पाठ्यक्रममा आधारित सिकाइ र पाठ्यक्रम मै आधारित मूल्याङ्कन पद्दति सुदृढ गर्ने थप प्रयास आवश्यक देखिन्छ । अबका दिनमा निर्वाचित र अधिकार सम्पन्न स्थानीय जनप्रतिधिबाट शैक्षिक व्यवस्थापनमा सकारात्मक हस्तक्षेप अपेक्षित छ । यसै गरी परीक्षा प्रणालीमा आन्तरिक तथा निरन्तर मूल्याङ्कनमा जोड दिँदै सिकाइ सुधार अभियान नै सञ्चालन गर्न आवश्यक छ । यसका लागि सम्बद्ध सबै पक्षमा सुधार आवश्यक हुन्छ ।

यस वर्षको परीक्षा पुरानो पाठ्यक्रम अनुसारको अन्तिम वर्ष हो । आगामी परीक्षा कक्षा १० को नयाँ पाठ्यक्रममा आधारित हुनेछ । यसै गरी यसवर्ष परीक्षा नियन्त्रण कार्यालयले राष्ट्रिय परीक्षा बोर्डबाट प्रत्यायोजित अधिकार बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरिएको हो ।

माध्यमिक तहलाई कक्षा ९–१२ कायम गरिएपछि अब क्रमशः कक्षा १० को राष्ट्रिय परीक्षाको परम्परागत स्थितिमा परिवर्तन आवश्यक हुन्छ । अव कक्षा ११ मा भर्नाका लागि गत वर्ष जस्तो आधार आवश्यक छ वा छैन भन्ने वहस गर्न सकिन्छ ।

तथापि विषयगत शैक्षिक योग्यता र क्षमताअनुसार माथिल्ला कक्षामा अध्ययन गर्ने अवसरको छनोट गर्नु अनुपयुक्त होइन । एसईई परीक्षामा जुन सुकै विषयगत ग्रेड वा समग्र स्तरीकृत अङ्क प्राप्त गरे पनि यसलाई माथिल्लो वर्गमा आगामी शैक्षिक वर्षहरुमा सुधार गर्ने प्रसस्त सम्भावना रहने भएकाले कोही हतोत्साही बन्न आवश्यक छैन । यसै गरी एसईई परीक्षामा उच्च अङ्क प्राप्त गरेकै आधारमा उज्वल भविष्य सुनिश्चित भैसकेको पनि हुन्न ।

तसर्थ एसईई परीक्षाको नतिजालाई सामान्य रुपमा लिँदै यसबाट समग्र शिक्षा पद्दति तथा परीक्षा प्रणालीको समीक्षा गर्ने तथा विद्यार्थीको भावी विषयगत शैक्षिक उत्कृष्ठताको क्षेत्र तथा पेशागत गन्तव्य पहिचान गर्ने दिशामा भने सबैले उपयोग गर्न सक्नु पर्दछ ।                

गौतम परीक्षा नियन्त्रण कार्यालयका उप नियन्त्रक हुन् ।

प्रतिक्रिया